Skip to content
LAXMI SUNRISE BANK

‘डोमेन नेम’ को अचम्मको व्यापार, हेरौं कुन कुन डोमेन महँगा छन् ?

अर्थ सरोकार

पछिल्लो समय हरेक व्यवसाय अनलाइनकरण भईरहेका छन् ।  कुनै पनि व्यवसाय, संस्था वा सेलिब्रेटी वेव साइट मार्फत आफ्ना ग्राहक तथा सुभचिन्तकमाझ पुगिरहेका छन् । स-साना व्यवसायदेखि अरवौंका व्यवसायहरु आफ्नो व्यापार अनलाइनमार्फत गरिरहेका छन् । अनलाइनबाट व्यवसाय गर्नेहरुका लागि सबैभन्दा आधारभुत चीज भनेकै ‘डोमेन नेम’ हो । र त्यहि डोमेन नेमको नेपालमा लाखौँको व्यापार हुने गरेको तथ्य फेला परेको छ । पत्याउन गाह्रो होला तर यथार्थ यहि हो ‘करिव १००० पर्ने डोमेन २० लाख सम्ममा बिक्रि हुन्छ नेपालमा पनि ।’ केहि बर्षयता नेपालमा डोमेन बेचबिखन उल्लेखनीय रुपमा फष्टाएको मात्र छैन, दिमाग लगाउनेहरुले डोमेन विक्री गरेर करोडभन्दा बढि आम्दानी गर्नेहरु समेत भएका छन् नेपालमा । 

नेपालका कुन कुन डोमेन महँगा छन्  ? : विशेषगरी सेलीब्रेटीका नाम उल्लेखित डोमेनहरु राम्रो मुल्यमा विक्रिका लागि राखिएका छन् । र ति डोमेन निकै महँगा पनि छन् । नेपालकी चर्चित नायिका रेखा थापाको नाम उल्लेखित डोमेन रेखाथापा डटकम ७१८७ डलरमा बिक्रीमा छ । यता चर्चित नायक राजेश हमालको नाम उल्लेखित राजेशहमाल डटकम ३७८९.२५ डलरमा बिक्रीमा छ । यस्तै नम्रता श्रेष्ठ डटकम ४४७९.२५ डलरमा बिक्रीमा छ ।
महँगा डोमेनहरुमा नेताहरुको नाम पनि पर्दछ । मावोवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नाम उल्लेखित प्रचण्ड डटकम ५२७६. २० डलरमा बिक्रीमा छ भने प्रधानमन्त्री केपी वलीको नाम उल्लेखित केपी ओली डटकम ५७४८. ८५ डलरमा बिक्रीमा छ ।    
यता नेपाली राष्ट्रियता, हास्य चलचित्रमा उल्लेखित पात्र वा विषयसँग सम्बन्धित डोमेनहरु पनि निकै महँगा छन् । केहि समय अगाडिसम्म नेपाल टेलिभिजनमा प्रशारण हुने हास्य धारावाहिक भाद्रगोलमा प्रयोग हुने सब्द ‘सोलमारी’ को नाम उल्लेखित सोलमारी डटकम २५२४.२५ डलरमा बिक्रीमा छ । नेपाली राष्ट्रियतासँग सम्बन्धित डोमेन पनि निकै महंगोमा विक्रिमा छ । नेप्लिज डटकम १९५५० डलर अर्थात झण्डै २० लाख नेपाली रुपैयाँमा बिक्रीमा छ ।  यता रेडियो अडियोबाट हरेक राती प्रशारण हुने कार्यक्रम खुल्दुली डटकमको नाम उल्लेखित खुल्दुली डटकम पनि ९०५ डलरमा बिक्रीमा छ । यसरी हेर्दा नेपाली डोमेनहरु पनि लाखौँमा बिक्रीमा छन् । यसैगरी काठमाडौँबाट प्रकाशित हुने बुधबार साप्ताहिकको नाम उल्लेखित  बुधबार डटकम पनि २४६६.७५ डलरमा बिक्रीमा छ ।  

नेपालमा कसले गर्छ यस्तो व्यापार ?: नेपालमा  व्यवसायिक रुपमा यसरी डोमेनको कारोबार गर्नेहरु छन् भने यस्तो ब्यापार विशेषगरी नेपाल बाहिर बस्ने नेपालीहरुले गरिरहेका छन् । आफ्नो नाम नबताउने सर्तमा काठमाडौँ कोटेश्वर बस्ने २८ बर्षीय युवा आफुले डोमेनको यस्तै कारोबारबाट नेपालमै बसी महिनाको मासिक २ लाखसम्म कमाउने गरेको बताउँछन् । इन्जिनियरिङ सकेका उनी आफ्ना दाजुबाट यस्तो काम सिकेको र अष्ट्रेलिया बस्ने आफ्ना दाजुले पनि डोमेनको यस्तै कारोबार गरेर मासिक राम्रो आम्दानी गर्ने गरेको रातोपाटीलाई बताए । यस्तो कारोबार नेपालबाट अनाधिकृत रुपमा समेत हुने हुनाले आफ्नो नाम बताउन नचाहेको उनको कथन थियो । उनका अनुसार उनीजस्तै उनका अरु ५ जना साथीले पनि यस्तै काम गरेर मासिक राम्रो आम्दानी गर्ने गरेका छन् । विशेषगरी विदेशी ‘ब्र्याण्ड’ को नाममा गरिने यस्तो व्यापार निकै नै फाइदाजनक हुने उनको भनाइ छ ।
राजश्व गुमेको गुम्यै छ, सरकारलाई  पत्तो छैन : यसरी डोमेनको खरिद तथा विक्री गर्ने काम नेपालबाट ‘पेपाल’ जस्ता प्रविधिको प्रयोग वा विदेशी ‘क्रेडिट कार्डबाट हुने हुनाले लाखौँ रुपैयाँ विदेशिएको छ भने यसबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्व भने सुन्य प्राय: छ ।  केहि कम्पनीहरुबाट मान्यता प्राप्त डलर एकाउन्टबाटै कारोबार हुने गरेको भएपनि यस्ता किनबेचमा संग्लग्न हुनेहरुले अनाधिकृत रुपमा यस्तो व्यापार गर्ने हुनाले उक्त कारोबारबाट नेपाल सरकारलाई राजस्व आउँदैन ।  नेपालमा अनाधिकृत रुपमा ‘पेपाल’ चलाउनेको संख्या पनि उल्लेखनीय छ । 
कसरी हुन्छ डिल ? : यसरी डोमेन दर्ता गरेर महंगोमा बिक्रीमा राख्न मिल्छ । उक्त डोमेन खरिद गर्न चाहानेले डोमेन खरिदका लागि अनलाइन मार्फत नै आवेदन दिन सक्छन् ।  त्यसरी भएको ‘डिल’ बापत संयोजन गरिदिने कम्पनीले राम्रो कमिसन लिने गर्दन् ।  अहिले नेपालीहरुले प्रयोग गर्ने संयोजक कम्पनीहरुमा ‘नेम डटकम’ अगाडी आउँछ । नेम डटकम बाहेक डोमेन दर्ता तथा पुन: बिक्री तथा लिलामी गर्ने अन्य १५ बढि कम्पनीहरुबाट नेपाली डोमेनहरुको कारोबार हुने गर्दछ । 
काठमाडौँमा फस्टायो डोमेनको अर्कोखाले व्यापार :  काठमाडौँ कोटेश्वर कार्यालय भएको एक कम्पनीले अनलाइन पत्रिका संचालन गर्न  दर्ता गरेको नेप्लिज पोष्टडटकम दर्ता गरेको केहि दिनमै ५० हजारको अफर आएको कम्पनीका एक प्रतिनिधि बताउँछन् । यसैगरी सोहि कम्पनीले दर्ता गरेको दि नेप्लिज टाइम्स डटकम पनि दर्ता गरेको केहि दिनमै  ३० हजारको अफर आएको कम्पनीका प्रतिनिधि बताउँछन् ।  नेपालमा नयाँ अनलाइन पत्रिका आउने क्रम बढिरहेका बेला त्यसका लागि आवश्यक पर्ने डोमेन पनि राम्रो पैसामा बिक्री हुने गर्दछ । यी डोमेनहरु नेपालमा करिव एक हजारमा दर्ता हुने गर्दछन् । 
हजारौं डोमेन होल्डमा छन्  : विशेषत : वेव साइट संचालनका लागि दर्ता हुने भएपनि नेपालमा हजारौं डोमेनहरु ‘होल्ड’ मा छन् । विशेषगरी नेपाली अनलाइन पत्रकारितामा क्रियाशील पत्रकारहरुले अनलाइन पत्रिकाको नाम भन्दै थुप्रै डोमेन ‘होल्ड’ गरेका छन् ।  नेपालबाट अनलाइन पत्रिका बाहेक नेपालका चर्चित ठाउँ, चर्चित हिमाल, केहि चर्चित सेलिब्रेटीका नाम उल्लेखित डोमेनहरु पनि ‘होल्ड’ मा छन् ।  
व्यवस्थित गर्न सके उठ्न सक्छ लाखौँ राजस्व : नेपालमा डोमेन को यति धेरै कारोबार हुँदा पनि नेपाल सरकारसँग स्पस्ट कानुन नहुँदा लाखौँ राजस्व गुमीरहेको छ।  नेपालमा डलर ए का उ ण्ट खोल्ने प्रक्रिया निकै नै लामो र झन्झटिलो भएकाले पनि नेपाली हरुले विदेशमा बस्ने हरुको सहयोगमा डोमेनको कारोबार गरिरहेका छन् जसबाट येकातार्फ लाखौँ पैसा विदेशिएको छ भने नेपाल सरकारले राजस्व उठाउन सकेको छैन।  यसलाई व्यवस्थित गर्ने हो भने नेपाल बाटै सहज रुपमा डोमेन दर्ता हुन गइ यसको व्यवसाय अझै राम्रो हुने र नेपाल सरकारले पनि मोटो रकम राजस्वको रुपमा उठाउन सक्ने सरोकारवाला हरुको भनाइ छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK