
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – गत शुक्रबार राजतिलक साप्ताहिकमा प्रकाशित फेवा बिकास बैंकलाई नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्ने तयारी शिर्षकको समाचार शनिबार बेलुका अर्थ सरोकार डटकमले प्रकाशित गरेपछि फेवा बिकास बैंकमा हङ्गामा मच्चिएको छ । अनलाइनमार्फत उक्त समाचार हेर्नेहरुको संख्या दिनभर जसो उल्लेखनीय भएपछि बैंकका कर्मचारी तथा पधाधिकारीहरु तनाबमा परेका हुन् ।
अफिस समयसम्म नभइसकेको बेला आफुलाई बैंकका आइटि विभाग प्रमुख बताउने शालिक राम गिरीले अर्थ सरोकारकर्मीलाई फोन गर्दै उक्त समाचार गलत भएको दावी गरेका थिए । उनले समाचार आधारहीन भएको दावी गरेका थिए । त्यस्तै दिउँसो बैंकका सुचना अधिकारी तारानाथ लम्साल, आन्तरिक लेखा परिक्षण प्रमुख प्रकाश अधिकारी लगायतले फोन गरी समाचार गलत भएको दावी गरेका छन् ।
खण्डन पठाउन आवश्यक छैन : सुचना अधिकारी
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बैंकका सुचना अधिकारी तारानाथ लम्सालले समाचार गलत भएको र नेपाल राष्ट्र बैंकमा यसबारे बुझ्न आग्रह गरेका थिए । उनले गलत समाचार हटाउन समेत आग्रह गरेका थिए । यद्यपी समाचार गलत भए खण्डन पठाउनुहोस् भन्ने हाम्रो आग्रहमा भने उनले समाचारको खण्डन गर्न आबश्यक नभएको बताएका थिए । सामान्तया समाचार चित्त नबुझेको खण्डमा खण्डन पठाउने चलन छ ।
समाचार लेखक भन्छन्, ‘समाचार पूर्ण रुपमा सत्य छ। ‘
यता उक्त समाचार छाप्ने राजतिलक साप्ताहिकका प्रधान सम्पादक भुपेन्द्र आचार्यले भने समाचार कुनै पनि कोणबाट गलत नभएको र यससम्बन्धि अन्य तथ्य अर्को अंकमा प्रस्काशित हुने बताएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘बैंकको बारे समाचार आएपछि बैंकका जिम्मेवार व्यक्तिहरुले चासो दिनु स्वाभाविक हो । मैले राष्ट्रबैंकको विश्वसनीय स्रोतसँग कुरा गरेको छु । बैंकका बारेमा समाचारमा लेखिएका कुरा एक एक गरी बाहिर आउनेछन् । ‘
राष्ट्रबैंक भन्छ, ‘बैंकको प्रगती राम्रो छ, तर आन्तरिक तयारीबारे भन्न मिल्दैन’
यता नेपाल राष्ट्र बैंक स्रोतको पनि प्रतिक्रिया मिस्रित छ । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागका कर्मचारीहरु नेपाल राष्ट्र बैंकले फेवा बिकास बैंकलाई कारवाही गर्दैछ वा छैन भन्ने कुरा बताउनै नमिल्ने बताउँछन् । यद्यपी बैंकका पछिल्ला घटनाक्रमले बैंक प्रगतीउन्मुख नै रहेको र नेपाल राष्ट्र बैंकको आन्तरिक तयारी के कसो छ भन्ने कुरा मिडियामा पहिलानै राम्रो भएपनि वा नराम्रो भएपनि भन्न नमिल्ने विभागका कर्मचारीहरुको भनाइ छ ।