काठमाडौँ । लुम्बिनी–भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परालाई देखाइएको थियो । महोत्सवको मुख्य आकर्षण भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरुले तयार पारेको ‘स्याण्ड मण्डला’ चित्रकला प्रदर्शनी, प्रख्यात फोटोग्राफर बेनोय बहलका तस्वीरमा आधारित फोटो प्रदर्शनी, भारतीय र नेपाली परिकारसहितको स्ट्रिट फुड फेस्टिभल र साँस्कृतिक कार्यक्रम रहेको थियो ।
बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित भारत–नेपाल साँस्कृतिक महोत्सवको उद्घाटन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराती र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले संयुक्त रुपमा गरेका थिए । समारोहमा बौद्ध सम्पदास्थलका तस्वीर समेटिएको फोटो प्रदर्शनीलाई समावेश गरिएको थियो । प्राचीन कालदेखिको बौद्ध धर्मसँग सम्बन्धित स्मारक र कला सम्पदाबारे जानकारी सजाइएको फोटो प्रदर्शनीसँगै भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरुको सीप र शिल्पकारिता प्रस्तुत गरिएको थियो ।
राजदूत श्रीवास्तव, मन्त्री किराती र मुख्यमन्त्री चौधरीले स्याण्ड मण्डला चित्रकला प्रदर्शनीको पनि संयुक्त रुपमा उद्घाटन गरेका हुन् । स्याण्ड मण्डला चित्र एक परम्परागत बौद्घ कला हो जसमा रंगीन बालुवाको प्रयोग गरी जटिल डिजाइनहरु सिर्जना गरिन्छ । सोही बेलुका एक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा भारत र नेपालका कलाकारहरुले आ–आफ्ना कला प्रस्तुत गरेका थिए ।
महोत्सवमा भारतको लेहस्थित थिक्से मठका कलाकारहरुको चाम नृत्य, दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका कलाकारहरुको भरतनाट्यम, लुम्बिनीका स्थानीय कलाकारहरुको थारु नाँच र नेपालको सुकर्म ब्याण्डले प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रमको प्रस्तुतिपछि लुम्बिनी विश्व शान्ति तथा सद्भाव आगन्तुक केन्द्रमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरिएको थियो । उक्त फुड फेस्टिभलमा पकोडा, थारु शैलीको तरुवा, साबुदाना वडा, नेवारी परिकार बारा, जेरी र अन्य विभिन्न प्रकारका भारतीय र नेपाली परिकारहरु राखिएका थिए ।
यसअघि बिहानी सत्रमा यस महोत्सवकै एक हिस्साको रुपमा लुम्बिनी बौद्घ विश्वविद्यालयमा ‘सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्घ शिक्षाको प्रभाव अन्वेषण’ शीर्षकको एक शैक्षिक गोष्ठीको पनि आयोजना गरिएको थियो । बौद्ध दर्शनबारे जानकार भारत र नेपालका प्रख्यात विद्वानहरुले उक्त गोष्ठीमा भाग लिई आधुनिक संसारमा बौद्ध शिक्षाको सान्दर्भिकताका बारेमा कार्यपत्र मार्फत आ–आफ्ना विचार राखेका थिए ।
यस्तो महोत्सव अब हरेक वर्ष लुम्बिनीमा आयोजना गर्ने र साझा सम्पदा, परम्परा र संस्कृति मनाउन भारत र नेपालका मानिसहरुलाई एकै ठाउँमा ल्याउन सहयोग गर्ने भारतीय दूताबासको भनाई छ । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किरातीले महोत्सवले दुई देशबीचको बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई पनि उजागर गरेको बताएका छन् ।