
काठमाडौँ – नेकपा (एमाले) अध्यक्ष एवम् निवर्तनमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको नक्कली प्रेम अन्तिममा मात्र थाहा पाएको बताएका छन् । नेपाल अफ्रो एशियाली जनएकता संगठनले शनिबार राजधानीमा आयोजना गरेको ‘एशियाका आणविक अस्त्रको अविच्छिन्न सन्त्रास’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
‘मधेस गएर मधेससँग प्रेम छ भन्ने, पहाड गएर पहाडसँग प्रेम छ भन्नेहरुले एमालेसँग पनि प्रेम लगाए,’ नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने, ‘अन्तिममा च्वाप्प म्वाँई खाएपछि मात्र थाहा भयो । त्यो त नक्कली प्रेम पो रहेछ । म्वाँई खाँदा यति लामा दाराले घोचेपछि थाहा भयो ।’
करिब आधा घण्टा आफ्नो मन्तव्य राखेका ओलीले धेरै लामो राजनीतिक भाषण गरेनन् । बरु आणविक अस्त्रको अविच्छिन्न सन्त्रासबारे निकै उदाहरणहरु दिदैँ वैज्ञानिक तथ्यमा आधारिकत कुराहरु गरे ।
उक्त संगठनका अध्यक्ष समेत रहेका ओलीलाई कार्यक्रममा उपस्थित हुने वित्तिकै कार्यक्रम सञ्चालकले ‘उहाँको स्वाथ्यका कारण धेरै समय बस्न सक्नुहुन्न’ भनेका थिए ।
ओलीले आफूले मन्तव्य दिने क्रममा ती भनाईको आलोचना गरे । ‘मलाई स्वास्थ्यका कारण धेरै बेर बस्न नसक्ने भनियो,’ उनले भने ‘त्यसो होइन, ११ वर्ष अघिको विरामीलाई त्यसो भन्नु हुन्न । म स्वास्थ्यका कारण होइन व्यस्तताका कारण बस्न नसकेको हुँ । मैले उहाँहरुलाई भनेको थिएँ । ढिलो आउँछु, चाँडो जान्छु भनेर । कुरो यहि हो ।’