×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भेटिवरको खेतीबाट आर्थिक सङ्कट निवारण गर्न सकिने, नदी नियन्त्रण तथा पहिरोको जोखिम व्यवस्थापन गर्न सहयोग

GLOBAL IME BANK
SHREE KESH

भेटिवरको खेतीबाट आर्थिक सङ्कट निवारण गर्न सकिने, नदी नियन्त्रण तथा पहिरोको जोखिम व्यवस्थापन गर्न सहयोग

९ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । बगरमा परिणत भएको र अन्य कारणले प्रयोगविहीन जग्गालाई भेटिवरको सहयोगमा सदुपयोग गर्दा कृषिमा देखिएको व्यापार घाटाको समस्या हुने सुझाव दिइएको छ । कृषि अनुसन्धाता श्याम गोयन्काले जडिबुटी, उच्च मूल्यका कृषि उपज, इन्धन, जैविक मल, फलफूल, तरकारी, गेडागुडी, चिनी, कागज र दुग्ध उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थमा आत्मनिर्भर हुनाका साथै आवश्यकताभन्दा बढी भएको उत्पादनलाई निर्यात गरेर वैदेशिक मुद्रासमेत आर्जन गर्न सकिने उपाय सुझाएका छन् ।

जुनसुकै हावापानी र जस्तोसुकै जमिनमा पनि उम्रन सक्ने क्षमता भएको भेटिवर झट्ट हेर्दा कुशजस्तो देखिने घाँस हो जसको वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स हो । यसलाई खस खस भनेर पनि चिनिन्छ । बाह्रै महिना उम्रिने यो गुच्छेदार घाँस साढे एक मिटर (पाँच फिट) सम्म अग्लो हुने र यसका पात उखुको जस्तो तर अलि साँघुरो हुन्छ । यसको डाँठ भने सिधा र कडा हुन्छ । यसका टुप्पामा ससाना खैरो प्याजी रङका फूल फुल्छन् । तारजालीजस्तै फैलिने यसको महत्त्वपूर्ण भाग जरा जमिनमुनि तीन मिटर (१० फिट) भन्दा बढी तलसम्म पुग्छ भने जमिनमाथि लगभग पाँच फिट उचाइसम्म जान्छ । यो ठूलो चमत्कारिक बिरुवा हो । यसको जरा सुगन्धित हुन्छ । अम्लीय र क्षारीय दुवै खाले गुण भएको माटामा घाँस सजिलै उमार्न सकिन्छ । निकै छिटो बढ्न सक्ने यसको अर्को महत्वपूर्ण पक्ष हो । मलेसियामा गरिएको अनुसन्धानले यो घाँस प्रतिदिन पाँच सेन्टिमिटरका दरले ६० दिनभन्दा बढी समय बढ्ने गरेको पाइएको छ । हुर्किएको ६ महिनामा नै यसको जरा फैलिएर बिग्रिएको पानीको बहावसँगै बग्न लागेको माटो निकै कडाइका साथ एक आपसमा जोडेर राख्ने गर्छ ।

बाढीपहिरो र नदीको भेलका कारण नेपालमा बर्सेनि ठूलो परिमाणमा खेतीयोग्य जग्गा बगरमा परिणत भएर हाल करिब रु. पाँच लाख हेक्टर जग्गा प्रयोगविहीन अवस्थामा रहेको जनाउँदै सञ्चारकर्मीसमेत रहेका गोयन्काले खेतीयोग्य जग्गा न्यून हुँदै गएको र उत्पादन पनि कम हुँदै गर्दा पोषणयुक्त खाद्यान्न र खाद्य असुरक्षाको ठूलो जोखिममा विस्तारै धकेलिँदै गएको र नेपालमा कृषिजन्य वस्तुको वार्षिक व्यापार घाटा झण्डै रु. दुई खर्ब रहेका अवस्थामा भेटिवरको खेतीबाट व्यापार घाटा सम्बोधन गरी आर्थिक क्रान्ति सम्भव गराउन सकिने विचार राखेका छन् । “खेर गएको जग्गा सदुपयोग गर्दा खाद्य, रोजगारी, ऊर्जा प्राप्त गर्न र गरिबी निवारण गर्नाका साथै वातावरण पनि जोगाउन सकिन्छ”, आफ्नो अध्ययनमा उनले उल्लेख गरेका छन् ।

नेपालमा बाढीपहिराको जोखिम उच्च भएकाले यो घाँसको प्रयोगको ठूलो आवश्यकता रहेको जनाउँदै उनले बगरसहित प्रयोगविहीन जग्गामा भेटिवरको रोपण अपरिहार्य भएको बताएका छन् । “भेटिवरको खेती गरेपछि उक्त जग्गा उर्वर भूमिमा परिणत हुन्छ । नेपालमा खेतीयोग्य ठूलो जग्गा बर्सेनि बगरमा परिणत भएकाले यस्ता जग्गालाई भेटिवरको सहयोगमा पुनः कृषि भूमिमै फर्काउनका लागि किसानलाई सहयोग गर्न नीतिगत व्यवस्था गर्न आवश्यक छ”, उनको भनाइ छ । सरकारको नीति तथा कार्यक्रममा यसको खेती थालनी तथा प्रवद्र्धनका बुँदा राख्न पनि उनले आग्रह गरेका छन् । नदी नियन्त्रण गर्न तथा पहाडी भेगमा भूक्षय गएर सडक–बस्तीमा पहिराकोजोखिम निम्तने खतरालाई भेटिवरकै सहयोगमा व्यवस्थापन गर्न सकिने जनाउँदै उनले बायो इन्जिनियरिङ प्रविधि तुलनात्मक रुपमा सस्तो रहेको पनि औँल्याएका छन् ।

यो लामो समयसम्म उत्पादन हुने, खडेरी प्रतिरोधी, नुनिलो र पानी जमेको स्थानमा पनि सजिलै लगाउन सकिने, भूमिगत पानीलाई पुनःभरण गर्न पनि सहयोग प्रदान गर्ने, प्रदूषणयुक्त पानी शुद्धिकरण गरी सो गुणस्तरमा सुधार गर्ने प्रक्रियामा उल्लेखनीय भूमिका खेल्नाका साथै फलाम तथा अन्य खानी भएको भूमिलाई पनि उर्वरभूमिमा परिणत गरिदिने चमत्कारिक घाँस भएको अध्ययनमा जनाइएको छ । भेटिवरले बगरमा परिणत भएको माटाभित्रको नकारात्मक तत्त्वलाई सोसेर उर्वर बनाइदिने र मृत बनेको माटालाई पूर्ण रुपमा जीवित बनाइदिने जनाउँदै उनले नाइट्रोजन, फस्फोरस, पोटासियम, म्याग्नेसियमजस्ता पौष्टिक तत्त्व भएकाले यसले जैविक मलको काम गर्ने तथा कार्बनको मात्रालाई शोषण गरी जराले जमिनमुनि पर्याप्त परिमाणमा नाइट्रोजन उपलब्ध गराएर माटालाई उर्वर भूमिमा परिणत गरिदिने उल्लेख गरिएको छ ।

यसको पात र जराको प्रयोग गरी हस्तकलाका सामग्री इत्यादि निर्माण, अत्तर, सुगन्धित तेल, जलाएर अँगार र ब्रिकेटजस्ता उपयोगी सामग्री निर्माण गर्न सकिने जनाइएको छ । भेटिवर जराको तेल नै प्रतिलिटर रु. ३० हजारमा बिक्री हुने बताइएको छ । भेटिवरसहित नैपियर घाँस, सोइजन (मोरिङ्गा), बाँस, उखु, मकै, अश्वगन्धा, बेसार, गेडागुडी, फलफूल, तितेपाती, दलहनजस्ता बहुगुणी बालीको खेती गर्न पनि उनले सुझाव दिएका छन् । अहिले मुलुकमा देखिएको विभिन्न प्रकारका खाद्यान्न, फलफूल, तरकारी, दलहन, तेलहन बस्तुको अभाव, खाद्य असुरक्षा र कुपोषणजस्ता समस्या पनि सधैँका लागि अन्त्य गर्न सकिने उनको अध्ययनमा जनाइएको छ । बगरमा परिणत भएको पाँच लाख हेक्टर जग्गालाई प्रयोगमा ल्याउन लगानीका साथै वैज्ञानिक र प्राविधिक रुपमा काम गर्नुपर्ने तथा यस्तो जग्गामा दुईतीन वर्ष लगानी र अथक परिश्रम गर्नुपर्नेमा जोड दिँदै कृषि अनुसन्धाता गोयन्काले सुरुमै जग्गाको प्रयोग गरी धेरै रकम आर्जन गर्ने सोच र सपना नदेखी कालान्तरमा राष्ट्रिय हितका लागि सोच्न सरकार तथा लगानीकर्तालाई आग्रह गरेका छन् । –रासस

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: