
कृषि विकास बैंक पुतलीसडक शाखाका प्रमुख गेहनाथ पौडेल, तत्कालीन उपप्रमुख थानेश्वर पन्थी र ड्राइभर भाइचा महर्जनले महिला ऋणी टीकामाया गोलेलाई जबर्जस्ती करणी गरेको घटनामा पीडितको बयान र करणी गरेको भिडियोलाई प्रहरी प्रशासनले पर्याप्त प्रमाण नमाने पनि आर्थिक दैनिकले अर्को एउटा लिखित प्रमाण फेला पारेको छ । गत २०७१ साल फागुन २९ गते कृषि विकास बैंक लि. शाखा कार्यालय पुतलीसडकमा कार्यरत थानेश्वर पन्थी र पीडित टीकामाया गोलेबीच आजसम्म भएका उजुरबाजुर रद्द गर्ने र कुनै दोषारोपण नगर्ने भनी दोहोरो लिखित सहमति समेत भएको थियो । फागुन २९ गते उक्त सहमति भएपछि टीकामायाको गर्भमा रहेको शाखाप्रमुख गेहनाथ पौडेल, थानेश्वर पन्थी वा ड्राइभर भाइचा महर्जनमध्ये कुनैको तर एकीन नभएको भ्रूण गर्भपतन गर्न लगाइएको थियो । पीडकहरुकै योजनाअनुसार टीकामायाले जोरपाटीमा रहेको नेवारथरकी एक महिलाको मेडिकलमा गएर चैत ५ गते गर्भपतनको औषधि खाएर भू्रणहत्या गरिएको थियो ।
राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ सुकेधारामा उनीहरुबीच उक्त लिखित सहमति भएको थियो । उक्त लिखित सहमतिमा टीकामाया र थानेश्वर पन्थी दुवैले सहीछाप गरेका छन् । रोहवर साक्षीमा जिल्ला अर्घाखाँची मैदान गाविस वडा नंं. २ बस्ने वर्ष ४३ को रमेश भट्टराई र राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष नवराज दाहालले सहीछाप गरेका छन् । साक्षी बस्ने भट्टराई टीकामायाको टीका लगाएको दाजु हुन् र उनै भट्टराई टीकामायाको नाममा कर्जा लिएर आफैँ चलाउने, ढुकुटी खेलाउने, नषालु पदार्थ खुवाएर पन्थी र पौडेललाई टीकामायालाई भिडाउने, उनीहरुलाई जोगाउन टीकामायालाई ड्राइभरसँग इज्जत लुटेको भिडियो बनाएर सार्वजनिकसम्म गराउनेलगायतका अपराधका सूत्रधार मानिन्छन् ।
पीडित टीकामायाले २०७१ माघ २८ गते आफ्नो अस्मिता लुटिएको बारे लुटेराहरु थानेश्वर पन्थी र ड्राइभर भाइकाजी महर्जनलाई कारबाही गरिदिन निवेदन दिएकी थिइन् । निवेदनमा उनले उल्लेख गरेकी छिन्, ‘सुरु ऋण प्राप्त गर्ने अवस्थादेखि नै निजद्वयबाट विभिन्न प्रलोभनमा पारी, देखाई हालसम्म पनि पटक–पटक शारीरिक, आर्थिक र मानसिक तनाव दिई निजहरुबाट मेरो शोषण भएको हुँदा सोको यथेष्ट प्रमाणसहित यो निवेदन जानकारी गराउन आएकी छु ।’ सोही निवेदनका आधारमा उक्त लिखित सहमति भएको हो । सो सहमतिले नै बैंकका अधिकारीमाथि टीकामायाले लगाएको आरोप पुष्टि भएको छ । आर्थिक दैनिक