
काठमाडौं–फ्रान्समा जारी युरोकपको सेमिफाइनल चरणका खेल बुधबारदेखि सुरु भएका छन् । नेपालमा पनि युरोकपप्रतिको ‘फिबर’ बढ्दो छ । फुटबलप्रतिको लगाव मात्र होइन, करोडौँको बाजीसमेत हुने गरेको छ । युरोकपका खेलमा हजारौँ नेपालीले बाजी लगाउँदै आएका छन् ।
नेपालमा सट्टाबाजको धन्दामा अन्तर्राष्ट्रिय संगठित गिरोह नै सक्रिय छ । स्रोतका अनुसार दैनिक काठमाडौंमै करोडौँको हारजित हुने गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले सट्टाबाज धन्दामा संलग्नहरू निगरानीमा रहेको बताए । उनले भने, ‘दुईजनालाई पक्राउ पनि गरिसकेका छौँ, उनीहरूको नेटवर्कमाथि अनुसन्धान भइरहेको छ ।’
प्रहरीको अध्ययनअनुसार नेपालमा चार–पाँच समूहले सट्टेबाज धन्दा चलाइरहेका छन् । तीमध्ये नागराजका नामले चिनिने अमृत अग्रवालको नेटवर्क सबैभन्दा ठूलो छ । प्रहरी स्रोतका अनुसार अग्रवालका मुख्य सहयोगीमा गौरव र सौरभ तिवारी छन् । तिवारी दाजुभाइले उपत्यकाभरि विभिन्न एजेन्टमार्फत बाजी खेलाउँदै आएका छन् ।
सोही समूहका दुईजनालाई महानगरीय प्रहरी वृत्त जनसेवाले ३० जेठमा पक्राउ गरेको थियो । न्युरोडको आरबी कम्प्लेक्सबाट दीपकरत्न शाक्य र सागर खड्गी पक्राउ परेका थिए । विभिन्न व्यक्तिबाट उठाइएको करिब तीन लाख रकम पनि प्रहरीले बरामद गरेको थियो । उनीहरूको मोबाइलमा बाजीको रेट आदानप्रदान भएको एसएमएसहरू फेला परेको प्रहरीले जनाएको छ । थप अनुसन्धानमा श्रीकान्त अग्रवालसँग मिलेर उनीहरूले सट्टेबाज धन्दा चलाएको खुलेको जनसेवा वृत्तका डिएसपी विनोद घिमिरेले बताए । श्रीकान्त अमृतका भाइ हुन् । उनी फरार रहेको प्रहरीले जनाएको छ ।
वैशाखको पहिलो साता महानगरीय अपराध महाशाखाले बालुवाटारस्थित मल्पी इन्टरनेसनल कलेजका डिसिप्लिन इन्चार्ज (डिआई) सुदीप गुरुङलाई उनका साथी साङ्गे ठकुरीसहित पक्राउ ग¥यो । गुरुङले कलेजकै विद्यार्थीलाई आइपिएल तथा युरोपियन फुटबल लिगको बाजी खेलाइरहेका थिए । केही विद्यार्थीले लाखौँ हारेको उजुरी अभिभावकबाट परेपछि प्रहरीले कलेजमा छापा हानी बुकी खुलाउने गुरुङ र केही विद्यार्थीलाई समेत पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा एउटै कलेजमा दैनिक १० लाखभन्दा धेरै रुपैयाँको बाजी चल्ने गरेको खुलेको थियो । कुनै समूहसँग सहभागी नभई उनीहरूले आफैँ रेट बनाएर खेलाउने गरेका थिए ।
स्रोतका अुनसार संगठित गिरोहले बैंक, कलेज तथा व्यवसायी समूहमा एजेन्ट बनाएर बाजी खेलाउँदै आएका छन् । एजेन्टले कमिसन पाउने भएकाले खेल्नेले जिते पनि वास्तविक रेटभन्दा थोरै कमाउँछन् । ठूलो खेल भने राजधानीका क्यासिनोमा हुने गरेको छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ । रातभरि खुला हुने भएकाले क्यासिनोभित्र फुटबल लाइभ हेर्ने र बाजी लगाउने धन्दा चल्दै आएको छ । क्यासिनो जुवा खेल्ने ठाउँ भएकाले कतिपय एजेन्टले क्यासिनोमा जुवा खेलाउँदै आएका छन् । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध भए पनि भारतीय नागरिक भएको नक्कली कार्ड बनाएर छिराउने गरिएको छ ।