×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपरेशन प्लस टु : कलेज ड्रेसमा १००% सम्म कमिसनको खेल !

PRIME CA
GLOBAL IME BANK

अपरेशन प्लस टु : कलेज ड्रेसमा १००% सम्म कमिसनको खेल !

२४ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । कलेजहरुले विद्यार्थी पढाउने हो, पढाएको फी लिने हो । तर पछिल्लो समय विशेषगरी प्लस टु संचालकले विद्यार्थीहरुलाई कलेज फीमा मात्र होइन, अन्य थुप्रै तरिकामा लुट्ने गरेको पाइएको छ । यतिसम्म कि विद्यार्थीहरुले लगाउने कपडामा पनि थुप्रै कलेजहरुले १००० % सम्म कमिसन लिने गरेको पाइएको छ । विद्यार्थीहरुले लगाउने शर्ट, पाइण्ट, टाई, कोट, स्वेटर लगायतका कपडामा पनि लागत शुल्कभन्दा निकै महँगो बनाएर विद्यार्थीहरुलाई लुट्ने गरेको पाइएको हो । यस विषयमा आजसम्म खासै कसैले आवाज उठाएको छैन । २ बर्षका लागि लगाउने भन्दै कलेजले विद्यार्थीलाई कलेजले भनेकै ठाउँबाट किन्न लगाउने २ जोर ड्रेसमा कलेजहरुले अचाकली लुट मच्चाउने गरेको पाइएको हो ।
५००० मा बन्ने ड्रेसमा १२ हजारसम्म असुली ! 
काठमाडौँका प्लस टु कलेजहरुले २ जोर ड्रेसको ७ हजार देखि १२ हजारसम्म लिने गरेका छन् । २ सर्ट, २ पाइण्ट, एक कोट, एक टाई र एक स्वीटर गरी कलेजहरुले १२ हजारसम्म लिने गरेको पाइएको छ । जवकि ‘बल्क’मा डिल गर्दा सो कपडा बढीमा ५००० रुपैयाँमा तयार हुने स्वयम् कपडा व्यवसायीहरु नै बताउँछन् । तर सोहि ड्रेस वापत १२००० सम्म लिने, ५००० मा बन्ने कपडामा टेलरले बढीमा १००० मात्र नाफा राख्ने र बाँकी सबै रकम कलेजले नै राख्ने गरेको समेत पाइएको छ । कतिपय टेलरहरुले त कपडाको क्वालिटी हेरेर सो ड्रेस ३५०० देखि ४००० सम्ममा समेत तयार गर्ने गरेका छन् ।
‘अहिले मै हुँ भन्ने कलेजको ड्रेस पनि ४५०० देखि ५००० सम्म त भनेको अनुसार आउँछ । तर कलेजले १२००० सम्म लिने गरेका छन् ।’ काठमाडौँ नयाँ बानेश्वरस्थित एक टेलरका कर्मचारी भन्छन्- ‘यसमा हामीले पाउने भनेको १००० रुपैयाँ मात्र हो । बाँकी कलेजले नै नाफा खाने हो ।’ उनका अनुसार सोहि कपडा अर्को ठाउँबाट किन्छु भन्दा पनि कलेजले दिंदैन । ५००० सम्ममा बन्ने कपडालाई १२००० सम्म लिएर कलेजले लुट मच्चाईरहेका छन् । ‘केहि जोर ड्रेस कलेजले भने अनुसार फ्री पनि दिनुपर्छ । कलेजका प्रिन्सिपलदेखि अन्य हर्ताकर्तालाई कमिसन पनि खुवाउनुपर्छ । के गर्ने यति नगरी काम पाइन्न ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै ती कर्मचारीले भने ।
कपडा व्यवसायीलाई दशैं, कलेजलाई महादशैँ बन्दैछ कलेज भर्नाको समय !
कलेजलाई कमिसन तिरेपछि कलेजले भनेकै ठाउँबाट कपडा किन्नुपर्ने भएपछि यतिबेला कपडा व्यवसायीहरुलाई पनि दशैं आएको छ । उनीहरु विहान देखि बेलुकीसम्म कलेजका विद्यार्थीहरुको ड्रेस नाप्ने र सिलाउने काममा व्यस्त छन् । यतिसम्मकि भिन्न-भिन्न कलेजका ड्रेस भिन्न-भिन्न शुल्कमा अर्डर हुन्छन् तर अर्डर लिने ठाउँ फरक भए पनि सिलाउने ठाउँ भने उही छ । यसरी होलसेलमा कपडा सिलाउने ठाउँमा त झन् व्यस्त छन् कालीगढहरु । तर स्वयम् कालीगढहरु नै ड्रेसका नाममा स्कुलले गरिरहेको लुटबारे सुनेपछि अचम्मित हुँदै आएका छन् । कपडा व्यवसायीहरुलाई दशैं लागिरहेका बेला कलेजलाई यहि कपडाको व्यापार महादशैं बनिरहेको छ । न आफुले काम गर्नुपर्ने, न कपडा सिलाउनुपर्ने, बस् दलाली गर्यो, पुग्यो । मोटो रकम कलेज संचालककै खल्तीमा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: