×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आलुबाट तेब्बर आयआर्जन गर्दै डडेल्धुराका किसान

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आलुबाट तेब्बर आयआर्जन गर्दै डडेल्धुराका किसान

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

डडेल्धुरा । ‘फाँट र साथ दिनुस्, आलु र आम्दानी लिनुस्’ नारामा समाहित हुँदै डडेल्धुरा जिल्लाका किसानले गहुँ छोडेर आलु लगाउन थालेपछि उत्पादन तेब्बर बढीले वृद्धि भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गहुँ लगाएर पर्याप्त उत्पादन नहुने किसानका लागि आलु सुपर जोन कार्यक्रममार्फत् तेब्बर उत्पादन दिलाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका किसान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट लाभान्वित भएका छन् ।
अजयमेरु गाउँपालिका–३ नौलाकोटका किसान करुणाकर पनेरुले गहँु मासेर मनग्य आम्दानी हुने आलु लगाउनुभएको छ । गहुँभन्दा आलु बढी उत्पादन हुने, नभएमा परियोजनाको जिल्ला व्यवस्थापन एकाइले क्षतिपूर्ति दिने सहमति भएपछि छरेको गहुँ उखेलेर भैँसीलाई खुवाइ किसान आलुखेतीमा आकर्षित भएका हुन् ।
यसरी लगाइएको आलु जङ्गली जनावरले खान थालेपछि परियोजनाको आर्थिक सहयोगमा नौलाकोटको आलु लगाएको एक हजार ४०० मिटर क्षेत्रफललाई तारबारले घेरिएको छ । नौलाकोट कृषक समूहका सचिव भोजराज पनेरु आफू आलु सुपर जोन समन्वय समितिको सदस्य निर्वाचित भएपछि कार्यालयमा गएर आलुखेतीमा लाग्ने भन्दै सहयोग माग गरेको सुनाउनुहुन्छ । नवदुर्गा, गन्यापधुरालगायत गाउँपालिकामा गएर कृषिसमूहमार्फत् भएका खालुखेतीको अध्ययनसमेत गरेको उहाँले सुनाउनुभयो ।
नौलाकोटमा ६ हेक्टर जमिनमा १२० क्विन्टल आलु लगाइएको छ । तारबार भत्किएको स्थानमा बँदेलले चारपटकसम्म छिरेर आलु खाएर दुःख दिएको किसानको गुनासो छ । आलुखेतीका लागि किसानलाई सिँचाइको समेत राम्रो सुविधा हुन सकेको छैन । सुपर जोनसँग सिञ्चाइ सुविधाका लागि किसानले माग गरिरहेका छन् । पोखरीमात्र निर्माण गर्ने स्रोत जुटाउनसके पनि पाइपबाट आलुखेती गरिएको स्थानमा सिँचाइ गर्न सकिने भन्दै किसानले सहयोग माग गरिरहेका हुन् ।
सिँचाइ सुविधा पु¥याउनसके असोज र माघमा गरी दुईपटक आलु लगाउन सकिन्छ । असोजमा लगाएको आलु पुसमा र माघमा लगाएको आलु वैशाखमा तयार हुन्छ । वैशाखमा आलु निकालेपछि किसानले धान रोप्छन् । एक कठ्ठामा गहुँबाट रु ५०० मात्र आयआर्जन गरेका किसानले आलुबाट भने रु १० हजारसम्म आम्दानी गरेका छन् ।
परियोजना व्यवस्थापन एकाइ डडेल्धुराका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत खेमराज जोशी आर्थिक वर्ष २०७५/७६ देखि जिल्लालाई आलु सुपर जोनका रुपमा विकास गरी धेरै किसानलाई आलुखेती गर्न प्रोत्साहित गर्दै आएको बताउनुहुन्छ । डडेल्धुरालाई आलु सुपरजोनका रुपमा विकास गरी उत्पादनमा वृद्धि गरेपछि आलुको व्यावसायिक उत्पादन हुन थालेको हो । सुपर जोन कार्यक्रमले आलु उत्पादकत्व तथा क्षेत्रफल वृद्धिमा उल्लेखनीय प्रगति भएको छ ।
जिल्लाका सात पालिकाकाका प्रत्येक वडामा धेरथोर आलुखेती गरिरहेको तथ्याङ्क परियोजनासँग छ । किसानलाई आलुखेतीका बारेमा जानकारी गराएर प्राविधि सहयोगसमेत दिन वरिष्ठ कृषि विकास अधिकृत जोशीको नेतृत्वमा प्राविधिक टोली बिहान, बेलुका नभनी गाउँगाउँ डुल्ने गरेकाले पनि उल्लेखनीय प्रगति भएको हो । परियोजनाको डडेल्धुरा व्यवस्थापन एकाइले फरक सोच राखेर काम गरेकाले नै जिल्लामा कार्यक्रम सफल भएको हो ।
गहुँबाट आलुखेतीमा जान चाहनेका लागि क्षतिपूर्ति दिनेसहितका योजना परियोजना व्यवस्थापन एकाइ डडेल्धुराले अघि सारेको छ । सरकारका अन्य निकायभन्दा यो परियोजना फरक तरिकाले सञ्चालन भइरहेको छ । उत्पादन बढेसँगै भारतबाट भित्रिने आलु चुनौतीको विषय बनेको छ । विदेशका सामान आयात गर्ने नीति परिवर्नन गरी परियोजनाले नेपालको उत्पादन बढ्ने नीतिगत व्यवस्था गर्ने गरी व्यवस्था गर्न सम्बन्धित सरकारी पक्षसँग माग गरेको छ ।
अमरगढी नगरपालिका–३ डोटीघटालमा गत आर्थिक वर्षमा आलुखेतीका लागि स्थानीयसवासीलाई परियोजनाले अनुदान सहयोग गरेको थियो । यस वर्ष सहयोग नगरे पनि दिगो व्यवसायीकरणको नमूनास्वरुप आलुखेती निरन्तर रहेको परियोजना प्रमुख जोशीले बताउनुभयो । चक्लाबन्दीमा आलुखेती भएको यसस्थलमा बेमौसमी बाढीले कुलोको बाँध भत्काउँदा सिंचाइमा समस्या भएको छ । डोटीघटाल क्षेत्रमा पनि यस वर्ष जङ्गली जनावरले आलुखेती नष्ट गर्न थालेको छ ।
नेपाल प्रहरीको हवल्दार पदबाट सेवा निवृत्त हुनुभएका स्थानीय टेकबहादुर ऐर सुरक्षाकर्मीका रुपमा विभिन्न कम्पनीमा काम गर्न थाल्नुभएको थियो । पर्याप्त जग्गा हुँदाहुँदै किन अरुको काम गर्ने भनी अहिले आलुखेती गरेर अरुको काम गरेभन्दा बढी आयआर्जन गर्न सकिएको उहाँले सुनाउनुभयो ।
डोटीघटाल क्षेत्रको ४०० हेक्टर जमिनलाई तारबारले घेरेर बँदेल, बाँदरलगायत जङ्गली जनावरबाट बचाउनसके आयआर्जनमा कमी नहुने स्थानीय पीडितको भनाइ छ । पहिले १० किलो आलु किन्ने गरेकामा अहिले २०० क्विन्टल आलु बेच्न थालेको ऐरको भनाइ छ ।
परियोजनाले अमरगढी नगरपालिका–४ मा सिंचाइ सुविधा पु¥याएको छ । परियोजनाको ५० प्रतिशत अनुदानमा सिंचाइ सुविध पुगेको कालसैनी महिला कृषक समूहका अध्यक्ष वसन्ती भण्डारीले जानकारी दिनुभयो । शाखा पोखरी हुँदै आलुमा सिंचाइ गरिने उहाँले सुनाउनुभयो । जिल्लामा आलुखेती बढ्न थालेपछि अमरगढी नगरपालिका–१ दहमा परियोजनाको ५० प्रतिशत र स्थानीय समुदायको ५० प्रतिशत खर्चमा शीतभण्डार निर्माण भएको छ । निर्माणपछि किसानले उत्पादन गरेको आलु र बीउलाई सुरक्षित राख्न सहयोग पुगेको छ ।
आलुसँगै जिल्लामा आव २०७६/७७ देखि भटमास जोनका रुपमा समेत काम भइरहेको छ । भटमासका लागि प्रसिद्ध डडेल्धुरामा उत्पादन भएको भटमासबाट तेल पेल्ने काराखाना निर्माणमासमेत परियोजनाले ५० प्रतिशत अनुदान सहयोग गरेको छ । डडेल्धुराका पाखामा पनि पर्याप्त भटमास उत्पादन हुन्छ ।
परियोजनका सूचना अधिकारी हिक्मतकुमार श्रेष्ठ नेपाली सोच, बजेट र जनशक्तिका भरमा आव २०७३/७४ देखि कार्यक्रम सुरु भएको बताउनुहन्छ । खाद्यान्नमा नेपाललाई आयात गर्नुनपर्ने गरी आत्मनिर्भर बनाउने परियोजनाको लक्ष्य रहेको उहाँले सुनाउनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: