×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानी गर्न तयार हुनुहोस्, आउँदैछ ६ कम्पनीको ६० करोड बढीको आइपीओ

PRIME CA
GLOBAL IME BANK

लगानी गर्न तयार हुनुहोस्, आउँदैछ ६ कम्पनीको ६० करोड बढीको आइपीओ

२२ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: < ३ मिनेट


काठमाण्डौ – चार करोडको आइपीओमा आवेदन माग्दा रमितलाग्दो लाइनका बीच २ अर्ब भन्दा बढीको आवेदन परेर सेयरको अचाक्ली माग रहेको कुरा प्रमाणित भइसकेको छ । नेपालमा पछिल्लो समय सेयरमा लगानी गर्नेहरुको संख्या ह्वात्तै बढेको छ, यही कारण समेत सानोतिनो आइपीओले सेयरप्रतिको यो अचाक्ली प्यास मेटाउन सकिरहेको छैन । तर, हातमा पैसा भएर पनि सेयरमा लगानी गर्न पाउनुभएको छैन भने चिन्ता नगर्नुहोस्, निकट भविष्यमै ५ जलविद्युत कम्पनी र एक माइक्रो फाइनान्सले ६० करोड भन्दा बढी मूल्यको सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्दैछन् । यी ६ कम्पनीको आइपीओ स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा विचाराधीन अवस्थामा रहेको छ । 
नेपाल धितोपत्र बोर्डका अनुसार ५ जलविद्युत कम्पनी र १ माइक्रो फाइनान्सले आइपीओका लागि निवेदन दिएका हुन् । यीमध्ये केहीको असोजभित्र आउने संभावना छ भने केहीको केही ढिला हुनेछ । 
बोर्डका अनुसार १ सय रुपैयाँ अंकित मूल्यका आइपीओका लागि अरुण काबेली पावर लिमीटेड,  आँखुखोला जलविद्युत कम्पनी लिमीटेड, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, छ्याङ्दी हाइड्रोपावर र समता माइक्रो फाइनान्सले दिएको आवेदन विचाराधीन अवस्थामा रहेको हो । यीमध्ये छ्याङ्दी र समता माइक्रो फाइनान्सले चाहि हालसालै मात्र आवेदन दिएका हुन्, अन्य कम्पनीको आइपीओको आवेदन निकै अगाडि बढिसकेको छ । 
२५ मेगावाट क्षमताको अरुण काबेली पावर लिमीटेडले ३० लाख कित्ता आइपीओ सर्वसाधारण र अरुण काबेलीका कर्मचारीका लागि जारी गर्नेछ । सिद्धार्थ क्यापिटल लिमीटेडले यो कम्पनीको आइपीओ निश्कासन तथा व्यवस्थापनमा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । यो कम्पनीको आइपीओ दशैंअगाडिसम्म आइसक्ने स्रोतले बताएको छ । 
हालै, अरुण काबेलीले १५ करोड मूल्यको १५ लाख कित्ता सेयरको प्राथमिक निश्कासन आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि गरेको थियो । ताप्लेजुङ र पाँचथरका केही गाविसका आयोजना प्रभावितहरु यो आइपीओबाट लाभान्वित भएका थिए । 
यसैगरी, ८.४ मेगावाटको आँखुखोला जलविद्युत कम्पनी लिमीटेड पनि निकट भविष्यमै ८ करोड आइपीओ जारी गर्दैछ । तर, यसको आइपीओ चाहि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि मात्र हो । सिभिल क्यापिटल मार्केट लिमीटेड यसको आइपीओको बिक्री प्रबन्धक रहेको छ । 
धितोपत्र बोर्डमा विचराधानी अवस्थामा रहेको आइपीओको स्वीकृति आएलगत्तै सर्वसाधारणमा जारी हुने बताइएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ जारी गरेपछि दोश्रो चरणमा सर्वसाधारणका लागि समेत यो कम्पनीले ठूलै मात्रामा आइपीओ जारी गर्नेछ । यो आयोजना धादिङमा अवस्थित छ । 
यस्तै, हिमालयन पावर पार्टनर लिमीटेडले पनि १० करोड ६५ लाख मूल्यको आइपीओ जारी गर्न लागेको छ । यो कम्पनीले पनि यो आइपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि हो । यसको आइपीओको निश्कासन तथा व्यवस्थापनका लागि ग्लोबल आइएमई क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । यो कम्पनीको आइपीओका लागि धितोपत्रबाट प्रतिक्रिया आइसकेको र अन्तिम स्वीकृति लगत्तै आइपीओको निश्कासनको प्रक्रिया सुरु हुने ग्लोबल आइएमई क्यापिटल लिमीटेडका एक कर्मचारीले जानकारी दिए । 
यो कम्पनीले पनि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ जारी गरेपछि दोश्रो चरणमा सर्वसाधारणका लागि समेत जारी गर्नेछ । 
हिमालयन पावर पार्टनर लिमीटेड २०६१ सालमा स्थापना भई जलविद्युतको क्षेत्रमा क्रियाशील कम्पनी हो । यो कम्पनी एनआरएनको लगानी भित्रिएपछि सन् २०१३ मा पब्लिक लिमीटेड कम्पनीको रुपान्तरण भएको थियो । यो कम्पनीले लमजुङमा अवस्थित २७ मेगावाटको दोर्दी खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।  
उता, नेपाल हाइड्रो डेभलपर लिमीटेडले समेत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ करोड ६० लाख मूल्यको आइपीओ जारी गर्न लागेको छ । एनएमबी क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्दैछ । धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति आउन बाँकी रहेका कारण संभवत दशैंअघि नै आवेदन गरिएको आइपीओ निश्कासनको काम सुरु हुनसक्नेछ । 
दोलखामा अवस्थित नेपाल हाइड्रो डेभलपर लिमीटेडले चर्नावती खोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्टबाट हाल ३.५२ मेगावाट बिजुली उत्पादन गरिरहेको छ । यो कम्पनीले लामो समयदेखि जलविद्युतको विकासको क्षेत्रमा काम गरिरहेको छ । 
यसैगरी, छ्याङ्दी हाइड्रोपावर लिमीटेडले निकट भविष्यमै ८ करोड १० लाख मूल्यको ८ लाख १० हजार कित्ता सेयरको प्राथमिक निश्कासन गर्दैछ । हालै यो कम्पनीले आइपीओ स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यो कम्पनीको आइपीओको निश्कासन र व्यवस्थापनमा ग्लोबल आइमएमई क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । सन् २००७ मा स्थापना भएको यो कम्पनीले लमजुङ जिल्लामा २ मेगावाटको छण्डी खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । 
यसैबीच, जलविद्युत कम्पनीहरुको बीचमा समता माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले पनि आइपीओका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । यो कम्पनीले ११ करोड ५० लाख मूल्यको ११ लाख ५० हजार कित्ता सेयरको प्राथमिक निश्कासनको स्वीकृतिको माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो । सर्वसाधारणका लागि जारी गर्न लागिएको आइपीओको बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड रहेको छ । यो कम्पनीले भदौ ५ गते बोर्डमा निवेदन दिएको हो । यो माइक्रो फाइनान्स बाराको सिमरामा अवस्थित कम्पनी हो । 
  • बिज़शाला डट कम 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: