काठमाडौँ । ललितपुरस्थित जेष्ठ वर्ण महाविहारको नयाँ भवनको उद्घाटन गरिएको छ । भूकम्पपछि भारतको पुनर्निर्माण अनुदा सहयोगमा निर्माण गरिएको उक्त भवनको उद्घाटन गरिएको हो ।
एक कार्यक्रमकाबीच शहरी विकास मन्त्री धन बहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले चैत ९ गते संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन कार्यक्रममा ललितपुर विकास समाजका अध्यक्ष बुद्घिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाताका प्रतिनिधि तथा नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।
भारतीय दूतावासका अनुसार नेपालको साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको जेष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब १३ करोड ७८ लाख रुपैयाँ अनुदान सहयोगमा पुनर्निर्माण भएको हो । नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले यो परियोजनाको कार्यान्वयन गरेको हो ।
भवन उद्घाटन गर्दै मन्त्री बुढाले भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणमा गरेको सहयोग र नेपालको आर्थिक विकासमा चालेको प्रयासका लागि भारत सरकारको प्रशंसा गरेका थिए । त्यस्तै, राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गरेका थिए ।
नेपाल र भारतको ऐतिहासिक साँस्कृतिक समानता र सम्पदा भावी पुस्ताका लागि संरक्षण गर्न आवश्यक रहेको भारतीय राजदूतावासले जनाएको छ । त्यसैले पनि यस्ता सम्पदा क्षेत्रहरुको पुनस्र्थापना गर्ने साझा प्रयासले दुई देशबीचको मैत्री सम्बन्धलाई मजबुत बनाउनुका साथै यसले साझा साँस्कृतिलाई पनि प्रतिबिम्बित गर्ने दूतावासले भनेको छ ।
त्यस्तै, भारत सरकारले नेपालका ७ वटा जिल्लामा रहेका २८ वटा साँस्कृतिक सम्पदा स्थलको संरक्षण गर्ने प्रतिबद्घता जनाएको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत भारत सरकारले नेपालको गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी आवास, आठवटा जिल्लामा ७१ वटा शैक्षिक संस्था तथा दशवटा जिल्लामा १३२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सहयोग गरेको छ । यो परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारले गरेको प्रयासमा टेवा पुर्याएको भारतीय राजदूतावासले जनाएको छ ।