Skip to content
LAXMI SUNRISE BANK

‘फेक’ नाफा देखाएर आईपीओ जारी गर्न खोज्ने चिनियाँ कम्पनीलाई ५ वर्ष प्रतिबन्ध, कर्मचारी अयोग्य ठहर

अर्थ सरोकार

काठमाडौँ । ‘फेक’ नाफा देखाएर आईपीओ जारी गर्न खोज्ने चिनियाँ कम्पनी कारबाहीमा परेको छ । वास्तविक नाफा भन्दा ११८.५ प्रतिशत अर्थात १७ लाख डलर बढी नाफा देखाएर आईपीओ जारी गर्न खोज्ने चीनको स्थानीय चिप निर्माता कम्पनी ‘एस टू सी’ कम्पनी कारवाहीमा परेको हो ।

वित्तीय विवरणमा छेडखानी गरेको पाइएपछि ‘एस टू सी’लाई कारबाही गरिएको चीनको संघाई स्टक एक्सचेञ्जले जनाएको छ । 

संघाई स्टक एक्सचेञ्जका अनुसार ‘एस टू सी’लाई कारवाहीस्वरुप १ करोड ६५ लाख युआन जरिवाना र पाँच वर्षसम्म आईपीओ जारी गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । चीनले आईपीओमा कडाई गर्दै ‘दर्ता-आधारित आईपीओ’ प्रणाली लागू गरेपछि पहिलोपटक ‘एस टू सी’लाई कारवाही गरेको हो ।

त्यस्तै, कारवाहीमा परेको ‘एस टू सी’ले वित्तीय विवरणमा छेडखानी गरेको, वास्तविक भन्दा कम लागत देखाएर ‘फेक’ नाफा देखाएको र आफ्नो आम्दानी अग्रिममा देखाएको संघाई स्टक एक्सचेञ्जले जनाएको छ । जानीजानी नियम उल्लंघन गरेको निष्कर्ष निकाल्दै स्टक एक्सचेञ्जले कम्पनीका कर्मचारीलाईसमेत ३ वर्षसम्म यस्तै भूमिकामा काम गर्न अयोग्य ठहर गरेको छ । 

आईपीओ जारी गर्न स्वीकृति मागका लागि कम्पनीले दिएको आवेदनपछि चीनको सेयर बजार नियामक चाइना सेक्युरिटिज रेगुलेटरी कमिसनले कम्पनीको वित्तीय विवरण ‘फेक’ भएको निष्कर्ष निकाल्दै सन् २०२२ मै कम्पनीको आवेदन फिर्तासमेत गरेको थियो । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK