काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका छन् । बाहिरियाहरुलाई ल्याएर बजेटमा चलखेल गरेको र सोको सीसीटिभि फुटेज मेटाएको भन्दै विवादमा तानिएका उनले चौतर्फी दबाबपछि राजिनामा दिएका हुन् ।बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।
यता सो प्रकरणमा संसदीय छानविन समितिसमेत बनेको छ । अव यो समितिले अर्थमन्त्रीको प्रकरणमा छानविन गरी त्यसको प्रतिवेदन तयार गर्नेछ । सोहि प्रतिवेदनका आधारमा उनीमाथि कारवाही हुने वा नहुने निर्णय हुनेछ । उनले सीसीटिभी फुटेज मेटाएको प्रमाणित भएमा उनलाई ठुलै कारवाही गर्न सकिने कानुनी व्यवस्था छ । प्रचलित कानुन अनुसार सिसिटिभी फुटेज मेटाएको प्रमाणित भएका त्यस्ता व्यक्तिलाई ७ बर्षसम्म जेल सजाय हुन सक्ने प्रावधान छ ।
शर्माले बाहिरियालाई ल्याएर बजेटमा चलखेल गरेको समाचार संचामाध्यममा आएपछि सोको सिसिटिभी फुटेज माग गर्दै मन्त्रालयमा निवेदन परेको थियो । सोको जवाफमा सो फुटेज १३ दिनमात्र रहने खबर मन्त्रालयले गरेपछि यो प्रकरणले उग्र रुप लिएको थियो । कानुन अनुसार नै यस्तो फुटेज ९० दिनसम्म राख्ने चलन छ ।
माओवादीका तर्फबाट मन्त्री बनेका शर्मा हालसम्मकै विवादित अर्थमन्त्री हुन् । अर्थमन्त्री भएदेखि नै उनी विवादमा तानिएका थिए । नजानेर, नबुझेर पनि अनावश्यक बोलेको भन्दै उनी सेयर बजारका लगानीकर्ताहरुमाझ पनि निकै अलोकप्रिय थिए । पछिल्लो समय बजेट बनाउँदा स्वार्थ समूहको पैसा खाएर चलखेल गरेको आरोप उनीमाथि थियो ।
उनको बहिर्गमनसँगै अवको नयाँ अर्थमन्त्री को बन्ला भन्ने विषयले पनि बजार तताएको छ । सम्भवत: अवको अर्थमन्त्री काँग्रेसका तर्फबाट नियुक्त हुनेछन् ।