काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आईएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सलाई हकप्रद निष्कासनको अनुमति दिएको छ । बुधबार बोर्डका संचालक समिति सदस्य शोभाकान्त पौडेलको अध्यक्षता बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बोर्ड अध्यक्ष नहुँदा सदस्यहरु मध्ये एक जनाले बोर्ड बैठकको अध्यक्षता गर्ने व्यवस्था अनुसार अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गरेका पौडेलले नै हाल बोर्ड बैठकको अध्यक्षता गर्दै आएका छन् । आईएमई जनरल इन्स्योरेन्सले १०:४ को अनुपातमा ४० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको हो भने शिखरले १०:३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति पाएको हो ।
अब आईएमईले ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । हकप्रद सेयर जारीको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले भदौ १७ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
यस्तै शिखरले जेठ २५ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।