
नेपाली राष्ट्रिय फूटबल टिमका कप्तान सागर थापासहित ५ जना खेल मिलेमतोको आरोपमा पक्राउ परेपछि पछिल्लो केही दिनयता यो विषय निकै चर्चामा छ । देशको प्रतिनिधित्व गर्दै खेलिएका अन्तराष्ट्रिय खेलहरुमा पैसा लिएर आफ्नै टीम र देशविरुद्ध नै गद्दारी गरेको आरोपमा कप्तान थापासहित डिफेन्डर सन्दिप राई र गोल किपर रितेस थापा तथा पूर्वखेलाडीद्वय सञ्जिव केसी र विकाससिंह क्षेत्री पक्राउ परेका हुन् । यससँगै उनीहरुलाई म्याच फिक्सिङमा संलग्न गराउने फिक्सरको बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । ति मध्ये एक हुन्, सिंगापुर नागरिक विल्सन राज । उनी नेपालसमेत आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
को हुन् विल्सन राज ?
उनको पूरा नाम विल्सन राज पेरुमल हो । ३१ जुलाई १९६५ मा जन्मिएका पेरुमल सिंगापुरका नागरिक हुन् । अन्तराष्ट्रिय मिडियाहरुका अनुसार उनी सन २०१० को साउथ अफ्रिका वर्ल्ड कपमा छनोट हुने क्रममा दुई राष्ट्रलाई सहयोग गरेको दावी गर्छन् ।
दि गार्जियनमा प्रकाशित समाचारका अनुसार उनले होण्डुरस र नाईजेरियालाई विश्वकपमा सहभागिताका लागि दक्षिण अफ्रिकाको टिकट कटाउने क्रममा भूमिका खेलेका थिए ।
त्यतिमात्रै नभएर उनले सन १९९५ मा नै इंग्ल्याण्डको चर्चित फुटबल प्रतियोगिता एफ.ए कपमा चेल्सीका खेलाडीलाईसमेत फिक्सिङमा सामेल गर्ने प्रयास गरेका थिए । सिंगापुरियन फिक्सिङ बोसको प्रतिनिधित्व गर्दै इंग्ल्याण्ड पुगेका उनले चेल्सीका तत्कालीन गोलकिपर डिमित्री खारिन तथा बर्मिघंम सिटीका गोलकिपर इयान बेनेटलाई फिक्सिङमा सामेल गराउने असफल प्रयास गरेका थिए । उनी त्यही वर्ष सिंगापुरमा जेलसमेत परे ।
त्यसको केही समयपछि छुटेका उनी सन २०११ को फेब्रुअरीमा फिनल्याण्डमा पुन: समातिए । त्यसक्रमा उनलाई दुई वर्ष जेल सजाय भयो । पहिलो एक वर्ष फिनिस जेलमा बिताएका उनलाई त्यसपछि हंगेरी पठाइयो ।
फिनिस अधिकारीहरुसँगको बयानमा उनले सिंगापुरलाई बेस बनाएर विश्वव्यापी फिक्सिङ नेटवर्क विस्तार गरिसकेको स्वीकारेका थिए ।
उनी युरोपियन म्याच फिक्सिङ इन्भेस्टिकेसन २०१३ को समेत छानविनको दायरामासमेत छन् । विल्सनले आफ्नो पुस्तक ‘केलङ्ग किंग्स’मा फिक्सिङ अनुभव बाँढेका छन् ।
फिक्सिङमा संलग्न भएवापत उतैबाट पैसा नेपाल पठाउँदै आएका पेरुमल एक पटक नेपालसमेत आएको र दरबारमार्गको एक रेष्टुरेन्टमा बसेर नेपाली टोलीका कप्तान सागर थापासँग कुराकानी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
– विकिपिडिया, गार्जियनसहित विभिन्न अन्तराष्ट्रिय साईटहरुको सहयोगमा