
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति महामन्त्री शशांक कोइराला रुष्ट बनेका छन् ।
के थियो कारण ?
गम्भिर विरामी परेर भर्खरै उठेका महामन्त्री शशांकले नयाँ मन्त्रीका लागि दुई नाम दाजु शेखर कोइराला र अर्का दीपक गिरी सिफारिस गरेका थिए । तर बुधवार साँझ देउवाले टेलिफोन गरी शेखर कोइरालालाई परराष्ट्रमन्त्रालय दिन नसक्ने बताएपछि कोइराला रुष्ट बनेका हुन् ।
टेलिफोनमै चर्काचर्की
विहीबार साँझ देउवालाई कोइरालाले टेलिफोन गरेर ‘तपाई यसरी नै चल्दै जाने हो भने म चुप लागेर बस्दिँन’ यो पार्टी हो मनमर्जी गर्ने अर्गनाइजेशन होइन ।’ भनेका थिए । पार्टीलाई एकढिक्का बनाउनुको सट्टा विभाजनको रेखा कोर्दै गएको भन्दै देउवाप्रति आपत्ती जनाए । झण्डै १५ मिनेटको टेलिफोन सम्बादमा सभापति र महामन्त्रीबीच चर्काे विवाद भएको स्रोतले बताएको छ ।
परराष्ट्रको नाममा किचलो
देउवाले शेखरलाई परराष्ट्र बाहेक अन्य मन्त्रालय दिन तयार रहेको बताएका थिए । तर शेखरले भने परराष्ट्रभन्दा अन्य मन्त्रालय जागिर खान नजाने बताउँदै आएका छन् ।‘आइज त र म बसेर सवैको नाम फाइनल गरौला, सवैलाई मिलाएर जानु पर्छ, एउटाले भनेका कुरा मात्र सुन्नु हँदैन’ टेलिफोनमा देउवाले भने ।
देउवा सशांक निवासमा
देउवाले पहिले देखि नै सशांकलाई त भनेर नै बोलाउने गरेका छन् । जवाफमा कोइरालाले आफु पूर्णरुपमा स्वस्थ्य भइनसकेका कारण आउन नसक्ने बताएका थिए । ‘म तपाईको आउन सक्दिँन, तपाई नै आउनुस् ।’ सशांकले आफ्नै निवासमा देउवालाई आउन आग्रह गरेपछि थप छलफल गर्न आज देउवा उनको निवासमा पुग्ने भएका छन् ।