काठमाडौं । आज शुक्रबार ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार ज्योति विकास बैंक, एनएमबि लघुवित्त र सूर्या लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन गरेको हो । यी ३ वटै कम्पनीले सभा तथा लाभांश प्रयोजनको लागि आज पुस ९ गते बुक क्लोज गरेका छन् ।
ज्योतिको सेयर मूल्य समायोजनपछिको भाउ ४०३ रुपैयाँ १५ पैसा निर्धारण भएको छ । बैंकको ११% बोनस सेयरमा मूल्य समायोजन भएको हो । यसले गत आर्थिक वर्षको नाफाबाट ११% बोनस सेयर र ४.५% नगद लाभांश वितरण गर्दैछ ।
यस्तै एनएमबि लघुवित्तको सेयर मूल्य समायोजनपछिको भाउ नेप्सेले १ हजार ५३ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ । कम्पनीको २१.५०% बोनस सेयरपछिको भाउ समायोजन भएको हो । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २१.५०% बोनस सेयर र कर प्रयोजनका लागि १.१३% नगद लाभांश वितरण गर्दैछ ।
यता सूर्या लाइफको बोनस सेयर समायोजनपछिको भाउ ६ सय ३८ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको १२.७०% बोनस सेयरमा मूल्य समायोजन गरेको हो । यस कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १२.७% बोनस सेयर र कर तिर्न ०.६७% नगद गरी कुल १३.३७% लाभांश वितरण गर्दैछ ।