
काठमाडौं । आर्थिक वर्ष २०७२/०७३ मा वीर अस्पतालका लागि छुट्ट्याइएको बजेट फ्रिज भएर गएको छ । गरीब जनताले उपचार गर्ने वीर अस्पतालका भवनहरू भूकम्पले भत्केपछि त्यसको पुनर्निर्माणका लागि सरकारले छुट्ट्याएको सात करोड बजेट फ्रिज भएर गएको हो । व्यवस्थापनले भवन पुनर्निर्माणका लागि समयमै प्रक्रिया थाल्नु पर्ने भएपनि आलटाल गरेको थियो । सरकारले भवन वीर अस्पतालका भत्केका भवन पुनर्निर्माणका लागि ७ करोड रुपैयाँ बराबरको बजेट छुट्ट्याएको थियो ।
२०७२ वैशाख १२ को विनासकारी भूकम्पले वीर अस्पतालको नर्सिङ कलेज सञ्चालन हुँदै आइरहेका ६ भवन काम नलाग्ने गरी भत्केका थिए । भवन काम नलाग्ने भएपछि त्यसलाई भत्काएर अत्याधुनिक भवन निर्माण गर्ने योजना अघि सार्दै बजेट छुट्ट्याएको हो । सरकारले बजेट छुट्ट्याएको भए पनि वीर अस्पताल व्यवस्थापन हेर्दै आइरहेको चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (न्याम्स) ले भने समयमै भवन निर्माणका लागि टेन्डरलगायत प्रक्रिया सुरु गर्न सकेन । भवन पुननिर्माणका लागि बजेट परेको एक वर्ष गुज्रिसके पनि पुराना भवन भत्काउने काम समेत सुरु हुन सकेको छैन ।
वीर अस्पताल स्रोतका अनुसार, शहरी विकास तथा निर्माण विभागलाई टेन्डर गर्न दिनुपर्नेमा न्याम्स व्यवस्थापनले आफैं गर्न खोज्दा बजेट फ्रिज भएर गएको हो । ‘वीर व्यवस्थापनले भवन निर्माणबाट कमिशन खाएर मालामाल हुने दाउ राख्दा बजेट फ्रिज भएर गएको छ,’ वीर अस्पताल स्रोतले भन्यो ।
वीर अस्पताल सर्ने हल्लाले जाइका त्रस्त
उता, भूकम्पले क्षति पुगेको वीर अस्पतालको भवन पुनर्निर्माण गर्ने सम्झौता गरेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जाइका वीर अस्पताल सर्ने हल्ला चलेपछि सशंकित बन्न पुगेको खबर छ । स्रोतका अनुसार, ९८ बेड संख्याको भवन बनाउन केही महिनाअघि स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेको जाइकाले यसमा सोधीखोजी नै सुरु गरेको छ । उसले वीर अस्पताल सर्ने हो भने आफूले सम्झौता गरे अनुसार अस्पताल भवन नबनाउने चेतावनी दिएको छ । उसले न्याम्ससँग वीर अस्पताल सर्ने हो भने भवन बनाउनुको औचित्य नहुने भन्दै व्यवस्थापनसँग जवाफ नै मागेको बुझिएको छ ।
‘वीर अस्पताल सर्ने हल्ला चलेसँगै जाइकाले यसमा चासो राखेको छ,’ वीर अस्पतालका एक कर्मचारीले भने, ‘यदि अस्पताल भइरहेको स्थानबाट भक्तपुर सर्ने हो भने उसले भवन निर्माणबाट हात झिक्ने स्पष्ट पारेको छ ।’ अस्पताल सर्ने समाचार प्रकाशमा आए पनि वीरले भने अस्पताल सर्ने नभएर विस्तार मात्रै हुन लागेको बताएको छ । वीर अस्पताल भक्तपुरको दधिकोटको ५ सय रोपनी जग्गामा विस्तार गर्ने सरकारी लक्ष्य छ । साँघु साप्ताहिकमा खबर छ।