×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेलमै बसेर ‘फस्ट डिभिजन’मा पाँच विषयको एमए

GLOBAL IME BANK

जेलमै बसेर ‘फस्ट डिभिजन’मा पाँच विषयको एमए

२१ फाल्गुन २०७३, शनिबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौ – ‘१५ वर्ष जेल । पाँच लाख जरिबाना’, २३ बर्से ठिटोले यो सजाय सुनेपछि के सोच्ला ? ‘सक भएँ । तर मेरा लागि यो सामना गर्नुको विकल्प थिएन। माथिल्लो अदालतले न्याय दिन्छ भन्ने आशा बाँकी नै थियो’, टोलाइरहेका लक्ष्मण थापाले भने । अन्नपूर्ण पोस्टमा खबर छ ।
२०६७ सालमा काठमाडौं जिल्ला अदालतले लागूपदार्थ बेचबिखनको अभियोगमा फैसला गर्दा थापाले पुर्पक्षमै लगभग साढे चार वर्ष कारागार जीवन बिताइसकेका थिए । लागूपदार्थ बेचबिखनको आरोपमा बानेश्वरबाट पक्राउ परेका लक्ष्मणको उमेर त्यतिबेला १९ वर्ष मात्रै थियो । त्यसयता उनले जेलबाहिरको संसार देखेका छैनन् ।
बानेश्वरका लक्ष्मण हुनेखाने परिवारका एक्ला छोरा हुन् । ‘मेरो तनाव एकातिर थियो, बाबुआमाको अर्कातिर । एक्लो छोरो जेल पर्दा उहाँहरूलाई कस्तो लाग्यो होला, म अनुमान गर्न सक्थें । गाउँसमाजले के भन्छ होला, म सोच्न सक्थें’, नक्खु कारागारमा रहेका उनले भने, ‘बुबाआमा निकै चिन्तित हुनुहुन्थ्यो । जे भयोभयो भनेर सम्झाउनुहुन्थ्यो । यस्तो स्थितिमा पढ्नुपर्छ भनेर घरबाट दबाब आयो ।’ बाबुआमाले किन त्यसो गरे, उनले निकै पछि मात्र बुझे ।
उनी अहिले पढाइका ‘एडिक्ट’ बनेका छन् । जेलभित्र पढन्ते भनेर चिनिन्छन् उनी । जेलबाटै स्नातकदेखिको पढाइ अगाडि बढाएका लक्ष्मणले राजनीतिशास्त्र, इतिहास, ग्रामीण विकास र समाजशास्त्रमा स्नातकोत्तर गरिसकेका छन् । समाजशास्त्रमा शोधपत्र लेख्न बाँकी छ । यी सबै विषय उनले प्रथम श्रेणीमा नियमित पास गरेका हुन् ।
समाजशास्त्रमा शोधपत्रको अंकबाहेक उनले ५९ प्रतिशतभन्दा बढी अंक ल्याएका छन् । अहिले कल्चरमा स्नातकोत्तर दोस्रो वर्षको परीक्षा दिने तयारी गर्दैछन् । पहिलो वर्षमा ५९ प्रतिशत अंक ल्याए । मेजर इङ्लिस र पपुलेसनमा पनि स्नातकोत्तर भर्ना भइसकेका छन् उनी । ‘जेल आउनेबित्तिकै राजनीतिशास्त्र र इतिहासमा स्नातकमा भर्ना भएँ । त्यसपछि क्रमशः दुवै विषयमा स्नातकोत्तर गरें । त्यसपछि ग्रामीण विकास र समाजशास्त्रमा’, उनले भने । समाजशास्त्रमा थेसिस लेख्नैपर्ने भएकाले बाँकीमा भने उनले थेसिसको ‘अपसनल’ खोजे । पेपर नै दिए । उनलाई लाग्छ, जेल आएपछि पढ्न सिकें, पढाइभन्दा माथि धेरै कुरा बुझें ।
बानेश्वरमा जन्मेका लक्ष्मणले एसएलसीसम्म ६ वर्ष छात्रावास बसे । सुरुमा एलएलसीमा फेल भए । पछि दोस्रो श्रेणीमा पास भए । प्लस टुका लागि भीएस निकेतनमा भर्ना भए । यसबीचमा उनी कुलतमा फसे । चुरोट, गाँजासहितका लागूपदार्थसमेत सेवन गर्न थाले । यही कारण उनलाई परिवारले रिह्याबमा समेत राख्यो । उनी बीबीएका लागि भीएस निकेतनमै भर्ना भए ।
एक दिन कलेजकै साथीसाथीबीच कुटाकुट भयो । हतियारको पनि प्रयोग भयो । घटनालाई लिएर तीनकुने चौकीमा मुद्दा पर्‍यो । आफू पक्राउ पर्ने देखेपछि उनले अध्ययनका लागि लन्डन जाने तयारी गरे । अन्तर्वार्ताका लागि १० दिन बाँकी रहँदा प्रहरीले उनलाई पक्राउ गर्‍यो । लक्ष्मणलाई मीनभवनस्थित नापी विभागबाट एक सय तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको दाबी प्रहरीको थियो ।
‘लामो समय बोडर््स बसेकाले एसएसलीपछि म पिँजडाबाट फुत्किएको पक्षीजस्तै भएँ । उमेर र संगत पनि त्यस्तै थियो । लागूपदार्थका ग्राहक बढी कलेजकै विद्यार्थी थिए । कलेजमा झगडा परेको थियो । लन्डनमा अध्ययनका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको थिएँ । तर अचानक लागूपदार्थ बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको भन्दै ममाथि मुद्दा चलाइयो । म लागूपदार्थ सेवन गर्थें । तर लागूपदार्थ बिक्री गर्दै हिँड्नुपर्ने मेरो पारिवारिक अवस्था थिएन । मलाई कसले फसायो, अझै बुझ्नसकेको छैन । बाहिर जान लागेको व्यक्ति कसरी लागूपदार्थ बिक्री गर्दै हिँड्छ ? ‘ उनले केहीबेरको मौनतापछि भने ।
उनले लामो समय आस मारेनन् जबसम्म मुद्दा जिल्ला अदालतमै थियो । उनलाई लागेको थियो फिल्ममा जसरी उनले पनि अदालतमा न्यायाधीशसामु बयान दिन पाउनेछन् र फैसला हुनेछ । ‘तर मैले त पेसीबारे जानकारी नै नपाईकन फैसला भयो’, उनको गुनासो छ । ९९ ग्राम वा त्यसभन्दा कम ब्राउनसुगर बरामद भएको अवस्थामा उनलाई अधिकतम १० वर्ष जेल र ७५ हजार जरिबाना फैसला हुने थियो । उनले पुनरावेदनमा पनि मुद्दा हारे । सर्वोच्चमा ६ वर्षअघि गएको मुद्दामा भने फैसला हुन बाँकी छ ।
‘तर म जेल परिसकेको थिएँ । दिमागमा अनेक कुरा खेल्थे । उत्तिकै रिस पनि उठ्थ्यो । मैले आफूलाई शान्त बनाउनुको विकल्प थिएन’, उनले भने । अधिकतम समय पढ्न थाले । उनको ध्यान पढाइमा मात्र केन्द्रित हुन थाल्यो । उनकै शब्दमा ‘पढाइले ध्यान डाइभर्ट गर्‍यो । यसरी पढाइको एडिक्ट भएँ ।’ अचेल दैनिक औसत पाँच घन्टा पढ्ने गरेका छन् उनले । ‘त्यत्तिकै बस्दा दिमागमा अनेक कुरा खेल्नु स्वाभाविक थियो । त्यसैले पढ्न थालें । पढाइ थेरापीजस्तै भयो । वास्तवमा सुरुमा किन पढ्दै छु भन्ने पनि थाहा थिएन । तर पछि अरू काम पनि नहुँदा पढाइमै ध्यान केन्द्रित हुन थाल्यो’, लक्ष्मणले भने ।
लक्ष्मणलाई जेलभित्रै बसेर एउटै विषयमा स्नातकोत्तर गर्नु पनि सजिलो थिएन । तर उनलाई परिवारले निकै ठूलो सहयोग गर्‍यो । साथीभाइले पनि साथ दिए । त्रिभुवन विश्वविद्यालयका ‘लेक्चरर’ ले पनि साथ दिए । ‘कुन विषय पढ्ने भन्नेमा म सरहरूसँग कुरा गर्छु । केहीले जेलबाट फोन गरेको भनेर फरक व्यवहार पनि गर्छन्, त्यो थाहा भइहाल्छ ।
घरबाट किताब खोजिदिने, सन्दर्भ सामग्री खोजिदिने गर्नुहुन्छ । म आफैं पनि पुस्तक पसलको नम्बर पत्ता लगाएर आफूलाई चाहिने किताबबारे बुझ्छु । केही किताब भारतबाट पनि मगाएर पढेको छु । स्वअध्ययन गर्नुपर्ने भएकाले मैले जसरी पनि बुझ्नैपर्छ’, उनले थपे । धेरै विषयमा स्नातकोत्तर गर्नुको महत्वव उनले त्यति धेरै बुझेका छैनन् । तर पढेका विषयमा आफूलाई राम्रो ज्ञान भएको उनको दाबी छ । जेलभित्र बसेर एमफिल तथा विद्यावारिधि गर्न नमिल्ने भएकाले आफूले अगाडिको अध्ययन गर्न नसकेको बताउँछन् उनी ।
‘ऐननियममा त्यस्तै व्यवस्था होला । तर मैले जेलमा बस्नेमध्ये उदाहरण बन्न खोजेको हुँ । मैले आममानिसलाई सन्देश दिन खोजेको हुँ । जेलभित्रको पढाइले मानिसलाई सम्भावित नकारात्मक सोचाइ र तनावबाट मुक्त गराउँछ’, उनले थपे । उनले एमफिल तथा विद्यावारिधि गर्न पाऊँ भनेर अदालतमा पनि निवेदन दिएको तर कुनै निर्णय नआएको सुनाए । लागूपदार्थलगायत अन्य केही अपराधमा कैदीले तोकिएको कैद अवधि पूरा समय बस्नैपर्ने हुन्छ ।
पछिल्लो १२ वर्षमा धेरै कुरा परिवर्तन भयो । उनकै घर रहेको बानेश्वर एरियाले रूप फेरिसकेको छ । प्रविधिले पनि अप्रत्यासित छलाङ मार्‍यो ।
‘बाहिरको दुनियाँ कहाँ छ, थाहा छैन । मोबाइल, कम्प्युटर दियो भने चलाउन आउँदैन होला । २०६२ साल र अहिले धेरै फरक आइसकेको छ’, ३१ बर्से लक्ष्मणले भने ।
उनी रामेछाप, इलाम, सप्तरी र सेन्ट्रल जेलमा पनि बसेका छन् । इलाम र सप्तरीको जेल आफ्नै इच्छामा गएको उनले बताए । उनले भने, ‘बाहिर निस्कन नपाए पनि यी जेलको बसाइमा मैले धेरै कुरा सिक्न पाएँ । यसले रिफ्रेस बनायो ।’
करिब तीन वर्षपछि उनी जेलबाट छुट्नेछन् । जेलबाट छुटेपछिका चुनौती पनि उनले बुझेका छन् । ‘जेलमा हुँदासम्म त मैले समाजको कुरा सुन्नु र हेर्नुपरेको छैन । मान्छेहरूले मेरैसामु कुरा काट्लान्, कलंक हो भन्लान् । परिवारले पनि आश मारिसक्नुभएको थियो होला । पढेकाले छोराले काटेको नाक जोड्छ भन्ने आशा उहाँहरूको होला । मलाई विश्वास छ, समाजमा म रिकभर हुनेछु’, उनको विश्वास छ ।
उनले अचेल अभिभावकलाई भन्दा रहेछन्, ‘१४ वर्ष जेल बसेका केपी ओली त यो देशको प्रधानमन्त्री भएर वाहवाही कमाए भने मैले केही गर्न सक्दिनँ भन्ने कारण के छ ? ‘ अहिले उनलाई पढाइकै चिन्ता छ । फागुन २७ देखि सुरु हुने कल्चर विषयको स्नातकोत्तर दोस्रो वर्षको परीक्षा तयारीमा जुटिरहेका छन् उनी । उनले भने, ‘मेरो उद्देश्य पढेका सबै विषय प्रथम श्रेणीमा पास गर्ने हो । मलाई थाहा छैन म कहाँ पुग्छु तर म निकै सकारात्मक छु ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: