×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजनीतिक दलहरुले पानीमा पनि राजनीति गरे, अनुसा थापाको लेख

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राजनीतिक दलहरुले पानीमा पनि राजनीति गरे, अनुसा थापाको लेख

२६ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । जन्मेदेखि नमर्दासम्म हरेक प्राणीलाई पानीको आवश्यकता पर्दछ । मानिसदेखि लिएर चराचुरुङगी, जीवजन्तु, बोटविरुवा सबैलाई पानी चाहिन्छ नै । पानीबिना एकछिन पनि बस्न सकिदैन । खेतीपातीका लागि पनि पानी नै चाहिन्छ । जहाँ सिचाइको व्यवस्था राम्रो हुन्छ त्यहाँ उब्जनी पनि राम्रो हुन्छ । तर, सिँचाइ नपुगेको खेत सुख्खा हुन्छ जसका कारण त्यहाँँ खेतीपाती गर्न असम्भव हुन्छ । तर, नेपालको खोलानाला, नदी, कोशी सबै हामी मानवका कारण दुर्गन्धित बनेको छ । हामी मानवहरु लापरवाह हुँदा खोलानालामा पानी होइन्, ढल र फोहोरका पोकोहरु बग्छ । खोलानालालाई सदुपयोग नगर्दा पानीको हाहाकार भएको छ । बाटो र घर भन्दाभन्दै जमिनभित्रबाट मुल फुटेर निस्किने पानी पनि बन्द भइसकेको छ । यता, भएका ढुंगेधारा र कुवाहरुको पनि हामीले संरक्षण गरेनौ।

पहिले ढुंगेधारा भएको ठाँउमा अहिले घर छ । बाँकी केही ढुंगेधाराबाट थोपो पनि पानी झर्दैन् । यसको प्रमुख दोषी पनि मानव नै हो । जनसंख्या प्रत्येक दिन बढ्दै गएको छ तर पानीको मुलहरु संरक्षणको विषयमा कसैले चासो दिदैनन्। मानौं, घर र बाटो बनाउने लहर चलेको छ । वनजंगल फडानी गर्दै, चौतारा मास्दै, पानीको स्रोत बन्द गर्दै घर र बाटो बनाउनुको औचित्य के ? जसको कारण नेपालमा प्रदुषण ह्वात्तै बढेको छ । प्रदुषणका बढ्दा हिँउदमा पानी पर्छ, वर्खामा सुख्खा । यता, पानी पर्ने समय परिवर्तन भएको छ भने पानी पनि निकै कम पर्छ । खेतीपाती गर्ने समयमा पानी नपर्दा किसानहरु मारमा परेका छन् । उब्जनी कम भएकाले उनीहरु चिन्तित बनेका छन् । अर्कोतिर, भएका जमिनहरु पनि बाझै छ । अव्यवस्थित तरिकाले बनेको घर र बाटोले विपद् निम्त्याएको छ ।

पानी पर्नेबित्तिकै विभिन्न क्षेत्र डुबानमा पर्नुको कारण यही हो । माटोले सोस्नुपर्ने पानी कसरी कंक्रिटले सोस्छ ? पानी नै छिर्न नपाएपछि डुबान पर्नु स्वाभाविकै पनि हो । आफुले गरेको कुकर्मको फल आफैले भोग्नुपर्छ भनेको पनि यही नै हो । जमिनभित्र पानी जान नपाउदा इनारहरु सुक्यो । कलहरुबाट पानीको थोपो पनि चुहिदैन् । पोखरी, ताल र आल पनि मासिदै गएपछि पानी जम्ने ठाँउ कहिँ पनि छैन् । पशुपंक्षी र जीवजन्तुहरु प्यास मेट्ने धोको बोकेर हिडेका हुन्छन् । तिर्खा लाग्दा उनीहरु पानी खानैबाट वञ्चित छन् । जग्गा माफियाहरुले ताल, आल र पोखरी अधिकरण गर्दा जीवजन्तुहरुले पानी खान पाएका छैनन् । सरकारले ऐनकानुन बनाउदा नसक्दा घर बनाउनेको संख्या ह्वात्तै बढेको छ । अस्तव्यस्त तरिकाले घर बनेको छ । जसको कारण पानीको हाहाकार भएको पाइन्छ ।

घर त बनाएको छ तर पानी छैन् । पानी नहुँदा भाडामा बस्नेहरुको जीवन कष्टकर बनेको छ । घरधनीले घरभाडामा ल्याएर मासिक भाडा बुझ्छ तर कोठामा बस्नेलाई पानी दिदैन् । अहिले उपत्यकामा मेलम्चीको पानी आएपनि बहालमा बस्नेले पाएका छैनन् । बरु, घरधनीहरु सवारी साधन धुन्छन् तर बहालमा बस्नेलाई पिउने पानीसमेत थाप्न दिदैनन् । जसको कारण कोठामा बस्नेहरु मारमा परेका छन् । तर, यसको फाइदा भने पानी बेच्ने कम्पनीहरुले लिएका छन् । पानीमा समेत व्यापारीकरण सुरु भएको छ । पानी व्यापार रातमा चार गुणा र दिनमा दुई गुणाले फस्टाउदै छ । खोलानाला फोहोर हुनु र जथाभावी घर र बाटो बन्नु जार र मिनरल वाटर कम्पनीहरुका लागि राम्रो कुरा हो । उनीहरुको व्यापार झनै बढ्दै जान्छ । अहिले एउटा मिनरल वाटरलाई २०–२५ रुपैयाँ र जारलाई ५०–८० रुपैयाँ लिन्छ ।

पानीको मूल्य पेट्रोल डिजेलभन्दा पनि मँहगो हुने देखिएको छ । खाना पकाउनदेखि नुहाउन, लुगा धुन, शौचालय जान हरेक कुरामा पानी चाहिन्छ । पानी भएन भने एक सेकेण्ड पनि बाँच्न सकिदैन् । तर, सरकारको कमीकमजोरी र लापरवाहीले आज पानीमा समेत व्यापार सुरु भयो । सरकारकै कारण जनता लुटिएका छन्, ठगिएका छन् । व्यापारीहरुले अस्वस्थकर पानी बेचेर कालोबजारी गरिरहेका छन् । खानयोग्य नभएको खोलाको पानी भरेर ल्याएर बेच्ने काम भइरहेको छ । ट्याकंरहरुले सिधै खोलाबाट पानी निकालेर ल्याएर बेच्छन् । स्वास्थ्यलाई हानी पुप्याउने पानी दुई–पाँच हजारसम्म तिरेर उपभोग गर्न उपत्यकावासी बाध्य छन् । दालचामल र तरकारी किन्दाभन्दा बढी खर्च पानी किन्दाखेरि हुने देखिएको छ । एकबोरा चामल ल्यायो भने एकमहिना धान्छ । तर, एक जार पानीले छिन पनि थेक्दैन् ।

पहिलेपहिले खोलानाला प्रशस्तै थियो, पानी पनि सङलो हुन्थ्यो । त्यही गएर नुहाउथे, लुगा धुन्थे । तर, अहिले खोलानालामा पानी होइन्, ढल बग्छ कसरी नुहाउनु ? दुई जार पानी किनेर एउटा ज्यान नुहाउनुपर्ने अवस्था आएको छ । शौचालय जान पनि जारकै पानी किन्नुपर्ने बाध्यता आयो । हामी नेपालीहरु यति धनी भइसकेका छौ जारको पानी किनेर नुहाउनधुन ? जारको पानी किन्न नसक्ने व्यक्तिहरु अब ननुहाइकन बस्नुपर्ने बेला आएको छ । पानी तिर्खा लागेपनि पानी पिउने दिन गइसकेको छ । बुढापाखाले भन्थे, ‘ पानी खान दियो भने धर्म हुन्छ ।’ बाटो हिडिरहेको बेलामा पानी तिर्खा लाग्यो भने माग्दाखेरि पाइदैन् । तिर्खा लागेको व्यक्तिलाई पानी दिने चलनचल्तीसमेत हराइसकेको छ । कि मिनरलवाटर किनेर प्यास मेटाउन सक्नुपर्यो ।

होइन्, भने यत्तिकै हिड्नुपर्यो । पानी व्यापारीहरुले राज्य र जनतालाई पानी किन्न बाध्य बनाएको छ । पहिल्यै मँहगोको मारमा परेका जनतालाई झनै अप्ठ्यारोमा पार्ने काम खानेपानी मन्त्रालयले बनाएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले वाटर कम्पनीहरुसंग आर्थिक चलखेल गरेर पानीको मूल्य बढाइदिए । पानी व्यापारलाई बढावा दिन खानेपानीमन्त्रीले मूल्य बढाउने निर्णय गरेको बुझिएको छ । उनी पनि जनताप्रति होइन् व्यापारीपट्टी जिम्मेवार देखिएका छन् ।
अहिले पनि यस्ता धेरै जिल्ला छन् जहाँ पानीकै लागि घण्टौं यात्रा गर्नुपर्छ । पानी नपाएर उनीहरुलाई दैनिकी टार्न निकै सकस परेको छ । तर, यसको फाइदा भने राजनीतिक दलहरुले लिएका छन् । पानी नभएको ठाँउमा पानी ल्याइदिन्छु भनेर वडाध्यक्ष र मेयरका उम्मेदवारहरुले भोट मागिरहेका छन् । घाउमा मलम लगाउने होइन् नुन छर्किने काम हाम्रो देशका राजनीतिक दलहरुले गरिरहेका छन् ।

अरुको पीडालाई आफ्नो जित्ने हतियार बनाउन यिनीहरुलाई नैतिकताले दिन्छ ? भोट माग्नेबेला विभिन्न आश्वासन दिएकाहरुले भोलिको दिनमा त्यो ठाँउलाई फर्केर पनि हेर्दैनन् । यही काठमाडौँकै कुरा गरौं, कांग्रेसबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले मेलम्चीको पानी कांग्रेसले ल्याएको भनेर भोट मागिरहेकी छिन् । हामी नेपालीको दुःख यिनीहरुको भोट माग्ने भाडो बनेको छ । २०३१ सालको सरकारले मेलम्चीको पानी ल्याउनको लागि सर्भे गरेको थियो । २०४१ सालको सरकारले फेरिपनि दोहोप्याएर सर्भे गरेको थियो । २०४७ सालमा सांसद्मा उम्मेदवारी दिएका कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौँको सडक पखाल्छु भनेका थिए । सरकारले पहिल्यै नै बनाइसकेको योजना र गरिसकेको तयारीलाई आफुले गरेको भनि कांग्रेसले भोट माग्न मिल्छ ?

राजनीतिक दलहरुले पानीमा समेत राजनीतिकरण भएको छ । एमाले भन्छः पानी ल्याउने तयारी हाम्रो पालामा भएको । यता, कांग्रेस भन्छः उपत्यकावासीलाई मेलम्चीको पानी चखाउने हामी । विदेशीले दिएको ऋण र जनताले तिरेको करबाट मेलम्चीको पानी काठ्माडौं ल्याउन सम्भव भएको हो । यिनीहरुको व्यक्तिगत सम्पत्ति बेचेर ल्याएको हो र ? काम गर्न नसक्ने अनि झुठा नाराबाजी गर्दै हिड्ने ? काम गर्न सक्नेले झुठा नाराबाजी गर्नुपर्ने अनवश्यकता छैन् । अब नेपालमा खाद्य र पानीको संकट मौलाउछ । खाने मुख बढेको बढ्यै छ तर सिँचाइको अभावमा जमिनहरु बाझै छन् । खाद्यान्नले धान्न नसक्ने भएर बाहिरबाट आयात गर्ने गरिएको छ । अब केही वर्षपछि पानी पनि आयात गर्नुपर्ने हुन्छ । सरकार अझै पनि जिम्मेवार नहुने हो भने माछा बाउड्याझै नेपाली जनताहरु छट्पटिन्छन् । भुमि सुधार मन्त्रालय र खानेपानी मन्त्रालयले जमिन र पानीका स्रोतहरु संरक्षण गर्न लाग्नुपर्छ । होइन् भने मुलुकमा दुर्दशा सुरु हुन्छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: