×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीन लाखका लागि देशको स्वाभिमान बिक्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

तीन लाखका लागि देशको स्वाभिमान बिक्री

Artha Sarokar

२९ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

तीन लाख रुपैयाँका लागि नेपाली राष्ट्रिय फुटबल टिम नै बिकेको तथ्य खुलेको छ । ‘म्याच फिक्सिङ’ गराउने अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर नेपाली फुटबलरहरूले साफ च्याम्पियनसिपमा तीन हजार ६१ डलर लिएर विपक्षी टिमलाई खेल जिताएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

सन् २०१० मा नयाँदिल्लीमा भएको साफ च्याम्पियनसिपमा पूरै टिमले तीन हजार ६१ अमेरिकन डलर लिएर मिलेमतोमा खेल हारेका थिए । उक्त पैसा दामासाहीका आधारमा खेलाडीहरूले बाँडेर लिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।

प्रहरीले म्याच फिक्सिङमा फुटबलका राष्ट्रिय कप्तान सागर थापासहित पाँचजनालाई पक्राउ गरेको थियो । थप अनुसन्धानमा उनीहरूले बुकीहरूबाट लिएको रकम खुलेको प्रहरीले जनाएको छ । राष्ट्रिय टिमका गोलरक्षक रितेश थापा, राष्ट्रिय खेलाडी सन्दीप राई, पूर्व राष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अञ्जन केसी पक्राउ परेका हुन् । उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएको छ । तर, अदालत बन्द भएकाले थुनामा राख्ने आदेश भने प्रहरीले लिन पाएको छैन ।

पक्राउ परेकाहरूले ‘म्याच फिक्सिङ’ गराएबापत पैसा लिएको स्विकारेका छन्, तर को–को संलग्न छन् भन्ने विषयमा नबोलेको प्रहरी स्रोत बताउँछ । ‘उनीहरूले झन्डा लिई राष्ट्रको नाममा शपथ खाएर अन्तर्राष्ट्रिय एजेन्टहरूसँग मिली खेलेका खेलहरू देशको स्वाभिमान र जनताको आत्मसम्मानमा चोट पुर्‍याएकाले पक्राउ गरी राज्यविरुद्धको अपराधअन्तर्गत कारबाही अघि बढाएका छौँ, एसएसपी खनालले भने, ‘म्याच फिक्सिङमा संलग्न अन्यको खोजी भइरहेको छ ।’

सिंगापुरमा मोस्ट वान्टेड बुकी विल्सनराज उडल्यान्डसँग मिलेर उनीहरूले ‘म्याच फिक्सिङ’को धन्दा गरेका थिए । विल्सनराजले लेखेको किताबमा कसरी उनले नेपाली खेलाडीलाई किने भन्ने कुरा उल्लेख छ । टिटानी पेरियासामी, तामम पेरमाटा, केसाभान पाटानजस्ता एजेन्टहरूसँग मिलेर म्याच फिक्सिङ गरिएको थियो । मनी ट्रान्सफरमार्फत उनीहरूले नेपालमा पैसा पठाउँदै आएका थिए । विल्सनराजले त केही वर्षअघि काठमाडौं आएर खेलाडीसँग दरबारमार्गको होटेलमा भेटेकोसमेत प्रहरीले पत्ता लगाएको छ ।

राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा ‘कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा सो गर्ने उद्योग गरेमा निजलाई जन्मकैद हुनेछ भन्ने प्रावधान छ । खेल राष्ट्रिय एकताको खेल भएको र उनीहरूले राष्ट्रका लागि खेलेर पैसामा बिकी अरूलाई जिताएर राष्ट्रिय एकतामा खलल पार्ने काम गरेको भन्दै राज्यविरुद्धको मुद्दामा कारबाही अघि बढाएको हो

६ वटा खेलमा मिलेमतो

हालसम्मको अनुसन्धानमा ६ वटा अन्तर्राष्ट्रिय खेलमा उनीहरूले ‘फिक्सिङ’ गरेर अरूलाई जिताएको पुष्टि भएको छ । सन् २००८ मा भएको मोरडेका कपमा अफगानिस्तानसँग २–२ को बराबरी खेलेर प्रत्येक खेलाडीले पाँच हजार अमेरिकन डलरका दरले पैसा लिएका थिए । पक्राउ परेकाबाहेक अन्य खेलाडीले समेत पैसा लिएको भए पनि उनीहरू पक्राउ परेका छैनन् ।

त्यस्तै, सन् २०१० मा नयाँदिल्लीमा भएको साफ च्याम्पियनसिपमा तीन हजार ६१ डलर लिएका थिए । सन् २०११ को मलेसियासँग भएको मैत्रीपूर्ण खेलमा २–० ले हारेर प्रतिखेलाडीले पाँच हजार डलर लिएका थिए । सन् २०११ मा फिलिपिन्समा भएको मैत्रीपूर्ण खेलमा पनि उनीहरूले प्रतिखेलाडी पाँच हजार डलरकै दरले पैसा लिएका थिए । जुन खेलमा पहिले नै तय भएअनुसार नै नेपाल ४–० ले पराजित भएको थियो ।

सन् २०१२ को नेहरू कपमा नेपालले क्यामरुमसँग ४–० गोल अन्तरले हार्नेगरी फिक्सिङ भएकोमा गोलकिपर रितेश थापा परिवर्तन नभएपछि ५–० ले हारेको समेत अनुसन्धानमा खुलेको छ । गत वर्ष मात्र दक्षिण कोरियामा भएको एसियन गेमअन्तर्गतको २३ वर्षमुनिको फुटबल प्रतियोगितामा उनीहरूले प्रतिखेलाडी पाँच हजार डलरका दरले पैसा लिएको प्रहरी दाबी छ । प्रहरीले पक्राउ परेका खेलाडीको बैंक खाता र सम्पत्तिको पनि छानबिन अघि बढाएको छ ।

अञ्जन केसी प्रमुख एजेन्ट

अञ्जन केसी सम्बन्धित नै नभएको खेलमा पनि विदेश गएको देखिन्छ । ‘फिलिपिन्स र दिल्लीमा भएको खेलमा न उनी खेलाडी थिए, न त अफिसियल नै, तर पनि उनी टिमसँगै गएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरीले भने, ‘म्याच फिक्सिङकै लागि उनी त्यहाँ गएको देखिन्छ ।’

बुकीहरूले नेपालमा फिक्सिङका लागि उनलाई नै प्रमुख एजेन्टका रूपमा प्रयोग गरेको प्रहरी अधिकारीहरू बताउँछन् । उनले नै पैसा बुझेर अन्य खेलाडीलाई बाँड्दै आएका थिए । उनको आर्थिक कारोबार पनि अस्वाभाविक भएको र सिक्किमको माजोङ क्यासिनोमा समेत लगानी छ । गत वर्ष प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी चरीसँग मिलेर उनले विभिन्न अवैध आर्थिक कारोबार गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

एन्फाको पनि कारबाही

‘म्याच फिक्सिङ’को आरोपमा पक्राउ परेका खेलाडीहरूलाई अखिल नेपाल फुटबल संघ ९एन्फा० ले समेत कारबाही गरेको छ । एन्फाले प्रहरी हिरासतमा रहेका कप्तान सागर थापासहित पाँचै खेलाडीलाई अनुसन्धान अवधिभर फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा सम्बन्धित हुन नपाउने गरी प्रतिबन्ध लगाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी