
बिहीबार मात्र नेपाल बैंकको १० करोड ६२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । उक्त सेयर राजेन्द्र खेतान समूहले बिक्री गरेको हो । यसअघि यो समूहले विभिन्न माध्यम (हकप्रद सेयर, लिलाम र दोस्रो बजार आदि) मार्फत खरिद गरेको नेपाल बैंकको हकप्रद सेयर बिक्री गरेको हो । यसले यो समूहले नेपाल बैंकमा आफ्नो स्वामित्व घटाउन चाहेको स्पष्ट देखाउँछ। सो दिन नेपाल बैंकको सेयर मूल्य ४ रुपैयाँले बढेको छ । २ सय ३१ वटा कारोबारबाट यो कम्पनीका ३ लाख ५५ हजार १ सय ११ कित्ता सेयर किनबेच भएका छन् । कारोबार अवधिभर अधिकतम प्रतिसेयर ३ सय १७ र न्यूनतम २ सय ८५ रुपैयाँमा यो कम्पनीका सेयर खरिद–बिक्री भए पनि ३ सय ४ रुपैयाँमा बन्द भएको छ । बिहीवबार नेप्से परिसूचक ९ दशमलव २१ अंकले बढेर १ हजार १ सय ५१ दशमलव ३८ बिन्दुमा उक्लिएको छ ।
सो दिन व्यापारमा आएकामध्ये सबै समूहको परिसूचक बढेपछि नेप्सेलाई करिब दोहोरो अंकनजिकको वृद्धिले पछ्याएको हो । बजारको पहिलो व्यापारमा घटेको नेप्से १७ मिनेटको कारोबारदेखि उकालो लागेको हो । करिब १ घन्टामा परिसूचक १ हजार १ सय ५४ उच्च बिन्दुमा पुगेको थियो ।
त्यसपछिको कारोबार वृद्धिदर केही मत्थर भएको थियो । बिहीबार १ सय २७ कम्पनीका ४ हजार २ सय ५७ व्यापारबाट ११ लाख ३९ हजार ९ सय ६६ कित्ता सेयर किनबेच भए । सो कारोबारबाट ५५ करोड ७३ लाखबराबरको रकम परिचालन भएको छ भने १२ खर्ब २२ अर्बको कुल बजार पुँजीकरण भयो । नेप्सेमा कारोबार भएका कम्पनीमध्ये ८६ कम्पनीको सेयरमूल्य बढ्यो, ३२ कम्पनीको घट््यो र ९ कम्पनीको स्थिर रह्यो । बिहीबार बिमा समूहको परिसूचक सबैभन्दा धेरै २.४८ प्रतिशतले बढेको छ ।
सूर्या लाइफ इन्स्योरेन्सबाहेक कारोबारमा आएका सबै बिमा कम्पनीको सेयर मूल्य बढेपछि बिमा समूहको परिसूचक सबैभन्दा धेरैले बढेको हो । होटल समूहको परिसूचक १।८३ प्रतिशत, विकास बैंकको १।५८ प्रतिशत, बैंकिङको ०।४४ प्रतिशत, जलविद्युत्को ०।३९ प्रतिशत र वित्त कम्पनीको ०।२६ प्रतिशतले बढे । तर, ‘अन्य’ समूहको परिसूचक स्थिर नै रहेको छ । करिब साढे १० करोड रुपैयाँबराबरको सेयर करोबार भएर नेपाल बैैंक सबैभन्दा सेयर कारोबार हुने कम्पनीको अग्रपंक्तिमा रह्यो । सो दिन नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको सेयरमूल्य १०–१० प्रतिशतले बढे भने राप्ती भेरी विकास बंैकको सेयरमूल्य ६ दशमलव ९५ प्रतिशतले घट्यो । –
नयाँ पत्रिका