×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्टमा करोडौंको ‘गैरकानुनी’ सेयर कारोबार भएको खुलासा, यस्तो छ गोयलले गरेको ‘बदमासी’को नालीबेली

PRIME CA

शिवम् सिमेन्टमा करोडौंको ‘गैरकानुनी’ सेयर कारोबार भएको खुलासा, यस्तो छ गोयलले गरेको ‘बदमासी’को नालीबेली

७ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । शिवम् सिमेन्टस् लिमिटेडका तत्कालीन अध्यक्ष सुरेन्द्र कुमार गोयलले प्रचलित कानुनविपरित सेयर कारोबार गरेको खुलासा भएको छ । प्राप्त उजुरीका आधारमा धितोपत्र बोर्डले गरेको छानविनका क्रममा गोयलले गरेको सेयर कारोबार गैरकानुनी रहेको पाइएको हो । कम्पनीको अध्यक्षमा सुरेन्द्र कुमार गोयल हुँदा २७ लाख ४३ हजार ९ सय कित्ता सेयर परिवारका विभिन्न सदस्यहरुको नाममा नामसारी गरिएको विवरणसहितको उजुरी बोर्डमा परेकोमा सो उजुरी उपर छानविन गर्दा नियामक नेपाल धितोपत्र बोर्डले गोयलको गैरकानुनी कारोबारबारे तथ्य फेला पारेको हो । प्रचलित कानुनविपरित काम गरेको भेटिएपछि बोर्डले कम्पनीका तत्कालीन अध्यक्ष गोयलमाथि कारवाहीको तयारीसमेत गरेको छ ।
के गलत गरेका थिए गोयलले ? छानविन गर्दा बोर्डले केके भेट्टायो ?
बोर्ड स्रोतका अनुसार बोर्डले गरेको छानविनमा क्रममा शिवम सिमेन्ट्स लिमिटेडका तत्कालीन अध्यक्ष सुरेन्द्र कुमार गोयलले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४, र धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ विपरित काम गरेको फेला पारेको छ । निर्देशिकाको दफा २२ को १ (क) र  धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ४६ को उपनियम ८ विपरित शिवम सिमेन्टका तत्कालीन अध्यक्ष गोयलले कसुर गरेको र सो कसुर सजायभागी रहेको तथ्य बोर्डको छानविनका क्रममा भेटिएको ब्रोड स्रोतको दाबी छ । यस्तै, धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ को दफा २२ को १ (क)मा आयोजना प्रभावित, कर्मचारी वा संस्थापकको रुपमा वा अन्य कुनै प्रकारबाट प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपूर्व संगठित संस्थाको सेयर प्राप्त गरेको सेयरधनी र (ख)मा संस्थापक सेयरधनीका एकाघरको सदस्यले दरखास्त दिन नपाउने व्यवस्था  भए पनि सो व्यवस्था विपरित गोयलले काम सेयर कारोबार गरेको बोर्डको निष्कर्ष छ ।
यता, धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ४६ को उपनियम ८ मा धितोपत्र खरिदका लागि कसैले अनधिकृत तवरबाट आवेदन दिएको पाइएमा वा झुटा विवरण पेस गरेको पाइएमा निष्कासन तथा बिक्री प्रबन्धकले त्यस्तो आवेदन रद्द गरी सो आवेदनबापतको रकम जफत गरी बोर्डले तोकेको खातामा जम्मा गर्नुपर्ने  र सो रकम पूँजीबजारको प्रवर्द्धनमा प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि प्रचलित कानुनी व्यवस्थाविपरित सो सेयर बिक्री गरिएकोले गोयललाई कारवाही गर्नुपर्ने बोर्डको निष्कर्ष छ ।
यस्तै, सुरेन्द्र गोयल अध्यक्ष रहँदा गोयलका जेठा दाजु विश्वनाथ र भाउजू शशी गोयलबाट दोस्रो बजारमा भएको कारोबार प्रचलित कानुनविपरित भएकोसमेत बोर्डको ठहर छ ।
यस्तै, सुरेन्द्रकुमार गोयल अध्यक्ष भएको समयमा स्व. दाजु अशोककुमार गोयलकी श्रीमती अनिता गोयलले विभिन्न मितिमा गरेको कारोबार पनि प्रचलित कानुनविपरित भएको छानविनका क्रममा देखिएको छ ।
यस्तै, गोयल अध्यक्ष हुँदा कम्पनीका व्यवस्थापकसमेत रहेका उनका भई प्रकाश गोयलले गरेको कारोबार र उनकी श्रीमती पुनम गोयल कम्पनीको व्यवस्थापक पदमा रहेको समयमा आफूसँग भएको सेयर अंशबण्डाका नाममा अनिता गोयल र प्रकाश गोयलका नाममा गरिएको नामसारी पनि नियमविपरित रहेको छानविन समितिले फेला पारेको छ ।
गोयललाई ७५ हजार जरिवाना गराउने र अध्यक्ष हुन रोक्ने बोर्डको तयारी !
‘अध्ययनका क्रममा गोयलजीको नेतृत्वमा थुप्रै बदमासी भएको पाइएको छ ।’ धितोपत्र बोर्ड उच्च स्रोत भन्छ- ‘अध्ययन सकिएको छ, हामीले प्रचलित कानुनलाई टेकेर कारवाहीको सिफारिससमेत गरेका छौँ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ उपनियम १ को (क) मा भएको व्यवस्थाविपरीत सेयर कारोबार गरेको प्रमाणित भएपछी सम्बन्धित कसुरवालालाई धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (७) बमोजिमको कारबाही गर्न सिफारिस गरेका छौं । अव बोर्डको संचालक समितिले सो निर्णय जस्ताको त्यस्तै गरेमा सम्बन्धित सबैलाई कारवाही हुनेछ ।’
बोर्डले कारवाहीको निर्णय गरेमा शिवम् सिमेन्टसका तत्कालीन अध्यक्ष सुरेन्द्र कुमार गोयललाई २५ हजार रुपैयाँदेखि ७५००० रुपैयाँसम्म जरिवाना हुनेछ भने १० बर्षसम्म कुनै पनि पब्लिक लिमिटेड कम्पनीको प्रबन्धक वा अध्यक्ष बन्न नपाउनेगरी कारवाही गर्न सक्ने अधिकार बोर्डसँग छ । ‘अहिलेलाई ७५००० रुपैयाँ नगद जरिवाना र १० बर्षसम्म कुनै पनि पब्लिक लिमिटेड कम्पनीको प्रबन्धक वा अध्यक्ष हुन नपाउनेगरी कारवाहीको तयारी भएको छ ।यस प्रकरणमा थप अध्ययन पनि जारी छ । भित्री कारोबार भएको भन्ने शंका राखेर थप अध्ययन पनि भईरहेको छ । यस्तो भित्री कारोबार भएको देखिएमा थप सजायका लागि सिफारिस हुनेछ ।’ बोर्ड स्रोतले अर्थ सरोकारसँग भन्यो ।
भित्री कारोबारमा समेत अनुसन्धान होला ?
यसो त गोयलले धितोपत्र बजारसम्बन्धि प्रचलि सुरेन्द्र कुमार गोयल अध्यक्ष भएको समयमा नै परिवारका सदस्यले करिब २ करोड रुपैयाँबराबरको सेयर किनबेच गरेको तथ्य प्रमाणित भएपछि यहाँ भित्री कारोबार भएको हुनसक्ने भन्दै अनुसन्धानको तयारी गरेको हो । ‘कारोबारको प्रकृति हेर्दा भित्री कारोबार नै भएको शंका गर्ने ठाउँ प्रसस्तै छ । यस्तो अनुसन्धान गर्न  धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०३ तथा बोर्डसम्बन्धी नियमावली २०६४ को नियम १७ मा भएको व्यवस्थाबमोजिम तहकिकात अधिकारी तोकी आवश्यक छानबिन गर्नुपर्ने हुन्छ ।’ बोर्ड स्रोतले भन्यो- ‘हामीले शिवम सिमेन्टमा भएको गैरकानुनी सेयर कारोबारसम्बन्धि छानविन  प्रतिवेदनमा यो विषय पनि उठाएका छौं । अव बोर्डले सोहि अनुसार निर्णय गर्छ वा गर्दैन भन्ने कुरा हेर्न बाँकी छ ।’
यता बोर्ड अध्यक्ष रमेश कुमार हमालले भने गलत काम गर्ने जो कोहि भए पनि नछाडिने बताउँदै आएका छन् । यसअघि पनि गुरु न्यौपाने, ज्ञानेन्द्र लाल प्रधान लगायतलाई कारवाही गरेर वाहवाही कमाएका हमालले जो सुकै भए पनि गलत गर्नेलाई नछाड्ने बताईरहँदा शिवम सिमेन्ट प्रकरणमा पनि दोषी उपर कारवाही हुने आशा धेरै लगानीकर्ताले राखेका छन् ।
(गोयल परिवारले गरेको गैरकानुनी कारोबारको थप विवरण आगामी अंकमा…)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: