×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतद्वारा नेपाललाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस सहयोग

अर्थ सरोकार

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार

PRIME CA

भारतद्वारा नेपाललाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस सहयोग

काठमाडौँ । भारत सरकारले नेपाललाई ३५ वटा एम्बुलेन्स र स्कुल बस सहयोग गरेको छ । भारतीय राजदूतावास, काठमाडौँले विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको हो ।

एक कार्यक्रमकाबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री वर्षमान पुनलाई एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेका हुन् ।

एम्बुलेन्स र स्कुल बस हस्तान्तरण कार्यक्रममा विभिन्न स्थानीय तहका नगर प्रमुख तथा उपप्रमुख एवम् गाउँपालिका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।

उपहारस्वरुप भारत सरकारले हस्तान्तरण गरेका १०१ सवारी साधनमध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेको भारती राजदूतावासले जनाएको छ । दूतावासका अनुसार नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।

एम्बुलेन्स र स्कुल बस हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तावले उक्त एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले चालेका प्रयासलाई थप बलियो बनाउन नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले लामो समयदेखि लिँदै आएको पहलमध्येको एक रहेको बताएका छन् । उनले भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रुपमा रहेको जानकारी दिएका छन् । साथै, भौगोलिक रुपमा नेपालभर फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको पनि श्रीवास्तावले बताएका छन् ।

त्यस्तै, कार्यक्रममा बोल्दै अर्थमन्त्री वर्षमान पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास सम्बन्धीका परियोजनाको सराहना गर्दै यसले दुई देशबीचको जनता-जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने बताएका छन् । साथै उनले यस्ता महत्वपूर्ण कार्यक्रम नेपाली जनताका लागि निकैै फाइदाजनक हुने पनि बताएका छन् ।

सन् १९९४ यता भारत सरकारले हालसम्म नेपालभर १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको भारतीय राजदूतावासले जनाएको छ । यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्याउन र यस्ता सेवामा सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रुपमा रहेको दूतावासको भनाई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: