
काठमाडौं / २९ वाणिज्य बैंकमध्ये १५ वटा बैंक हकप्रद सेयर निष्काशनको अन्तिम तयारीमा जुटेका छन् । तिबाहेक अन्य ६ बैंक पनि हकप्रद निष्काशनको निर्णय गरिसकेका छन् । हाल निष्काशनको स्विकृति पर्खेर बसेका बैंकको हकप्रद सेयर खरिदका लागि मात्र लगानीकर्ताले २२ अर्ब ८० करोड १० लाख रुपैयाँ जुटाउनु पर्ने हुन्छ । एक वर्षभित्र चुक्ता पुँजी न्युनतम ८ अर्ब रुपैयाँ हुनु पर्ने वाध्यात्मक व्यवस्था केन्द्रीय बैंकले गरेपछि उनीहरूले पुँजी पुर्याउन हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् ।
उक्त बैंक मध्ये एनआइसी एसिया बैंकको सेयर खरिद गर्न चाहनेले गत १५ असारसम्मा हकप्रदवापतको रकम बुझाए । सो बैंकले २५ प्रतिशत हकप्रद सेयर जारी गरेको छ । यसैगरी, सिटिजन्स बैंकले चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । बैंकको हकप्रद सेयर खरिदका लागि साउन ९ गतेभित्र फाराम बुझाइसक्नु पर्नेछ ।
नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब पुर्याउन निर्देशन दिएपछि उनीहरू धमाधम हकप्रद सेयर निष्कासन गर्ने तयारीमा जुटेका हुन् । नेपाल धितोपत्र बोर्डले पनि हकप्रद सेयर निष्कासन प्रक्रियालाई सहज बनाएको छ । बोर्डले अधिकतम १२ दिनभित्र हकप्रद सेयर निष्कासनको स्वीकृति दिइसक्ने बताएको छ । यसअघि हकप्रद सेयर निष्कासन स्वीकृतिका लागि १ महिनासम्म लगाउने गरेको थियो । केन्द्रीय बैंकले तोकेको अवधिभित्र चुक्ता पुँजी नपुर्याउने समयसम्म क्रेडिट रेटिङ प्रक्रिया पनि सहज बनाइएको छ । लगातार नाफामा सञ्चति बैंकहरूले क्रेडिट रेटिङ गर्नु ,नपर्ने व्यवस्था गरिएको बोर्डका प्रवक्ता निरज गिरीले बताए ।
यसअघि क्रेडिट रेटिङ गर्न ३ महिनासम्म लाग्ने गरेको थियो । क्रेडिट रेटिङ गर्न लामो समय लागेका कारण हकप्रद सेयर निष्कासनमा ढिलाइ हुँदै आएको थियो । हकप्रद सेयर निष्कासनका लागि फास्ट ट्रयाकमा काम हुन थालेपछि बैंकरले केही सहज महसुस गरेका छन् । हालसम्म सबैभन्दा धेरै बढी लक्ष्मी बैंकले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ भने सबैभन्दा कममा हिमालयन बैंकको १४.२८ प्रतिशत छ । नेपाल एसबिआई बैंकले प्रिमियममा २ अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णय गरेको छ । नेपाल बगांलादेश बैंकले चुक्ता पुँजीको ८० प्रतिशत, सानिमा, कृषि विकास, जनता र माछापुच्छ्ेर बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेका छन् ।
सनराइज, प्राइम, सेन्चुरी बैंकले चुक्ता पुँजीको ३० प्रतिशत तथा एनआइसी एसिया, सिद्धार्थ र मेगा बैंकले २५ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्दै छन् । नेपाल बैंकले २३.७४ प्रतिशत हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी बढाउँदै छ । केही वाणिज्य बैंकले वित्तीय संस्थालाई खरिद गरिसकेपछि हुन आउने चुक्ता पुँजी पछि हकप्रद सेयर जारी गर्दैछन् ।
सनराइज बैंकले नारायणी नेसनललाई खरिद गर्ने प्रक्रिया सकिएपछि हकप्रदको अनुपात बढाउने बताएको छ । पुँजी बृद्धीको मामिलामा लगानीकर्तालाई स्पष्ट पार्न नसकेका एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्डले पनि प्रिमियममा हकप्रद ल्याउने निर्णय गरे भने हकप्रदको आकार ह्वात्तै बढेर जानेछ । चुक्ता पुँजी तीन अर्ब हाराहारीमा रहेका यी बैंकहरूले कम्तीमा ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेमा वाणिज्य बैंकहरूको हकप्रदको आकार बढ्ने निश्चित छ । मर्ज, एक्विजिसन वा थप सेयर निष्कासन (एफपिओ) को बाटोमा यी दुई बैंक गए भने मात्र हकप्रद आवश्यक नहुन सक्छ ।
बोनस सेयर दिएर यी दुई बैंकले पुँजी बढाउन सक्ने सम्भावना पनि त्यत्तिकै छ । चुक्ता पुँजी कम भएका बैंकले हकप्रद सेयर निष्कासन गर्ने सम्भावना भएकाले पनि लगानीकर्ता त्यस्ता कम्पनीको सेयर खरिद गर्न आकषिर्त भएका छन् । पछिल्लो समय कम चुक्ता पुँजी भएका स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्टलगायतका बैंकको सेयर मूल्य बढेको छ । ती बैंकहरूले समेत हकप्रद सेयर जारी गर्ने हो भने बजारमा करिब ३० अर्ब रुपैयाँको हकप्रद सेयर अनुमान विज्ञहरूले गरेका छन् । हकप्रद खरिदका लागि लगानीकर्ताले ठूलो रकम लागि खर्चिनुपर्ने देखिन्छ ।
त्यो देखेपछि हामी अलि पछि हटेका हौं । शेयर बजार साप्ताहिकमा खबर छ ।