Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकद्वारा कात्तिक महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक, कस्तो छ आयात निर्यातको अवस्था ?

अर्थ सरोकार

काठमाडौँ । चालु आर्थिक वर्षको चौथो महिनामा (कात्तिक) मा मात्र एक खर्ब ७१ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको कात्तिक महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा नेपालमा एक खर्ब ७१ अर्ब ७७ करोड रुपैयाँ बराबरको आयात हुँदा नेपालबाट भने १६ अर्ब ६२ करोड रुपैयाँ बराबरको वस्तु मात्र निर्यात भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु आयात ६१.६ प्रतिशतले वृद्धि भई ६५० अर्ब २९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात १०.६ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा वस्तु निर्यात १०४.३ प्रतिशतले वृद्धि भई ८२ अर्ब १२ करोड रुपैयाँ पुगेको  जनाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो ।
निर्यात गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकमा क्रमशः १४०.२ प्रतिशत, ७.३ प्रतिशत र २३.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, तार, जस्तापाता, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।
भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६.१ प्रतिशत, ५६.९ प्रतिशत र ११७.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु व्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भई रु.५६८ अर्ब १७ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले घटेको थियो । वैदेशिक व्यापार (चार महिना) निर्यात आयात अनुपात १२.६ प्रतिशत पुगेको छ । गत आवको वर्षको सोही अवधिमा यस्तो अनुपात १०.० प्रतिशत रहेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK