Skip to content
LAXMI SUNRISE BANK

चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास हुँदैन

अर्थ सरोकार

काठमाडौं । संविधान सभा सदस्य विपी यादवले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताएका छन् ।

आइतबार काठमाडौंमा राष्ट्रिय एकता अभियानले आयोजना गरेको ‘नेपालप्रति चिनियाँ अभ्यास र असर’ विषयक विचार-गोष्ठीमा बोल्दै उनले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गरेका छन् ।

उनले भने,’कहिले चीनका लागि नेपाली राजदूतको ओहोदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडौंमा रहेको चिनियाँ दूतावासमार्फत चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने लगायतको काम गरिरहेको छ ।’

उनले चीनको विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नरोकेसम्म नेपालको विकास सम्भव नहुने दोहर्‍याए । त्यस्तै, गोष्ठीमा सहभागी विश्लेषक बुद्ध छोरिंग लामाले नेपलालाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेको आरोप लगाएका थिए ।

उनले भने,’चीनले नेपाललाई श्रीलंका बनाउनु खोजिरहेको छ, चीनले पोखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेको छ।’

त्यसैगरी वरिष्ठ अधिवक्ता अवधेश सिंहले चीनको विस्तारवादी नीतिविरुद्ध सबै जना एक जुट हुनुपर्नेमा जोड दिए । उनले चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको आरोप लगाए । उनले भने,’चीनको विस्तारवादी नीतिलाई रोक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणको जालमा फस्न दिनु हुँदैन।’

त्यस्तै, अर्का सहभागी सीताराम अग्रवालले चीनले पछिल्लो समय नेपालको भूभाग पनि मिचेको समाचार पत्र पत्रिकामा पढिरहेको बताए । उनले चिनियाँ नागरिक नेपालमा अवैध गति गरेको देशको सुरक्षा नै खतरामा परेको बताए ।

त्यस्तै कार्यक्रममा सहभागी अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशी, शहीद परिवारका सदस्य एवं प्रधानमंत्री सचिवालय सदस्य बबिता ठाकुर, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष अम्बिका दहाल लगायतले चीनको विस्तारवादी नीतिलाई जरैदेखि फाल्नु पर्नेमा जोड दिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK