- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – गैरकानुनी रुपमा अबैध धन्दा चलाइरहेको खबर सार्वजनिक भएपछी इसेवाका अन्य कर्तुतहरु पनि सार्वजनिक हुन थालेका छन् । यसैक्रममा नियममा नै नभएको शुल्क लिएर इसेवाले गैरकानुनी धन्दा चलाईरहेको खुलासा भएको छ ।
नियम छैन, यसरी हुन्छ मनपरी शुल्क असुली
बुधबार अर्थसरोकार कर्मीले तिनकुने स्थित एक इसेवाको कस्टमर सेन्टरबाट ५००० रुपैयाँ इसेवा एकाउन्टमा ट्रान्सफर गर्दा कति पैसा लाग्छ भनेर सोधे । जवाफ आयो ५० रुपैयाँ । पुन : बानेश्वरमा रहेको इसेवाको अर्को कस्टमर केयर सेन्टरमा बुझ्दा उत्तर आयो, ‘१०० रुपैयाँ’ यो त झन् महँगो भयो भनी अनामनगरस्थित एक इसेवाको कस्टमर केयर सेन्टरमा बुझ्दा जवाफ आयो ‘२० रुपैयाँ। ‘ यसरी थरी थरी ठाउँमा इसेवाकै फरक फरक नियम छ । इसेवाका नाममा लुट्नेले लुटीरहेछन् ।
इसेवाको नियम भन्दै चर्को रकम असुली
इसेवाका कस्टमर केयर सेन्टरमा इसेवाको नियम भन्दै चर्को रकम असुली हुन थालेको छ । केहिदिन अघि कोटेश्वरका एक सेवाग्राही तीनकुने स्थित एक कम्युनिकेशन पसलमा आफ्नो साथीको इसेवा एकाउन्टमा रकम हाल्न गए । आफ्नो इसेवा एकाउन्ट नभएकाले इसेवाले आफ्नो कस्टमर केयर भनेर जनाएको पसलमा गएर उनले आफ्नो साथीको एकाउन्टमा ब्यालेन्स हालिदिए ।
तर उनी त्यतिबेला अचम्ममा परे जुनबेला ५००० रुपैयाँ एउटा इसेवा एकाउन्टबाट अर्को इसेवा एकाउन्टमा ट्रान्सफर गर्दा ५० रुपैयाँ काटियो । उनले तुरुन्त पसलमा रहेकी साहुनीलाई यसबारेमा सोद्धा उत्तर आयो, ‘इसेवाको नियम नै यहि हो ।’ उनलाई न ५० रुपैयाँ काटिएको कुनै बिल थमाइयो, न त ५० रुपैयाँ रेट भएको भन्ने स्पष्ट आधारनै दिइयो । उल्टै ‘के किचकिच गरिरहेको अघिनै सोध्नुपर्थ्यो नि !’ भन्ने जवाफ आयो ।
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘यो त हदसम्मको लुट हो । नेपाल टेलिकम र एनसेलमा ब्यालेन्स हाल्दा त केहि रुपैयाँ मात्र कमिसन पाउनेले इसेवा एकाउन्टमा ५००० हाल्दा ५० रुपैयाँ पर्नु ठुलो लुट हो।’
लाखौँको कर छल्दै, आन्तरिक राजस्व विभाग मौन :
इसेवाले उक्त पसलमा आफ्नो बोर्ड पनि राखेको छ । पसलका भित्ता भित्तामा इसेवाका प्रचार सामाग्रीहरु राखिएका छन् । पसलकी साहुनीले पनि ‘आफुहरु इसेवाको आधिकारीक कस्टमर सर्भिस प्रोभाईडर’ भएको दावी गर्छिन् । तर इसेवाबाट इसेवामै रकम ट्रान्सफर गर्दा कुनै बिल समेत दिइदैन । यदी उक्त रकमको हिस्सा इसेवाले पनि लिने हो भने ग्राहकलाइ बिल नदिंदा उसले कर छलेको देखिन्छ ।
यदी उक्त रकमको हिस्सा इसेवाले दिंदैन भने उ करछलीको मतियार भएको देखिन्छ । नेपालको आयकर ऐन २०५८ अनुसार कर छल्ने वा मतियारको रुपमा काम गर्ने दुबैलाई कारवाहीको व्यवस्था गरिएको छ । यसरी सरसर्ती हेर्दा पनि या त इसेवा आफैंले कर छलीरहेको छ अथवा कर छली गर्न अरुलाई उक्साईरहेको छ । यसरी प्रत्येक ग्राहकबाट यसरी अनाधिकृत रुपमा उठाइएको रकमबाट लाखौँ रुपैयाँ कर छली भइरहेको छ ।
के भन्छ इ सेवा ?
हामीले यसबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अस्कर अलीलाई सोधेका थियौं । उनले यस्तो भइरहेको स्वीकार्दै अब कुनै पनि पसलले लिने शुल्क इसेवाले नै दिनेगरी तयारी भइरहेको बताए । ‘कसैले पनि केहि फाइदा नभई त काम गर्दैन । अहिले पसलहरुले इसेवाको सेवा दिएवापत केहि शुल्क लिने गरेका छन्। जुन शुल्क अव इसेवाले नै दिने गरी ब्यबस्था मिलाउने तयारीमा हामी छौं । अहिलेचाहिं पसल संचालकहरुले शुल्क लिइरहनुभएको छ ।
इसेवा यसअघि पनि फुल-अडिटमा परिसकेको छ । सीइओ अलीले आफुहरु फुलअडिटमा परी क्लिन चिट पाइसकेको बताउँछन् भने इसेवाले राजनीतिक आढमा करछली प्रकरणबाट मुक्ति पाएको सरोकारवालाहरुले आरोप लगाएका छन् ।
इ-सेवाले गरिरहेको गैरकानुनी धन्दाबारे अख्तियार र आन्तरिक राजश्व विभागले पनि छानविन गर्नुपर्ने सरोकारवालाहरुको भनाइ छ ।
यो पनि पढ्नुहोस् :