शुक्लाफाँटा । शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका पल्टु चौधरी आफूले उत्पादन गरेको माछाका भुरा बजारमा बिक्री नहुँदा समस्यामा पर्नुभएको छ । कोरोनाको सङ्क्रमणका कारण ह्याचरीमा उत्पादन भएका भुरा बिक्री नहुँदा उहाँले घाटा व्यहोर्नुभएको हो । प्रतिवर्ष रु २५ लाखदेखि रु ३० लाखसम्मका विभिन्न जातका झण्डै तीन करोड माछाका भुरा बिक्री हुँदै आएका थिए । कोरोनाको सङ्क्रमणपछि भएको बन्दाबन्दीका कारण उहाँले थोरै मात्र माछाका भुरा बिक्री गर्न सकेका हुन् ।
“कोरोनाको सङ्क्रमणपछि भुरा खरिद गर्ने ग्राहक थोरै आउदा रु सात लाख जतिको भुरा मात्रै बिक्री गर्न सके”, उहाँले भन्नुभयो, “उत्पादन गरेका भुरा बिक्री नहुँदा पोखरीमा थन्क्याउनुपयो । बिक्री नै भएनन् । पोखरीमा अधिक माछा हुँदा फस्टाउन नसक्दा निकै घाटा लागेको छ ।” हाल कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि ग्राहक आउन थालेको उहाँले बताउनुभयो । “भुरा खरिद गर्ने ग्राहक आउन थालेका छन्”, उहाँले भन्नुभयो, “पहिला जस्तो सङ्ख्यामा छैनन् । थोरै छन् । पहिला जस्तै भुराको कारोबार हुनेमा आशावादी भएका छौँ ।” ठूलो सङ्ख्यामा कमन, ग्रास, सिल्भर, विगेट, रहु, नैनी, भ्याकुर र सुधारिएका जातका माछाका भुरा उत्पादन गर्ने व्यवसायीका रुपमा जिल्लामै पल्टु परिचित रहेका छन ।
ह्याचरीमा उत्पादन भएका माछाका भुरा सुदूरपश्चिमका सात वटा जिल्लासहित बर्दियासम्म बिक्री हुने गरेका छन् । माछापालकले ह्याचरीमै पुगेर माछाका भुरा खरिद गरी लग्ने गरेका छन् । “पहिला कोरोनाको सङ्क्रमण फैलिनुअघि २०० देखि ३०० बढी माछापालकले ह्चारीमा उत्पादित भुरा लैजाने गरेका थिए”, उहाँले भन्नुभयो, “हाल माछाका भुरा खरिद गर्ने पहिलेको तुलनामा आधाभन्दा पनि कम छन् ।” कोरोना सङ्क्रमण अघिसम्म माछापालकको सङ्ख्या ह्वातै बढेकोमा हाल त्यो सङ्ख्या घटदै गएको छ । दुई बिघा १० कठ्ठा जग्गा आफ्नै स्वामित्वको र पाँच बिघा अरुको जग्गा भाडामा लिएर उहाँले ह्याचरी सञ्चालन गर्नुभएको हो ।
सो जग्गामा उहाँले १७ पोखरी निर्माण गरी माछापालनको कार्य गर्दै आएका छ । जनज्योति मध्यवर्ती सामुदायिक वनको स्वामित्वमा रहेको प्राकृतिक ताल वार्षिक रु ३५ हजार भाडा तिर्ने गरी भाडामा लिएर उहाँले माछापालन गर्नुभएको हो । सुदूरपश्चिम प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा चौधरीले माछा स्रोत केन्द्र स्थापनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणको कार्यलाई अगाडि बढाएका छन् । प्रदेश सरकारबाट उपलब्ध रु १० लाख अनुदानमा रु १० लाख थपेर चौधरीले स्रोत केन्द्र स्थापना गर्न लागेका हुन् । स्रोत केन्द्र स्थापना भएपछि माछाका विभिन्न प्रजातिका भुरा उत्पादनसँगै माछासँग सम्बन्धित अनुसन्धानका कार्य गर्न सहज हुने उहाँले बताउनुभयो । विसं २०५७ देखि कृषक चौधरीले निरन्तर रुपमा ह्याचरी सञ्चालन गरी माछाका भुरा उत्पादन गर्दै आउनुभएको छ । उहाँले माछाको नश्ल सुधार, माछापालनसम्बन्धी तालिम समेत लिनुभएको छ ।
सुरुमा एउटै पोखरीमा माछापालनको कार्य थालेका उहाँले भारतीय व्यापारीले माछाका भुरा बेचेर मनग्य आम्दानी गरेको देखेपछि भारतीयको माछाका भुरा उत्पादन गर्ने ह्याचरी अवलोकन पश्चात जग्गा बैंकमा धितो राखेर ह्याचरी सञ्चालन गर्नुभएको हो । ह्याचरी सञ्चालन गरी माछाका भुरा उत्पादन गर्ने उहाँ यस क्षेत्रकै सफल किसानका रुपमा चिनिनुहुन्छ । उहाँको फिस ह्याचरीमा स्पोनिङ टयङ्क एक, इंकुभेशन टयाङ्क चार र होल्डिङ टयाङ्क १५ छन् । माछाका माउ पाल्नका लागि कृषक चौधरीले सात पोखरी बनाउनुभएको । ह्याचरीमा मजदुरसँगै चौधरी दम्पतिसँगै छोराले पनि साथ दिने गरेका छन् । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्