काठमाडौँ । ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल २ करोड ६३ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीको रामधुनी नगरपालिकास्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको विद्यालय भवन उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका मेयर शंकर लाल चौधरी र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरेका हुन् ।
त्यस्तै, ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल ३.०५ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीकै इनरुवा नगरपालिकास्थित भगवती माध्यमिक विद्यालयको विद्यालय भवनको पनि उद्घाटन गरिएको छ । उक्त भवनको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी र सुमन शेखरले गरेका हुन् । भारतीय राजदूतावासका अनुसार भवन उद्घाटन कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा रामधुनी नगरपालिकास्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । त्यस्तै, भारत सरकारको अनुदान सहयोग इनरुवा नगरपालिकास्थित भगवती माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । नेपाल र भारत सरकारबीच भएको सम्झौता अन्तर्गत निर्माण गरिएका यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, सुनसरीमार्फत यी परियोजनाको कार्यान्वयन गरिएको थियो ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख, रामधुनी नगरपालिकाका मेयर, इनरुवा नगरपालिकाका मेयर र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए । सुनसरीस्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालय र भगवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न नवनिर्मित विद्यालय भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेमा स्थानीय तहका जनप्रतिनिधि र विद्यालयका शिक्षकहरुले पनि विश्वास गरेका छन् ।
भारतीय राजदूतावासका अनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५ सय ५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४ सय ९० वटा परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन्, जसमा १२ वटा परियोजना सुनसरीमा छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको, जसमध्ये कोशी प्रदेशलाई १ सय ४६ वटा एम्बुलेन्स र ४८ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको र यसमा २४ वटा एम्बुलेन्स र ११ वटा स्कुल बस सुनसरी जिल्लालाई उपलब्ध गराइएको भारतीय राजदूतावासले जनाएको छ ।
नजिकको छिमेकी भएको नाताले नेपाल र भारतबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको भारतीय राजदूतावासले जनाएको छ ।