भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४० वर्ष पुग्यो । वि.सं २०३८ मा सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले उपभोग गर्न गर्दै आएका थिए । २५० किलोवाट क्षमताको उक्त जलविद्युत् गृहमा उत्पादन भएको विद्युत्ले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएका थिए । स्थानीयस्तरमा उत्पादन भएको यो विद्युत्गृह तत्कालीन विद्रोही नेकपा ९माओवादी०ले भत्काइदिएपछि लामो समय भोजपुर अन्धकारमयसमेत बनेका थिए । यहाँ यो गृहबाहेक विद्युत्को अन्य कुनै विकल्प पनि थिएन ।
मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचेअनुरुपले काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइनको विस्तारको पहल थलिएको हो । त्यो अवधिमा केही स–साना विद्युत् आयोजना सञ्चालन थिए । ग्रामीण भेगका अधिकांश स्थानीयले भने सौर्यबत्ति, टुकीबत्ती, दियालोलगायत बालेर आफ्नो जनजीवन चलाउँदै आएको अवस्था देखिन्छ । भोजपुरको विद्युत्को इतिहास बोकेको सो विद्युत्गृह भने हाल बन्द अवस्थामा छ ।
वि.सं २०६७ कात्तिक १९ देखि हिले–भोजपुर ३३ केभीए राष्ट्रिय प्रसारण लाइन भोजपुरमा जोडिएको हो । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका ५० दशमलब ३३ प्रतिशत जनता मात्र लाभान्वित छन् । हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको छ । काममा ढिलाइ हुँदा विद्युत् प्राधिकरणले गरेको कामप्रति यहाँका स्थानीय तह तथा नागरिक असन्तुष्ट बनेका छन् ।
केन्द्रीय प्रसारण लाइन यहाँका प्रायःसबै स्थानीय तहमा पुर्याउने प्रयास भइरहेको छ । पूर्णरुपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिदैन । सबै भन्दाबढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन् । यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ । यो प्रदेश १ उज्यालो बन्ने पहिलो स्थानीय तह पनि हो ।
दोस्रोमा केन्द्रीय प्रसारणलाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ । यी दुई स्थानीय तहमा पनि पूर्णरुपमा केन्द्रीय प्रसारण लाइन विस्तार हुन् बाँकी छ । यहाँका केही नागरिकले स्थानीयस्तरका साना जलविद्युत् तथा सोलारको प्रयोग गरिरहेको अवस्था रहेको छ ।
थपिँदैछन् जलविद्युत् आयोजना
भोजपुरमा पनि जलविद्युत्का क्षेत्रमा लगानी बढिरहेको छ । इष्टर्न हाइड्रोपावर र टक्सार पिखुला खोला हाइड्रो पावरको निर्माण सम्पन्न भएर यसको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । इष्टर्नबाट पाँच र टक्सार पिखुवा खोला हाइड्रोपावरबाट आठ गरी दैनिक १३ मेगावाट विद्युत् उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । यी विद्युत् गृहबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।
उत्तरी क्षेत्रमा अवस्थित चिर्खुवा खोला–अपर र लोअर दुई आयोजना निर्माण भइरहेका छन् । चार दशमलव सात मेगावाटको अपर चिर्खुवाको काम ८० प्रतिशत बढी काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।
यसको पाइपलाइन तीन किलोमिटर रहेको छ । त्यस्तै चार दशमलव छ मेगावाटको लोअर इर्खुवाको पनि काम सुरु हुने चरणमा छ । त्यस्तै जिल्लाको सबैभन्दा ठूलो इर्खुवा खोला जलविद्युत् आयोजनाको काम पनि तीव्रगति भइरहेको छ । १५ मेगावाट क्षमता रहेको यो आयोजना दुई वर्षअघिबाट सुरु भएको हो । दुई दशमलव पाँच किलोमिटर पाइपलाइन भएको यस आयोजनाको दुई दशमलव तीन किलोमिटर पाएप लाइन सुरुङ रहेको छ ।
सोही खोलामा १५ मेगावाट क्षमताको अपर इर्खुवा खोला आयोजना निर्माणको तयारी भइरहेको लगानीकर्ताले बताएका छन् । त्यस्तैगरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको सिमनामा पर्ने श्याम खोलाबाट पनि सात मेगावाट क्षमताको विद्युत् आयोजना सञ्चालनको तयारी भइरहेको छ । यीबाहेक जिल्लामा सानाठूला गरी दुई दर्जन बढी आयोजना सञ्चालन तथा निर्माणको तयारीमा रहेको विद्युत् क्षेत्रमा काम गर्दै आएका कम्पनीले जनाएका छन् ।
आयोजनाको संरक्षणमा ध्यान दिइएन
संरक्षणको अभावमा जीर्ण बनेको भोजपुरको सिक्तेल खोला जलविद्युत् आयोजनाको संरक्षण ध्यान दिइएको छैन । बिग्रिएको करिब १३ वर्षभन्दा बढी समय हुँदा पनि सञ्चालनमा नआउँदा विद्युत्का सामग्री कबाडीमा परिणत भएका छन् । जिल्लामा तत्कालीन समयमा बजार क्षेत्रसँगै आसपासका ठाँउमा विद्युत् वितरण गरिरहेको यो आयोजना सम्बन्धित निकायको आपसी विवादका कारण अलपत्र परेको हो । बन्द भएको लामो समय हँुदा पनि सञ्चालनमा ल्याउन कसैको खास चासो गएको छैन । सडक विस्तार गर्ने क्रममा ढुङ्गा लडेर विद्युत् गृहमा क्षति पुगेको छ भने सामग्री क्षत्विक्षत् बनेका छन् ।
तत्कालीन समयमा सरकारले निजी क्षेत्रलाई विद्युत्गृह हस्तान्तरण गर्ने क्रममा यो जलविद्युत् आयोजना भोजपुर विद्युत् सहयोग समितिलाई हस्तान्तरण गरिएका थिए । त्यसपछि सिर्जना भएको समिति र प्राविधीकरणबीच आपसी किचलोका कारण यो विद्युत्गृह अलपत्र बनेको हो । जिल्लामा केन्द्रीय प्रसारण लाइन नजोडिँदासम्म यो विद्युत्गृहले भोजपुुरमा विद्युत् वितरण गरिरहेका थिए । आयोजनाले तत्कालीन समयमा २५० किलोवाट विद्युत् उत्पादन गरेका थिए । विद्युत्गृह बन्द हुनुमा स्थानीयले पनि दुखः व्यक्त गरिरहेका छन् ।
विद्युत्गृह वि.सं २०३८ सालबाट सञ्चालनमा आएका थिए । भोजपुरको विद्युत्को विकासमा महत्वपूर्ण भूमिका खेलेको उक्त विद्युत्गृह संरक्षण गरिनुपर्ने स्थानीयको माग छ । सरोकारवाला पक्षले यसको संरक्षणमा ध्यान नदिँदा राज्यको करोडौँका सामग्री कबाडीमा परिणत भएका छन् । यसलाई पुनःनिर्माण गरेर विद्युत् उत्पादनसँग जोड्नसके आर्थिकरुपमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–६ कोटमा पर्ने यो विद्युत्गृहको पोखरी पनि जीर्ण बन्दै गएको छ भने पानी ल्याउन प्रयोग गरिएका कुलोसमेत जीर्ण बनेको छ । केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि यो जलविद्युत् आयोजना ओझेलमा परेको देखिन्छ । यो आयोजना अलपत्र हुँदा यहाँका कर्मचारीले रोजगारीसमेत गुमाएका छन् । अहिले यहाँका अधिकांश मेसिन उपकरण काम नलाग्ने अवस्थामा पुगेका छन् । –रासस