काठमाडौँ । भारतीय राजदूतावास, काठमाडौंले ५९औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । प्रतिनिधिसभा सदस्य, वरिष्ठ सरकारी अधिकारी, आइटेक अलम्नाई (भूतपूर्व विद्यार्थी), भारतका शैक्षिक संस्थाका प्रमुख, पूर्व नेपाली विद्यार्थी गरी करिब ३०० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाल लगायत १६० भन्दा बढी साझेदार देशहरुलाई भारतका उच्च शैक्षिक संस्था र प्रशिक्षण केन्द्रहरुमा दुवै अल्पकालीन र दीर्घकालीन क्षमता अभिवृद्धि कार्यक्रमहरुमा संलग्न गराई आइटेक कार्यक्रमले भारतको शासन विधि तथा विकास सम्बन्धी विशेषज्ञताको विशाल एवम् समृद्ध सञ्जाललाई समेटेको छ । यो कार्यक्रम सन् १९६४ मा सुरु भएको हो । यसलाई विश्वभरका २,००,००० भन्दा बढी सरकारी अधिकारी, पेशाकर्मी र वरिष्ठ उद्योग प्रतिनिधिहरुले उपयोग गरेका छन् ।
आइटेक दिवस कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको अन्य देशसँगको साझेदारी ‘वसुधैव कुटुम्बकम’ र ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ सिद्धान्तमा आधारित रहेको बताएका छन् । नेपाल–भारत क्षमता अभिवृद्धि साझेदारीमा भएका प्रगतिलाई चिनाउन ५९औँ आइटेक दिवस मनाइएको भारतीय राजदूतावासले जनाएको छ । सन् २०२३–२०२४ मा नेपालको सन्दर्भमा अहिलेसम्मकै उच्च ४ सय ४० भन्दा बढी आइटेक सिट प्रयोग भएको जानकारी दिँदै राजदूत श्रीवास्तवले नेपालका सरोकारवालाहरुको रुचिलाई ध्यानमा राख्दै आइटेक अन्तर्गत प्रशासक, रेलवे अधिकारी, कृषिविद्, संसदीय अधिकारीका लागि अझ बढी कस्टमाइज्ड कोर्षहरु ल्याइने बताएका छन् ।
कार्यक्रममा वरिष्ठ आइटेक अलम्नाइ–राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक न्यायाधीश वैद्यनाथ उपाध्याय, नेपालका माननीय महान्यायाधिवक्ता डा.दिनमणी पोखरेल, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका पूर्वसचिव दिनेश घिमिरे, संघीय संसद सचिवालयका सचिव रोजनाथ पाण्डे, सैनिक तालिम महानिर्देशनालयका उपरथी सन्तोष कुमार ढकालले प्यानल छलफलमा सहभागी भई आ–आफ्नो आइटेक अनुभवबारे बताएका थिए । कार्यक्रममा प्रख्यात कलाकार काकाली बोसको नेतृत्वमा भारतबाट आएको नृत्य मंडलीले मनमोहक ओडिसी नृत्य प्रस्तुत गरेको थियो ।
एम्सका पूर्व विद्यार्थी एवम् माननीय सांसद डा.शेखर कोइरालाले पनि विकास र शिक्षाको क्षेत्रमा भारत–नेपालबीचको सहकार्यलाई अघि बढाउने विषयमा आफ्नो अनुभव र विचार सुनाएका थिए ।
सन् २०२३–२०२४ मा नेपालका ४ सय ४४ पेशाकर्मीलाई भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुमा विभिन्न कोर्षमा तालिम दिइएको थियो । जलस्रोत व्यवस्थापन, जलविज्ञान, सिंचाइ जल व्यवस्थापन आदि विविध विषयमा दुई वर्षे एम.टेक अध्ययन गर्न नेपाल सरकारका ३० जना इन्जिनियर भारतीय प्रौद्योगिकी संस्थान रुड्कीमा भर्ना भएका छन् । आइटेक अन्तर्गत नेपालका युवा थिङ्क ट्याङ्क÷अनुसन्धानकर्ताले दिल्लीको सेन्ट स्टीफन्स कलेजमा नेबरहुड–फस्र्ट फेलोशिप कार्यक्रममा भाग लिएका थिए । ५० जना डाक्टर, ३० जना सरकारी वकिल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका २५ जना, राष्ट्रिय न्यायिक प्रतिष्ठान, नेपालका १५ जना सदस्य, नेपाल पुलिसका १८० जना, सशस्त्र प्रहरी बलका २५ जनाका लागि सन् २०२३–२०२४ मा भारतका ६ वटा प्रतिष्ठित संस्थानमा २१ वटा कस्टमाइज्ड कोर्षको व्यवस्था गरिएको भारतीय राजदूतावासले जनाएको छ ।
घनिष्ठ एवम् नजिकको छिमेकी भएको नाताले भारत सरकारको आइटेक पहलमा नेपाल एक सक्रिय साझेदारको रुपमा रहेको भारतीय राजदूतावासले उल्लेख गरेको छ । गएको पन्ध्र वर्षमा मात्रै नेपालका २००० भन्दा बढी अधिकारीलाई आइटेक अन्तर्गत तालिम दिइएको छ । भारतको प्रयासको एक हिस्साको रुपमा रहेका यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले नेपालको मानव संसाधन विकासमा सहयोग मात्र नपुर्याई यस्ता अनुभवबाट पाठ सिक्दै यस क्षेत्रको समग्र सामाजिक–आर्थिक विकासमा योगदान पुर्याएको दूतावासले जनाएको छ ।