
काठमाडौं– अधिकांश भूकम्पपीडितले अहिलेसम्म आवास निर्माणका लागि पहिलो किस्ताको रकम पाएका छैनन् । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चाहिँ महँगा–महँगा गाडी खरिद गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ६ करोड ५८ लाख २१ हजार ८ सय रुपियाँको सवारीसाधन खरिद गरेको छ । पदाधिकारीका लागि गत महिना प्राधिकरणले ९ वटा फोर्ड कम्पनीको कार र ११ वटा टाटा कम्पनीका पिकअप भ्यान खरिद गरेको हो । यस्तै डिस्कभर ब्रान्डका ३१ वटा मोटरसाइकल समेत खरिद गरेको छ । फोर्ड कम्पनीको कार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, सचिव र सहसचिवहरुलाई दिइएको छ । अन्य गाडीहरु केही अफिसरहरुका लागि दिइएको छ । ३१ वटा मोटरसाइकल पनि अफिसरहरु र साँझ बिहानसम्म कार्यालयमा रहने अन्य कर्मचारीलाई दिइएको छ ।
–अहिले खरिद गरेको सवारीसाधान अत्यन्तै थोरै भएकाले प्राधिकरणमा कर्मचारीहरुमा सवारी सेवालाई लिएर गुनासो बढिरहेको एक कर्मचारीले बताए । प्राधिकरणमा कार्यकारी समितिका ६ जनासहित २२ जनालाई २२ वटा गाडी आवश्यक भएकामा गाडी नपाउनेहरुले असुन्तुष्टिसमेत जनाएका छन् । प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतसहित ६ जनाको कार्यकारी समिति छ भने एक सचिव र सहसचिव मात्रै १३ जना छन् । यस्तै पुनरावेदन समितिमा ३ जना पदाधिकारी छन् । सबै पदाधिकारीका साथै भइपरी आउने अवस्थाका लागि जगेडा गाडी नहुँदा समस्या आएको एक पदाधिकारीले गुनासो गरे । प्राधिकरण स्रोतका अनुसार यस वर्ष थप गाडीका लागि वैदेशिक दातृनिकाय एडीबीमाफर्त सहयोग लिनेबारे प्रक्रिया अघि बढाइएको छ ।
कर्मचारी आएनन्
प्राधिकरण गठनसँगै २ सय ८ कर्मचारीको दरबन्दी कायम गरिए पनि यतिबेला कार्यालयमा १ सय २८ कर्मचारी मात्र हाजिर हुने गरेका छन् । अधिकांश प्राविधिक तहका अफिसर इन्जिनियरहरु प्राधिकरणमा आउन मानेका छैनन् ।
प्राधिकरणमा आकर्षक प्याकेज, भत्ता जस्ता सेवा सुविधा नपाइने भएपछि इन्जिनियरहरु यतातिर आकर्षण हुन नसकेको प्राधिकरणका उपसचिव विजय रानाले बताए ।
भूकम्प अतिप्रभावित क्षेत्रमा प्राधिकरणले ७ वटा उपक्षेत्रीय कार्यालय खोल्ने भनेकोमा अझै एउटा कार्यालय खोल्न सकेको छैन । हालसम्म दोलखा, नुवाकोट, काभ्रे, ललितपुर, काठमाडौँ र गोरखामा उपक्षेत्रीय कार्यालय खोलेको छ ।