Skip to content
LAXMI SUNRISE BANK

सेनामा नक्कली केमिकल आतंक !

अर्थ सरोकार

काठमाडौं । नेपाली सेनाको सैनिक स्वास्थ्य महानिर्देशनालयमा यतिबेला नक्कली केमिकल आतंक छाएको छ । विदेशी कम्पनीको नाममा नक्कली चिनियाँ केमिकल सप्लाई गर्ने मुख्य व्यक्ति पक्राउ परेर छुटे पनि सेनाले सोही व्यक्तिसँग केमिकल किन्न थालेपछि आतंक छाएको हो । 
सेनाबाट युएन मिसनमा विदेश जानेहका लागि एचआइभी र हेपाटाइटिस जस्तो गम्भिर रोग जाँच्ने केमिकल नै नक्कलीको ट्याग लागेका सप्लायर्सबाट सेनाले खरिद गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरले एचआइभी, हेपाटाइटिस बी र सी तथा थाइराइडजस्ता रोग पत्ता लगाउन गरिने जाँचमा प्रयोग हुने नक्कली केमिकल बेचेको आरोपमा सानेपामा रहेको सेरोल्याब नेपाल ट्रेडर्सका सञ्चालक किरणकुमार श्रेष्ठलाई गत फागुनमा पक्राउ गरेको थियो । 
उनै श्रेष्ठले सेनाका हाकिम रिझाएर असली भन्दै नक्कली केमिकल सप्लाई गरिरहेको स्रोतले जनाएको छ । श्रेष्ठको कम्पनीले नेपाली सेनासहित उपत्यकाका मुख्य १० अस्पताल र अन्तर्राष्ट्रियस्तरका स्वास्थ्य परीक्षण केन्द्रमा एचआइभी, हेपाटाइटिस र थाइराइडजस्ता रोगको परीक्षणमा प्रयोग हुने केमिकल सहितका औषधि सेरोल्याबले सप्लाई गर्दै आएको छ । 
परिसरले श्रेष्ठको कम्पनीले चीनको छेन्जुमा रहेको अटोबायो डाइग्नोस्टिक कम्पनी लिमिटेडबाट ल्याएका केमिकलमा इटालीको एडलटिस कम्पनीको लोगो लगाएर सप्लाइ गर्ने गरेको हो । सेरोल्याब र प्रिसियस नानो सेन्टर नामक दुई कम्पनीमार्फत टेस्ट किट बजारमा पुग्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो । प्रहरीले कम्पनीबाट नक्कली लेबल बनाउन प्रयोग हुने उपकरणसमेत बरामद गरेको थियो । 
नेपाली सेनासँग असोज ६ गते केमिकल र औषधि सप्लाई गर्न सम्झौता गरेको सेरोल्याबले पहिलो खेपमा पठाएका २६ सय थान केमिकल बक्स नक्कली भेटिएका थिए। सेनाले सम्झौता गरेको करिब तीन महिनापछि मंसिर २१ गते सेरोल्याबलाई लेखेको पत्रमा उसले पठाएको केमिकल प्रयोग गर्दा कन्ट्रोल लाइन नै नआई जाँच मान्य नहुने समस्या रहेको जानकारी दिएको थियो । महानिर्देशनालयले सेनाका स्वास्थ्य केन्द्र र कल्याण शाखालाई औषधि र केमिकल उपलब्ध गराउने गरेको थियो । 
सेनाको शान्ति मिसनमा खटिएर जाने फौज जानुपूर्व अनिवार्य गरिने टेस्टका लागि मगाएका किटले यकिन जानकारी नै नदिएपछि सेनाले सेरोल्याबलाई पत्र लेखेको हो। महानिर्देशनालयका प्राविधिक उपरथी किशोरजंग खड्का र सेरोल्याबका बुद्ध लामाबीच ९० लाख ८३ हजार बराबरको औषधि र केमिकल सप्लाइको सम्झौता भएको थियो । तर, श्रेष्ठ पक्राउ परेर कारवाहीमा पर्दा समेत सेनाले उनैबाट केमिकल खरिद गर्नुका पछि लाखौं कमिसनको खेल रहेको स्रोतले जानकारी दियो । सेरोल्याबका विषयमा केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसनले प्रहरीलाई जानकारी दिएको थिया े। प्रहरीले डेढ महिना लामो निगरानीपछि एचआइभी, हेपाटाइटिस, थाइराइड र फ्याटी लिभर जाँच्न प्रयोग हुने नक्कली किटसहित श्रेष्ठलाई पक्राउ गरेको हो । 
सरकारले करिब १० वर्षअघि केमिकल सप्लाईमा यस्तै समस्या देखिएपछि स्वास्थ्य प्राविधिक उत्पादनलाई नियमन गर्न कानुन बनाउने निर्णय गरेको थियो। नेपाल फार्मेसी काउन्सिलले कानुन नभएका कारण कसले ल्याउने र कसरी बेचबिखन गर्ने भन्ने विषयमा समस्या आउने गरेको जनाएको छ । परिसरले श्रेष्ठविरुद्ध कालोबजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाए पनि प्रहरी, सरकारी वकिल र अदालतलाई प्रभावमा पारेर श्रेष्ठ रिहा भएर पुरानै धन्दामा लागेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK