
काठमाडौँ – आफ्नै हठका कारण सरकारबाट हठा्त बाहिरिनुपरेपछि एमालेभित्र चर्को असन्तुष्टि फैलँदै गएको छ । केपी ओलीका कारण सरकार छाड्नुपरेको र सत्ता गठबन्धनमा रहेका दलसँग पनि राम्रो सम्बन्ध बन्न नसकेको भन्दै एमालेभित्र उनी विरुद्ध ठूलो मोर्चाबन्दी सुरु भएको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, योगेश भट्टराई, घनश्याम भुसाललगायतका टोलीले ओलीका कारण पार्टी सकिने भयो भन्दै कुनै न कुनै उपाय अवलम्ब गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।
ओली विरुद्ध कसरी गतिविधि सुरु गर्ने भन्ने लक्ष्यका साथ उनीहरुले दैनिक जसो बैठक र भेलाको आयोजना गरिरहेका छन् । हालसम्म अनौपचारिक तहमा मात्रै रहेको भेला र बैठकलाई केही दिनदेखि औपचारिकता प्रदान गर्ने निर्णय गरिएको सो समूहका एक नेताले बताए ।
माओवादी केन्द्रसँग पार्टी एकता नै गर्नेसम्मको तयारी गरिएको भएपनि ओलीका कारण नै त्यो सम्भव नभएको निष्कर्षमा सो समूह पुगेको छ । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई सफल बनाउन भित्रभित्रै लाग्ने र आवश्यक सल्लाह समेत दिने उनीहरुको तयारी छ ।
ओलीले भन्दा राम्रो काम गर्न र मधेसीको समस्या समाधान गर्न विशेष जोडबल गर्ने र अन्त्यमा वामदेव गौतमको नेतृत्वमा नै सरकार बनाउने वातावरण तयार पार्न जोडबल गर्ने सो समूहको तयारी छ ।
गौतमको पक्षमा माहोल बनाउने र उनलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै माधव नेपाल समूहले तयारी गरेको स्रोतको दावी छ । प्रचण्ड समेत त्यसका लागि तयार हुन्छन् भन्ने उक्त समूहको निष्कर्ष रहेको छ ।