काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित पुस १९ गते वार्षिक साधारणसभा डाकेको छ । सभा होटल पैवा, सिद्धार्थनगर रुपन्देहीमा दिउँसने २ बजे सुरु हुने भएको हो । कम्पनीले सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १७% बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव गर्ने भएको छ ।
यस्तै सभामार्फत सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन हुनेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । साथै अन्य लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइनेछ ।
सभाका लागि मनकामना स्मार्टले पुस ४ गतेदेखि बुक क्लोज गर्नेछ । जसअनुसार पुस ३ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।