
काठमाडौं । कोरोनाभाइरसका कारण जारी भएको लकडाउनमा कयौँ व्यापारव्यवसाय चौपट भए पनि भारतको चर्चित बिस्कुट कम्पनी पारले–जीलाई भने रेकर्डतोड फाइदा भएको छ । लकडाउनका बेला कम्पनीले उत्पादन गर्ने बिस्कुटको बिक्रीमा व्यापक वृद्धि भएको छ । कम्पनीका अनुसार लकडाउनका क्रममा कम्पनीको उत्पादन बिक्री पछिल्लो ८ दशककै सबैभन्दा धेरै भएको छ । कम्पनीले कति परिमाण आफ्नो उत्पादन बिक्री भयो भनेर कुुनै पनि जानकारी प्रदान त गरेको छैन तर यो वर्षको मार्च, अप्रिल र मे महिना बिक्रीका हिसाबले बितेको ८० वर्ष कै सबैभन्दा उत्तम महिना भएको उल्लेख गरेको छ । पारले–जी सन् १९३८ देखि नै भारतीय उपभोक्ताका लागि लोकप्रिय ब्रान्ड बन्दै आइरहेको छ ।
भारतमा यसको मूल्य केवल ५ रुपैयाँमात्रै पर्ने भएकाले लकडाउनका बेला यस्को खपत ह्वात्तै बढ्न पुगेको छ । भारतका ठूला सहरबाट गाउँ फर्किरहेका प्रवासी मजदुरलाई यो बिस्कुट ठूलो मात्रामा बाँडिएको थियो । पारले प्रोडक्टका क्याटेगोरी प्रमुख मयंक साहका अनुसार कम्पनीको कुल मार्केट सेयरमा करिब ५ प्रतिशतको वृद्धि भएको छ र यसमध्ये ८० देखि ९० प्रतिशत वृद्धि पारले–जीको बिक्रीका कारण भएको हो । उनका अनुुसार लकडाउनका बेला भारतमा पारले–जी सुलभ र सस्तो खाद्य वस्तुका रुपमा रहेको थियो ।
कयौँ व्यक्तिका लागि यो बिस्कुटले लन्च, डिनर र नास्ताको काम गरिरहेको थियो । यसका साथै भारतका कयौँ परोपकारी संस्था, एनजीओ र आईएनजीओहरुले पनि आवश्यक परेकाहरुलाई आद्य सामग्रीका रुपमा पारले–जी बिस्कुट प्रदान गरेका थिए। यसका लागि उनीहरुले कम्पनीबाट सोझै अर्डर लिएका थिए । कम्पनीले २५ मार्चबाट निरन्तर रुपमा बिस्कुट उत्पादन गरिरहेको जनाएको छ। – एजेन्सी