
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । व्यवस्थापिका संसदलाई आइतबार साँझ सम्बोधन गर्दै ओलीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
यसअघि उनले राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति विद्यादेबी भण्डारीलाई राजीनामा पत्र पेश गरेका थिए ।
राजीनामा दिएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भने, ‘यहाँ आउनुपूर्व राष्ट्रपतिलाई भेटेको छु । बजेट आश्रित विद्येयक फेल भएपछि ममाथ बहुमत हुँदैन ।’
‘नयाँ प्रधानमन्त्रीका लागि मार्गप्रसस्त गर्दै राजीनामा पेश गरेको छु । यो सदनलाई जानकारी गराउछुँ,’ उनले भने । संसद् विघटनबारे हल्ला चलेको भन्दै उनले भने, ‘मैले धेरै पटक संसद विघटन गराउँदिन भने । आमने सामनेका राजनीतिमा म विश्वास गर्छु । ढोकाबाट पस्ने झ्यालबाट निस्कने गर्दिँन ।’
२०७२ असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका ओली सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । पछि माओवादीले कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव ल्याएपछि आज त्यसको भोटिङ हुने कार्यक्रम थियो ।
सोहि अविश्वासको प्रस्तावबारे तीन दिनयता छलफल हुँदै आएको थियो ।