- अर्थ सरकोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशैभरी गरिएको लकडाउनका कारण समस्यामा परेका व्यापारीहरु यतिबेला बाढी तथा डुबानको समस्यमाले थला परेका छन् । गएरातीदेखि परेको लगातारको वर्षाका कारण यतिबेला धनगढीको व्यापार चौपट बनेको छ ।
यतिबेला धनगढीका अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् । विगतकै वर्षदेखी रहँदै आएको डुबानको समस्याले यसपाली पनि धनगढीबासीलाई पिरोलेको छ । समयमै पानी निकासका लागि उचित पहल र व्यवस्थापन हुन नसक्दा बाढी तथा डुबानको समस्या यथावत रहेको स्थानिय विरभान चौधरीले बताए । उनले भने, ‘मैलै धनगढीमा व्यापार गर्न थालेको झण्डै ६ वर्ष भयो, प्रत्येकका वर्षमा यो समस्याले निकै चिन्तित बनाएको छ । वर्षायाममा त व्यापार घाटा स्वभाविकै हुन्थ्यो तर यसपाली त झनै ठुलो घाटा बेहोर्ने पक्का देखिएको छ ।’
मंगलबार रातीदेखि परेको वर्षाको प्रभाव धनगढी उपमहानगरपालिकाका अधिकांश ठाउँहरुमा परेको छ । लकडाउनमा ठप्प रहेको व्यापारमा केही आश पलाएको भएतापनि अहिलेको वर्षा र डुबानका कारण व्यापार चौपटै भएको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशालनगरमा व्यापार गर्दै आएकी निर्मला शाहीले बताईन् । ‘अत्याधिक वर्षा त्यसैमाथि पानिको निकास नहुँदा पसल नै डुबानमा परेको छ । कति समान त कामै नलाग्ने भएका छन्’, शाहीले भनिन् ।
विगतका वर्षहरुदेखी नै पानि निकासको योजना धनगढी उपमहानगरपालिकाको मुख्य एजेण्डाका रुपमा स्थापित भएको भएतापनि अझैसम्म उक्त समस्याको समाधानका लागि पहल भने भएको छैन । धनगढी उपमहानगरपालिकामा देखिएको डुबानको समस्याले धनगढी स्मार्ट सिटी सपनालाई चुनौती दिएको छ ।