×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतद्वारा नेपालको दाङ जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारतद्वारा नेपालको दाङ जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

Artha Sarokar

१४ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं।  ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. १.७६ करोड आर्थिक सहयोगमा निर्माण गरिएको दाङको लमही नगरपालिकास्थित श्री बाल जनता माध्यमिक विद्यालयको विद्यालय भवनको आज लुम्बिनी प्रदेशका माननीय सामाजिक विकास मन्त्री रत्न बहादुर खत्री, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका मेयर जोगराज चौधरी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्धघाटन गरेका छन् ।

त्यस्तै, ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. २.८७ करोड आर्थिक सहयोगमा निर्माण गरिएको दाङको घोराही उप-महानगरपालिकास्थित श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय भवनको पनि आजै जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्धघाटन गरेका छन् ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग लमही नगरपालिकास्थित श्री बाल जनता माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै प्रयोगशाला, प्रयोगशाला उपकरण, फर्निचर र दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । त्यसैगरी भारत सरकारको आर्थिक सहयोग दाङको घोराही उप–महानगरपालिकास्थित श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, दाङमार्फत यी परियोजनाको कार्यान्वयन गरिएको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका माननीय मन्त्री, जिल्ला समन्वय समितिका प्रमुख, दाङका उप–महानगरपालिकाका मेयर र लमही नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए ।

दाङस्थित श्री बाल जनता माध्यमिक विद्यालय र श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्याउनेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा ६१ वटा परियोजना रहेका छन् जसमा ६ वटा परियोजना दाङमा छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये लुम्बिनी प्रदेशलाई १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा १९ वटा एम्बुलेन्स र ५वटा स्कुल बस दाङ जिल्लालाई उपलब्ध गराइएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यी परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी