×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुर्खयौली पेसा आरनबाटै मासिक लाख कमाउँदै गलकोटका विश्कर्मा परिवार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पुर्खयौली पेसा आरनबाटै मासिक लाख कमाउँदै गलकोटका विश्कर्मा परिवार

२९ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

बागलुङ । नेपालमा पछिल्लो समय आरन व्यवसाय धरासायी बन्दै गइरहेको पाइन्छ । आरन व्यवसायबाट गुजरा चल्न छाडेपछि विभिन्न पेसा व्यवसाय अगाल्नेको लर्कोनै लागेको समयमा बागलुङको बिहुँ घर भई गलकोट नगरपालिकाको केन्द्र हटिया बजारमा आरन व्यवसाय गर्दै आएका विश्कर्मा परिवारका तीन भाइ भने यही पेसाबाटै सन्तुष्ट भएका छन् ।
भाइ–भाइबीच रिसराग हुने नेपाली समाजमा यहाँ तीन भाइले एकै स्थानबाट १२ वर्षदेखि आरन पेसालाई व्यवसायिक बनाएका छन् । काठेखोला गाउँपालिका–५ बिहुँ घर भई १२ वर्षदेखि तीन भाइले हटिया बजारमा तामाका भाँडाकुडा र बजारका सामग्री बनाउँदै आएका छन् । जेठो भाइ देवीलाल विश्वकर्मा, माइलो कृष्ण विश्वकर्मा र कान्छो रामबहादुर विश्वकर्माले संयुक्त रुपमा हटिया बजारमा बिहुँ आरन सेवाका नामले आफ्नो व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् ।
उनीहरुले आफ्नो पुख्र्यौली पेसा व्यवसाय धान्दै आएका मात्रै छैनन्, संयुक्त रुपमा मासिक एक लाख भन्दा बढी आम्दानीसमेत गर्दै आएका छन् । सुरुमा पुख्यांैली पेसालाई विश्वास नगरेका उनीहरु विदेशको दुःखले खारिएको बताउँछन् । पुख्यौली पेसा छोडेर १२ वर्षअघि विदेश गएका तीन भाइ त्यहाँबाट फर्केर तामाको भाँडाकुडा निर्माण र बाजाका सामग्री बनाउन थालेका हुन् । उनीहरुले उत्पादन गरेको तामाका सामग्रीलाई बजारको अभाव भने छैन । जेठो भाइ देवीलाल विश्वकर्मा चार वर्ष मलेसिया, माइलो कृष्ण विश्वकर्मा सात वर्ष मलेसिया र कान्छो रामबहादुर विश्वकर्मा ६ वर्ष साउदीमा बिताएका थिए ।
सात वर्ष मलेसियामा दुःख गरेपनी भनेजस्तो राम्रो कमाइ नभएपछि फर्केर गलकोटको हटिया बजारमा आरन सञ्चालनमा ल्याएको माइलो भाइ कृष्णले जानकारी दिनुभयो । “विदेशमा केही हुन्छ की भनेर गइयो, आखिर दुःखनै रैछ, त्यसैले पुख्र्यौली पेसा जोगाउँदै आरन व्यवसाय गर्ने निधोका साथ हटिया बजार झरेका थियौं”, उहाँले भन्नुभयो, “आरन व्यवसायसमेत परिवर्तन भएको छ, अहिले हामीले फलामका भाँडाकुडा र औँजार बनाउनै भ्याइन छोड्यौँ, अहिले हामीले तामाका भाँडा त्यो पनि सजावटका सामग्री, फिल्टर, जग, नौमती बाजा बनाउन थालेका छौं ।”
विश्वकर्माले पछिल्लो समय आरनमा फलामको भाँडा बनाउने समयनै नभएको बताउनुभयो । उहाँले हटिया बजारका घरमा सजाउनका लागि सर्वाधिक रुपमा कलश (हत्तर) को माग बढेकाले बढी त्यही निर्माण गर्ने कार्यमा जुटेको उहाँको भनाइ छ । विदेशमा गरेको दुःख भन्दा आफ्नै पेसालाई थप आधुनिकतासहित परिमार्जन गरेर अगाल्नका लागि स्वदेशमा फर्केको उनीहरुले बताउभयो । तामाको भाँडा बनाएरै रमाएका उनीहरुले मासिक एक लाख बढी कमाइ भएको बताउँछन् ।
तामाको भाँडामा पानी खाने प्रचलन भएको बताउँदै तामाको भाँडाको अत्याधिक माग रहेकाले अहिले त्यतै आफ्नो आरन व्यवसाय केन्द्रित भएको अर्का भाइ रामबहादुर विश्कर्माले बताउनुभयो । आरनमा तीन भाइ मिलेर काम गर्ने र भएको आम्दानी महिनादिनमा बाड्ने गरेको उहाँले बताउनुभयो । “अहिले ठूला गाउँरो विगारेर जग बनाउने प्रचलन छ, मानिसले आधुनिक सजावटका भाँडा खोजेको पाइयो, हामीले व्यवसायलाई त्यसै अनुरुप परिमार्जन गर्दै आयौं”, उहाँले भन्नुभयो, “कोइला बढी खपत हुने र आम्दानी कम हुने भएकाले फलाम छोडेर तामाका भाँडा बनाउन लागेका हौँ, विदेशमा गरेको दुःखभन्दा यही सन्तुष्ट छौं, आरनबाटै कमाएको रकमले छोराछोरी पढाएर, बिहेदान गरियो, यसैलाई सन्तुष्टी मान्दै आएका छौं ।”
तामाका भाँडा बाहेक कर्नाल, सनाईलगायत बाजाका सामग्री र फिल्टरसमेत आफूहरुले बनाउँदै आएको जेठो भाइ देवीलाल विश्वकर्माले बताउनुभयो । पुख्र्यौली पेसा धान्दै तीन भाइले मासिक एक लाख आम्दानी गर्न सफल भएकोमा उनीहरु सन्तुष्ट देखिन्छन् । गलकोटको हटिया बजार विस्तार भइरहेको सन्दर्भमा उनीहरुले आरनमा बनाएको तामाको भाँडा गलकोटेको रोजाइँ बन्दै आएको छ । आफ्नो पुख्र्यौली सीप र पेशालाई सम्मानपूर्वक अङ्गालेका उनीहरुलाई आरन व्यवसायबाटै सबैतिर चिनिन सफल भएका पनि छन् । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: