
काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधले एकजना कम्प्युटर अपरेटरलाई लेखा अधिकृतमा बढुवा गरेपछि अहिले कोषभित्र व्यापक रूपमा हल्लीखल्ली मच्चिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत बढुवाका लागि अयोग्य ठहराएका कम्प्युटर अपरेटर भीम बस्नेतलाई केही दिन अघि बढुवा गरिएको हो ।
कोषका सदस्य सचिव अजितमान तामाङले आफूअनुकूलको काम गराउन कम्प्युटर शाखाबाट लेखामा ल्याएका बस्नेतलाई यसअघि पनि बढुवा गर्न प्रयास गर्दा अख्तियार र मन्त्रालयले रोकेको थियो । बस्नेतको बढुवाको प्रक्रिया अघि बढाउँदा अख्तियारका कर्मचारीले कोषको काठमाडौंस्थित सम्पर्क कार्यालयमा उपाध्यक्ष निग्रोधलाई भेटेर ‘बस्नेतलाई कुनै पनि हालतमा लेखाको अधिकृतमा बढुवा नगर्नू, उनको योग्यता पुग्दैन’ भनेर सचेत तुल्याएका थिए । त्यस्तै, उपाध्यक्ष निग्रोधलाई मन्त्रालयमै बोलाएर मन्त्रालयका उपसचिव दयाराम श्रेष्ठले ‘बस्नेतको योग्यता नपुग्ने भएको र उनको शाखा पनि अर्कै रहेको हुँदा बढुवा नगर्नू’ भनेर सुझाव दिएका थिए । तर, अख्तियार र मन्त्रालयको सुझावलाई लत्याउँदै उपाध्यक्षले नियम, कानुन मिची बस्नेतलाई लेखा अधिकृतमा बढुवा गरेका छन् ।
अहिले लेखा अधिकृतमा बढुवा भएका बस्नेतको सेवा र समूह नमिल्ने भएको हुँदा अख्तियार र मन्त्रालयले रोकेको थियो । उनको सेवा इन्जिनियरिङ शाखा हो भने समूहचाहिँ प्रशासन थियो । तर, विगत केही वर्षदेखि लेखा फाट हेर्ने जिम्मा पाएपछि अहिले उनी सेवा र समूह परिवर्तन नगरी लेखा अधिकृतमा बढुवा भएका हुन् । त्यसो त, अख्तियारले बस्नेतमाथि भ्रष्टाचारसम्बन्धी छानबिन गरिरहेको हुँदा उनको बढुवाका लागि बाटो खुल्ने अवस्था थिएन । तर, जसरी पनि बढुवा हुने दाउमा लागेका बस्नेतले अख्तियारको महाशाखा–४ का प्रमुख इन्जिनियर दीपक श्रेष्ठलाई राम्रै नजराना चढाएर बढुवाका लागि लबिङ गरेका थिए । इन्जिनियर श्रेष्ठले नै पत्र दिएपछि अख्यितारले डामेका बस्नेतलाई बढुवा हुन बाटो खुलेको थियो ।
अख्तियार र मन्त्रालयले रोक्दारोक्दै पनि बस्नेतलाई बढुवा गर्नैपर्ने बाध्यता किन उपाध्यक्षलाई पर्यो ? अहिले कोषभित्र यसले व्यापक चर्चा मात्र पाएको छैन । एकजना भ्रष्ट व्यक्तिलाई बढुवा हुन अख्तियारले नै बाटो खोलिदिएकोमा कोषका अरू कर्मचारीहरू चकित परेका छन् । आजको बुधबार साप्ताहिकमा खबर छ ।