×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाज नै लजाउनेगरी सेयर लगानीकर्तालाई सेबोनको २० टिप्स, पहिला आफ्नै आङको भैंसी देख्ने कि बोर्ड ? (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लाज नै लजाउनेगरी सेयर लगानीकर्तालाई सेबोनको २० टिप्स, पहिला आफ्नै आङको भैंसी देख्ने कि बोर्ड ? (भिडियो)

Artha Sarokar

९ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: ८ मिनेटभन्दा कम

काठमाडौं । बर्षभरि फेसबुक, टिकटक र युट्युब हेरेर मात्र बस्ने, गर्लफ्रेण्ड ब्वाईफ्रेण्ड सँग घुमघाम, र मोबाइलमा च्याट गरेर मात्र बस्ने, बर्षभरि सकेसम्म क्लास बक गर्ने अनि एक्जाम आएको ३ दिन अघि, ओहो एक्जाम पो आईसक्यो भनेर चिन्ता लिने । चिन्तालिने, पढ्नचाहिं अझ नथाल्ने, अनि एक्जामको अघिल्लो दिन किताब पल्टाएजस्तै गर्ने एउटा विद्यार्थी र अरुबेला चुईक्क नबोल्ने, लगानीकर्ता शिक्षाका नाममा जाँड खाने, खुवाउने मेलो बाहेक केहि नगर्ने तर जबजब ग्लोबल मनिवीक आउँछ, तवतव पुरोहित बाजेले ‘स्वाहा’ भनेको शैलीमा सेयर लगानीकर्तालाई यसो यसो गरौँ है भनेर टिप्स दिने धितोपत्र बोर्ड उस्तै-उस्तै हुन् । र परिक्षाको अघिल्लो दिन किताब पढेजस्तो गर्ने विद्यार्थीझैं यसपाली पनि ग्लोबल ‘मनि वीक’का अवसरमा सेयर लगानीकर्तालाई नेपाल धितोपत्र बोर्डले २० बुँदे टिप्स दिएको छ ।
धितोपत्र बोर्डमा अहिले गज्जबका अध्यक्ष छन् । लगानीकर्तालाई कसरी फाइदा हुन्छ भनेर उनी दिनरात काममा लागेका चाहन । तर उनका अन्डरमा रहेका केहि काम चोर, र कमिसनखोर कर्मचारी भने उनलाई कसरी हुन्छ फेल गराउन भनेर न्वारनदेखिको बल लगाएर काम गरिरहेका छन् । लगानीकर्ताका पक्षमा हमालले रातदिन काम गर्दा त्यस्ता कामचोर कर्मचारीको निद हराम त भएको छ नै, ब्रोडका अध्यक्षले पनि त्यस्ता कामचोर कर्मचारीको जालो बोर्डमा तोड्न नसक्दा समग्र धितोपत्र बोर्डचाहिं हमालले गाडी कुदाउन खोज्ने तर त्यहाँका कर्मचारीले घरी टायर प्वाल पारिदिने, घरी, पेट्रोलमा पानी मिसाईदिने झैं गरिरहेका छन्।
विद्यार्थीले अन्तिम दिन पढे पनि सोहि कुरा भोलिपल्ट परिक्षामा आउँदा ठ्याक्कै त्यहि लेखेर झ्याप्पै पास भएजस्तै बोर्डले दिएका टिप्समात्र अनुसरण गर्ने हो भने पनि सेयर लगानीकर्ताहरुलाई मनग्य फाइदा हुन्छ । तर बर्षमा एक पटक आउने चैते दशैंको केहि दिन अघि बर्षमा एक पटक मनाईने ग्लोबल मनिवीकमा बोर्डले दिएको टिप्सको भने कम मात्र अर्थ छ । अझ बोर्डले प्रदान गरेका ती टिप्सले कतिपय ठाउँमा स्वयम् बोर्डलाई नै गिज्याईरहेको छ । यसतर्फ बोर्डको ध्यान जान जरुरी छ । बल्ल बल्ल बर्षमा एक पटक बोर्डले टिप्स नै दिएर लगानीकर्तालाई सचेत गराउन खोजेपछि त्यसको ससम्मान स्वागत गर्दै हामी पनि लगानीकर्ताका तर्फबाट बोर्डलाई केहि सुझाव दिन चाहान्छौँ । रिसानी माफ होस् ।
बोर्डले सेयर लगानीकर्तालाई दिएको टिप्सको पहिलो बुँदामा भनेको छ – धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा यथार्थ र उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भई लगानी सम्बन्धी निर्णय लिनुहोस् । कस्तो राम्रो टिप्स । तर यति राम्रो टिप्स दिनेले लगानीकर्तालाई उपयुक्त सूचना दिनेगरी कुनै प्लेटफर्म बिकसित गरे कति राम्रो हुने थियो नि, होइन र ? लगानीकर्तालाई संयमित र बिबेकशील हुन सिकाउने धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची निकाल्ने, भित्रभित्रै कम्पनीका सूचना लिएर आफ्नालाई दिनेजस्ता काम पनि बन्द गरे कति राम्रो हुन्थ्यो नि, होइन र ?

बोर्डले लगानीकर्तालाई दोश्रो टिप्स दिंदै भनेको छ -धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको वित्तीय विवरण लगायतका जानकारी लिई आफ्नो स्वविवेकमा जोखिम बहन गर्ने क्षमता अनुसार लगानी उपकरण छनौट गरी लगानी सम्बन्धी निर्णय गर्नुहोस् । आहा कस्तो राम्रो टिप्स । यतिमात्र बुझे सेयर लगानीकर्ता कहिल्यै फस्दैनन् । तर धितोपत्र बोर्डकै कर्मचारीले फेक एकाउन्ट बनाएर अव बजार १६०० मा पुग्छ भनेर लगानीकर्तालाई अत्याउने, वा आफ्नाले सेयर किनेपछि अव बजार ३००० फेरी पुग्दैछ भनेर अत्याउने काम बोर्डकै इन्टरनेट प्रयोग गरेर भिपिएनमार्फत गरेकोचाहिं बोर्डले देख्नुपर्दैन ? यस विषयमा बोर्डका हाकिमलाई राम्रै सूचना छ । त्यस्तालाई कारवाही गर्नुपर्दैन ? गरियोस् ।

बोर्डले तेश्रो टिप्स दिंदै भनेको छ बजारमा नवप्रवेशीले प्राथमिक बजारबाट लगानी प्रारम्भ गर्नुहोस । आहा ! कस्तो राम्रो टिप्स । तर यहि आईपीओ निष्कासनको अनुमति जथाभावी जस्तोसुकै कम्पनीलाई दिंदा बजारमा कति लगानीकर्ताको पैसा कहाँ कहाँ फसेको छ भन्ने तथ्य पनि बोर्डले राम्रैसँग मनन गरेर लगानीकर्ताका पक्षमा काम गरे, कति राम्रो हुने थियो नि, होइन र ? धितोपत्र बोर्डले कुल दिमाग लगाएर सोचोस् ।

बोर्डले टिप्स नम्बर ४ मा भनेको छ- प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङ्गस्तर जस्ता महत्वपूर्ण पक्षहरुको विश्लेषण गर्नुहोस् । लगानीकर्ताले सबै कुरा पढे राम्रो, पढ भन्नु पनि राम्रो । तर यस्ता पक्षहरु ठिक नहुँदा नहुँदै पनि आईपीओको अनुमति दिनुचाहिं नराम्रो हो नि, होइन र ? धितोपत्र बोर्डले यो कुरा पनि एक पटक छातीमा हात राखेर, सोचोस् ।

बोर्डले जारी गरेको टिप्स नम्बर ५ मा भनिएको छ- नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको दश प्रतिशत सेयर विदेशमा रोजगारी गरिरहेको नेपालीका लागि छुटयाई बाँडफाँट गर्नुपर्ने व्यवस्था २०७९ मंसिर १७ देखि लागू भई कार्यान्वयमा आईसकेको सन्र्दभमा श्रम स्वीकृति लिई विदेशमा काम गरिरहेका नेपालीहरूले आस्वा सदस्य बैंक मार्फत आफ्नो नाममा विप्रेषण बचत खाता खोली सिआरएन नं लिई गरिएको व्यवस्थाको परिपालना गरी सेयरमा आवेदन गर्नुहोस । यो पनि सामान्य तर राम्रो टिप्स । तर विदेशमा बस्नेले यहि सीआरएन नम्बर लिंदा कतिसम्म हैरानी खेप्नुपरेको छ, त्यो बुझेर उनीहरुका समस्याको समाधान निकालियोस्।
बोर्डले टिप्स नम्बर ६ मा भनेको छ – धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारीक वा प्रमाणित रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, धितोपत्रको मूल्य प्रवृत्ति, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) र कम्पनीसंग सम्बन्धित उद्योग र क्षेत्रको अवस्था आदि जस्ता महत्वपूर्ण पक्षहरुको अध्ययन गर्नुहोस् ।

ओहो, यस्तो टिप्स दिनुसँगसँगै त्यस्ता महत्वपूर्ण सूचना लिक गर्ने, भित्री कारोबार गर्नेलाई पनि कारोबार गरिदिए कति राम्रो हुने थियो । अजोड इन्स्योरेन्सको केस करोडौंमा मिलाएको भन्दै अख्तियारमा अहिले पनि केस विचाराधीन छ भनेर बोर्डले अलिकति लाज माने त हुने नि, होइन र ? हुन त बोर्ड अध्यक्षमा हमाल आएपछि धेरैलाई कारवाही पनि भएका छन् । तर कारवाहीबाट आजसम्म जोगिएकाहरुलाई पनि पाटा कस्न सके ग्लोबल मनि वीक भयङ्कर सफल हुने थियो नि हजुर ।

बोर्डले टिप्स नम्बर ७ मा भनेको छ-  धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनितिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहनुहोस् । त्यसैगरी, टिप्स नम्बर ८ मा भनेको छ -धितोपत्र बजारमा मुद्रास्फिति, बैंकको तरलता तथा व्याजदरले प्रत्यक्ष असर गर्ने हुनाले लगानी गर्दा यस्ता विषयलाई मनन् गरी लगानी सम्बन्धी निर्णय लिनुहोस् । यस्तो राम्रो टिप्स दिने बोर्डले बजार भयङ्कर घटेका बेला लगानीकर्तालाई नआत्तिन पनि बेला-बेला भने कसको के जान्थ्यो र ? बजार बढेका बेला बेला-बेला तर्साउने बोर्डले घटेका बेला लगानीकर्तालाई सम्हालिन आग्रह गरे कसैको केहि बिग्रिन्नथियो नि, होइन र ?

बोर्डले टिप्स नम्बर ९ मा धितोपत्रको लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न लगानी विविधिकरणमा ध्यान दिनुहोस्, दीर्घकालीन, नियमित तथा विविधीकृत लगानीका फाइदा सम्बन्धमा जानकार रहनुहोस, भनेको छ भने टिप्स नम्बर १० मा धितोपत्र बजारमा लगानी गर्दा आवश्यक वा अपेक्षित प्रतिफल दर निर्धारण गरेर गर्नुहोस  भएको छ । यति राम्रो टिप्स दिने बोर्डले फेक आईडीबाट आफ्ना आफन्तलाई बजार त कहाँ माथि पुग्छ पुग्छ भन्न लगाउने वा बजार त अव सिद्धियो भन्न लगाउने आफ्नै कर्मचारीहरुलाई विभागीय कारवाही गर्ने आँट गरे कति गज्जब हुने थियो नि, होइन र ?

बोर्डले टिप्स नम्बर ११ मा भनेको छ धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई दिन भित्रमा कारोबारको राफसाफ हुनुपर्ने कुराको जानकारी लिनुहोस् । यो जानकारी त लगानीकर्तालाई छ नि, तर ब्रोकरले पैसा नै दिन्नन । पैसा समयमा नदिने त्यस्ता हरामी ब्रोकरहरुलाई तह त धितोपत्र बोर्डले लगाउने हो नि । हुन त पछिल्लो समय यसमाचाहिं काम गरेको छ है बोर्डले । तर पुगेको छैन ।

बोर्डले बाह्रौँ टिप्समा भनेको छ-  धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल (जस्तै: फेसबुक, क्लब हाउस, युटयूब तथा टिकटक आदि) मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारीक नहुने भएकोले ती अनुमान, प्रक्षेपण, विचार र परामर्शको आधारमा मात्र लगानी सम्बन्धी निर्णय नलिनुहोस् । तर यसो भन्दैगर्दा कुन कुन सामाजिक संजालमा बोर्ड स्वयमका कर्मचारीले आफ्ना मान्छे लगाएर हुने नहुने भन्न लगाएका छन्, यतिसम्म कि बोर्डकै नुन खाएर बोर्डका अध्यक्षलाई तथानाम भन्न लगाउने त्यस्ता हरामी कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन सके कति राम्रो हुने थियो नि, होइन र ? धितोपत्र बोर्डले आन्तरिक रुपमा केहि कर्मचारीलाई कारवाही गर्न खोजेपनि त्यस्ता कर्मचारीको गैरकानुनी धन्दा रोकिएको छैन । यसमा बोर्ड थप चनाखो भए कति गज्जब हुने थियो ।
बोर्डले टिप्स नम्बर १३ मा भनेको छ नयाँ नयाँ प्रविधि प्रयोग गरी हुने कारोबार सम्बन्धमा सचेत रहनुहोस् । यसो भन्ने बोर्डले बोर्डकै इमेल प्रयोग गरेर बोर्डकै अध्यक्षविरुद्धको समाचार बाहिर पठाएकोबारे पनि कहिलेकाहीं सोचे हुने नि, होइन र ?
बोर्डले टिप्स नम्बर १४ मा भनेको छ- धितोपत्र कारोवार गर्दा, रकमको लेनदेन गर्दा बैंकमार्फत गर्नुहोस ।  धितोपत्र कारोबार वापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा रहेको कानुनी व्यवस्थाको जानकारी लिनुहोस् । यसो भन्ने बोर्डले अध्यक्षले मागेका छन् भनेर तलतलका कर्मचारीले अध्यक्षलाई थाहा नै नदिई कुन कुन कम्पनीबाट कति कति पैसा उठाएर हजम गरेका छन् र त्यस्तो लेनदेनमा को को संग्लग्न छ भन्ने पनि छानविन गरे कति राम्रो हुने थियो नि होइन र ?
बोर्डले टिप्स नम्बर १५ मा भनेको छ- आफुले लगानी गर्न लागेको सेयर कुन प्रकारको सेयर (जस्तै संस्थापक सेयर साधारण सेयर अग्राधिकार सेयर र त्यसको विशेषता फाइदा वा वेफाइदाको बारेमा जानकारी लिएर मात्र लगानी सम्बन्धी निर्णय लिनुहोस् । यो पनि गज्जबको टिप्स हो । यस्तो राम्रो टिप्स दिनेले यस्ता टिप्स सधैं दिनेगरी कुनै प्लेटफर्म बिकास गर्न सके कति राम्रो हुने थियो नि होइन र ?
बोर्डले टिप्स नम्बर १६ मा भनेको छ नेपाल स्टक एक्सचेञ्जबाट सूचिकरण खारेजी भएका तथा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनीहरुको धितोपत्रहरु ओभर द काउन्टर बजारबाट कारोवार गर्न सकिने व्यवस्था भएको हुंदा सो बारे जानकारी राख्नुहोस् । यस्ता जानकारी दिनुपर्ने तर नदिएका अन्य थुप्रै कुराहरु पनि छन् । बोर्डले बेला बेला सचेतना कार्यक्रम गरेरै सचेतना कार्यक्रमको बजेट सके कति राम्रो हुने थियो ।
बोर्डले टिप्स नम्बर १७ मा भनेको छ- धितोपत्रको दोश्रो बजारमा कारोबार गर्दा बोर्डबाट अनुमतिपत्र प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) मार्फत मात्र कारोबार गर्नुहोस् । यस्तो राम्रो टिप्स दिनेले अनुमति नलिएकाहरुलाई ‘हामी मिलाईहाल्छौं नि’ भनेर बार्षिक असुली गर्ने आफ्ना कर्मचारी पनि चिने कति राम्रो हुने थियो ।

बोर्डले टिप्स नम्बर १८ मा भनेको छ -धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरु सम्बन्धी आधिकारीक जानकारीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्नुहोस् । वेव साइट हेर्नुहोस् भन्ने बोर्डले आफ्नो वेवसाइटलाई अझ बढी सूचनाहरु भएको आधुनिक बनाए झन् कति राम्रो हुने थियो । अहिले बजारमा आएका, लगानीकर्ताले रुचाएका साइटजस्तै बोर्ड आफैंले त्यस्तो प्लेटफर्म बनाए झन् कति राम्रो हुने थियो नि, होइन र ?

बोर्डले टिप्स नम्बर १९ मा भनेको छ-  धितोपत्रमा लगानी सम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचीकृत कम्पनी सिडिएससी, नेप्से या बोर्डमा सम्पर्क राख्नुहोस् । हत्तेरी बोर्डज्यू, यीनीहरुले हामी लगानीकर्ताको कुरा कहाँ सुन्छन् भन्या क्या ! बरु सुन्नुपर्यो भनेर तिनीहरुलाई सम्झाउनुपर्यो । यहाँ त एउटालाई कुरा गर्यो अर्कोलाई दोष लगाउने, अर्कोलाई सुनायो अर्कोलाई दोष लगाउने प्रवृतिमात्र छ के ! कति भन्नु !!

र बोर्डले अन्तिम अर्थात २० नम्बर बुँदामा भनेको छ-  बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नियमित रुपमा प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम तथा प्रकाशन मार्फत संचालन गर्दै आएकोमा त्यस्तो कार्यक्रममा सक्रिय सहभागी भै बजार तथा लगानी सम्बन्धी आवश्यक ज्ञान हासिल गर्नुहोस् । यो टिप्स पढेरचाहिं हास्ने हो कि रुने हो, पत्तो पाइएन । लगानीकर्ताका लागि नियमित रुपमा प्रशिक्षण कार्यक्रम कहाँ भईरहेको छ, त्यो पनि जानकारी भए दुई चार कुरा बुझ्न हामी पनि आउँथ्यौं । सचेतनामूलक कार्यक्रम नियमित प्रकाशन र प्रशारण कहाँ भयो त्यो पनि थाहा भएन । त्यहि रेडियो कार्यक्रमको कुरा गरेको भए त्यहाँको सचेतना सार्है कमजोर छ, त्यो काम छैन हाकिम साप । गतिलो कार्यक्रम गरेर सूचना पाउँ है ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी