काठमाडौं । म्यानमार, थाइल्याण्ड र कम्बोडियामा चिनियाँ नागरिकले नेपालीहरुलाई बन्धक बनाएको तथ्य बाहिर आएको छ । विभिन्न कामका शिलशिलामा यी देश पुगेका दर्जन बढी नेपालीहरुलाई बन्धक बनाएर राखेको पाइएको हो ।
यी तिनै देशमा आफूहरु बन्धक भएको भन्दै १५ जना नेपालीहरुले उजुरी दिएको प्रहरीको मानव तस्कर रोकथाम नियन्त्रण ब्युरोले जनाएको छ । ब्युरोका प्रहरी उपरिक्षक (एसपी) कृष्ण पंगेनीका अनुसार प्रहरीमा परेको उजुरीका आधारमा अनुसन्धान सुरु गरिसकिएको छ। ‘म्यानमारमा नेपालीहरु बन्धक भएको भन्ने सुचना पाएका छौँ । सोही अनुसार अनुसन्धान पनि सुरु गरिसकेका छौँ ।’ एसपी पंगेनीले भने– ‘केही नेपाली भागेर नेपाल फर्किएका छन् । घटनाको थप पुष्टीसँगै छानबिन जारी छ ।’
त्यस्तै, थाइल्याण्ड र म्यानमारमा नेपाली बन्धक बनाइएको भनिएको ठाउँ चीनसँग सिमाना जोडिएको भएको ब्युरो स्रोतको दाबी छ । ‘बन्धक हुनेहरु अधिकांश आईटी इन्जिनियर हुन् । बन्धक बनाइएको ठाउँ थाइल्याण्ड र म्यानमार सरकारको क्षेत्राधिकारभित्र पनि पर्दैन ।’ ब्युरो स्रोतले भन्यो, ‘बन्धक बनाउनेहरु चिनियाँ नागरिक भएको खुल्न आएको छ । बाँकी अनुसन्धान हुँदैछ ।’
उनीहरुलाई चिनियाँ नागरिकले मासिक १ लाख अमेरिकी डलर पारिश्रमिक दिने प्रलोभनमा पारी आईटी कार्यालयका लागि भन्दै थाइल्याण्ड हुँदै म्यानमार पुर्याएको खुल्न आएको छ । हाल उनीहरुलाई क्रिप्टोकरेन्सीमा लगानी गर्न र गैर कानुनी रुपमा विभिन्न देशमा रहेका बैंकको सिस्टम ह्याक गर्न लगाउने गरेको ब्युरो स्रोतले जनाएको छ ।