![]() |
तस्विर : भुवन भण्डारी |
- अर्थ सरोकार सम्बाददाता
‘बाबा, बाबा महावीर पुन भन्ने मान्छे को हो ?’
‘उहाँ ठुलो मान्छे हो अहिले आविस्कार केन्द्र बनाउँदै हुनुहुन्छ । नयाँ – नयाँ कुराबारे अनुसन्धान गर्न’
उहाँसँग धेरै पैसा छ हो त्यो बनाउन ?’
‘होइन, उहाँलाई सहयोग गरिरहेका छन् धेरैले’
‘सहयोग गर्यो भने के हुन्छ ?’
‘नयाँ नयाँ कुरा आविस्कार गर्नलाइ साथ मिल्छ’
‘हामी पनि सहयोग गरौँ न । मेरो बर्थडेको दिन पारेर ‘
यो एउटा घरको सम्बाद हो । जुम्ल्याहा छोराहरुमध्ये उत्सवले आफ्नो बाबु कुमार भण्डारीसँग गरेको । कुमार भण्डारी र सरिता कार्की भण्डारीका दुइ छोरा उत्सव र उमङ्गले आफ्नो १०औं जन्मदिनको अवसरमा महावीर पुनलाइ आविस्कार केन्द्र बनाउन सहयोग गरेका छन् । त्यो पनि दशैंमा टिका लगाएर जम्मा परेको पैसा र आफुले पाएको छात्रवृति रकमबाट । बिहिबार यी दुइ जुम्ल्याहा भाइ ११औं बर्षमा टेक्दैछन् ।
उत्सव भण्डारीले केहि समय अगाडी स्कुलमा छात्रवृतिवापत केहि रकम पाएका थिए । हाल विद्या संस्कार (चेल्सी) मा कक्षा ५ मा अध्ययन गरिरहेका यी दुवै भाइले आफुले पाएको छात्रवृति रकम र दशैंमा टिका लगाएर जम्मा गरेको रकम कुल २० हजार २ सय २५ रुपैयाँ महावीर पुनलाइ हस्तान्तरण गरेका छन् ।
‘महावीर अंकल ठुलो मान्छे हो । उहाँले राम्रो काम गर्न थाल्नुभएको छ रे तर उहाँसँग पैसा छैन रे ! त्यहि भएर हामीले हामीसँग भएको पैसा उहाँलाइ दिएका हौँ । हामीजस्तैले दिने एक एक रुपैयाँले उहाँको सपना पूरा हुनेछ र त्यसले हामीलाई पनि निकै राम्रो गर्छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बिहिबार ११ वर्ष लागेका उत्सव भण्डारीले भने ।
अर्थ सरोकारसँगको कुराकानीमा अर्का भाइ उमङ्ग भण्डारी भन्छन्, ‘राम्रो काम गर्नलाई हामीले सहयोग गरेको हो महावीर अंकललाई । उहाँको काम सफल भएको दिन हामी पनि निकै खुसी हुनेछौं ।’
यता आफ्ना छोराहरुले राखेको सोचप्रति आफु निकै खुसी भएको बताउँछन् उत्सव र उमङ्गका बाबु कुमार भण्डारी । ‘यी साना केटाकेटीहरुले यतिसम्म सोच्छन् भन्ने लागेको थिएन । १० रुपैयाँका लागि रुने बच्चाहरु हुन्छन् । हाम्रा बाबुहरुले त आफुले जम्मा गरेको रकम समेत राम्रो कामका लागि खर्च गरे । सार्है खुसी लागेको छ ।’
‘छोराहरुको इक्षा देखेर म पनि सुरुमा अचम्ममा परेको थिएँ । निकै खुसी पनि भएको थिएँ।’ आमा सरिता कार्की भण्डारी अगाडी भन्छिन्, ‘महावीर पुनको अभियान सफल होस् भन्ने मेरो र हाम्रो परिवारको शुभकामना छ । ‘
विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्यसहित पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि संसारभर छरिएर रहेका नेपाली माझ सहयोग संकलन अभियानमा सक्रिय छन् ।