काठमाडौं । अरुको नागरिकता दुरुपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका-१४ घर भएका २३ वर्षीय सिद्धार्थ चौधरी, बाराको महागढीमाई नगरपालिका-५ घर भएकी २५ वर्षीया सोनम कुमारी चौधरी र वीरगन्ज महानगरपालिका-१५ घर भएका २६ वर्षीय राहुल रै दास रहेका छन् ।
उनीहरुले सामाजिक संजालमा ‘वैदेशिक रोजगारीको अवसर’ भन्ने सूचना राखेर विदेश पठाउने नाममा रकम हाल्न लगाउने र सम्पर्कविहीन हुने गरेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा जान इच्छुकहरुकै कागजात दुरुपयोग गरेर बैंक खाता खोल्ने र रकम डिपोजिट गर्न लगाउने गरेको भेटिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका अनुसार उनीहरुले अहिलेसम्म अर्काको नागरिकता दुरुपयोग गरेर खोलेको बैंक खाता मार्फत ८२ लाखभन्दा बढी कारोबार गरेको भेटिएको छ ।
त्यस्तै, प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीको ३ तिन मोबाइल, ल्यापटप १ थान, सिद्धार्थ चौधरीको नागरिता प्रमाण पत्र र विभिन्न कागजात बरामद गरेको छ ।
हाल उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको छ ।