
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले गलत वित्तीय विवरण सार्वजनिक गरेको खुलासा भएको छ । इन्स्योरेन्सले आर्थिक बर्ष २०७६-७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा प्रति सेयर आम्दानी नै गलत देखाएको खुलासा भएको हो । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको र्पति सेयर आम्दानी १६ रुपैयाँ ९२ पैसा छ । तर कम्पनीको चुक्ता पूँजी र कम्पनीको खुद नाफालाई हिसाब गर्दा कम्पनीको प्रति सेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा मात्र हुन आउँछ । अर्थात कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा ४ रुपैयाँ २२ पैसाको हिसाब गडबढ देखिएको छ । कम्पनीले ४ रुपैयाँ २२ पैसा धेरै प्रति सेयर आम्दानी देखाएर जनता झुक्याएको तथ्य प्रमाणित भएको छ।
नपत्याए फेरी एक पटक हिसाब गरौँ :
कम्पनीको चुक्ता पूँजी ३ अर्व ८ करोड रुपैयाँ छ ।
कम्पनीको खुद नाफा ३९ करोड १२ लाख रुपैयाँ छ ।

यसरी हिसाब गर्दा कम्पनीको प्रति सेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा हुन आउँछ । तर कम्पनीले आफ्नो वित्तीय विवरणमा प्रति सेयर आम्दानी १६ रुपैयाँ ९२ पैसा भनी प्रकाशित गरेको छ । जुन सरासर गलत छ । यसो त केहि समय अगाडी गलत विवरण छापेको कम्पनीले झन्डै महिना दिन बित्दा पनि आफ्नो गल्ती सच्याएको छैन । यसले पनि कम्पनीको नियतमाथि गम्भीर प्रश्न उठेको छ ।
यसअघि पनि विभिन्न कम्पनीको प्रतिसेयर आम्दानीको हिसाब गडबड आएको देखिएको थियो । पछि यस विषयमा समाचार बाहिरिएपछि कतिपय कम्पनीहरुले आफ्नो गल्ती सच्याएका पनि छन् । नेशनल लाइफ इन्स्योरेन्सले पनि आफ्नो गल्ती सच्याउनुपर्ने देखिएको छ ।
यस विषयमा बुझ्न हामीले कम्पनीका फाइनान्स विभागका प्रमुख प्रज्वल सायामीलाई सम्पर्क गरेका थियौं । तर लगातार ३ पटक फोन गर्दा पनि उनले फोन उठाएनन् ।
अपडेट :
केहि समयपछी उनी सम्पर्कमा आए । उनले विवरणमा गल्ती भएको स्वीकार्दै त्यसलाई सच्याउने प्रतिबद्धतासमेत जनाएका छन् ।’तर यति धेरै दिन बित्दा पनि उक्त गल्ती किन सच्याईएन?’ हाम्रो प्रश्नमा उनले यसको दोष कोभिडलाई दिए । ‘कोभिडका कारण हामीले गल्ती सच्याउन पाएनौं ।’ उनले भने । ‘तर पत्रपत्रिका प्रकाशित भइरहेकै छन्, भुलबस् गल्ती भएको भए किन नसच्याएको ?’ हाम्रो प्रश्नमा उनले भने, ‘हामी सच्याउँछौं । भोलि नै प्रक्रिया थाल्छौं’