×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाउरा तथा काठको धुलोमा भ्याट लिने निर्णयको चर्को विरोध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दाउरा तथा काठको धुलोमा भ्याट लिने निर्णयको चर्को विरोध

Artha Sarokar

२५ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले बजेटमार्फत दाउरा तथा काठको धुलो लगायतमा कर लगाउने व्यवस्था गरेपछि यसको चर्को आलोचना भएको छ । जनताको भान्छामा प्रत्यक्ष ठूलो असर पर्ने गरी सरकारले कर उठाउन खोज्नु निकै निन्दनीय भएको भन्दै जानकारहरूले चर्को आलोचना गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयक २०८१ मा आधारभूत आवश्यकताका वस्तुहरू जस्तै बाल्ने दाउरा, हाँगाबिँगा, दाउराको बिटो, काठको चोइटा, काठको धुलो, रद्दी वस्तु, काठको गुटी जस्तो पेलेट, मुढो लगायतमा भ्याट लगाउने व्यवस्था गरेको छ । नेपालमा आज पनि ६० देखि ७० प्रतिशत जनताले दाउरा र हाँगाबिगा, तथा मधेशमा ढोड वा गुइँठाको प्रयोग गरी घरायसी इन्धनको व्यवस्था गर्छन् । यसैले मूल्य अभिवृद्धि र ऐनले यस्ता वस्तुलाई आधारभूत आवश्यकताका वस्तुमा वर्गीकरण गरेको छ ।

त्यस्तै, आम नागरिकलाई नभई नहुने वस्तु भएकाले नै यसमा विगत ३० वर्ष देखि कुनै किसिमको भ्याट जस्ता कर नलागी कर छुटको व्यवस्था गरिएको थियो । जसबाट मुलुकभरका नागरिकको चुलो बलेको थियो । तर, नयाँ आर्थिक विधेयकमा यस्ता वस्तुमा भ्याट लगाउने निर्णय भएपछि सरकारले नागरिकलाई नहेरेको गुनासो तथा आलोचना भइरहेको छ । सरकारले यस्ता वस्तुमा भ्याट लगाउँदा अब घर वा घरको चुलोदेखि आर्यघाटसम्मको मूल्य वृद्धि हुने भएको जानकारहरू बताउँछन् । यसले आम मान्छे बढि प्रभावित हुनेछन् । काठमाडौंमा बसेर करको दायरा फराकिलो पार्ने नाममा गरिब र विपन्न वर्गलाई प्रत्यक्ष असर पर्ने गरी विधेयक ल्याउनु सरकारको अत्यन्त निन्दनीय काम भएको विज्ञहरूले बताएका छन् ।

नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका महासचिव माधवमणि हुमागाईंले यस्ता विषयमा भ्याट लगाउनु सरकरको नालायकीपन भएको बताए । यो व्यवस्थाले गर्दा मुलुकको ग्रामीण अर्थ व्यवस्था ध्वस्त हुने  उनको भनाइ छ । यतिमात्र नभई साना र मझौला उद्योगहरू चल्न सक्ने अवस्थामा नरहने समेत उनले बताए । साथै दैनिक उपभोग वस्तु महँगो हुँदा सर्वसाधारण मर्कामा पर्ने उनको भनाइ छ । उनले भने,‘अब राजमार्ग छेउमा पाउने एक कप चियामा पनि मूल्य वृद्धि हुने छ ।’ उनले महासङ्घको तर्फबाट यो व्यवस्था खारेज गर्न अर्थमन्त्रीलाई भेट्ने लगायतका कार्यक्रम गरिने जानकारी दिएका छन् ।

यस्तै, आम जनतालाई प्रत्यक्ष असर पर्ने, ग्रामीण अर्थतन्त्रको आधारभूत उत्पादनमा भ्याट लगाउँदा विद्युत उत्पादनमा भने सरकारले भ्याट लगाएको छैन । यसबाट सरकारले सर्वसाधारण नागरिकका हितमा काम नगरेर अरु कसैको हितमा काम गरिरहेको प्रस्ट हुने जानकारहरू बताउँछन् । यस व्यवस्थाले सीमित वर्गले मात्रै लाभ लिन सक्ने जानकारहरूको भनाइ छ । यसभन्दा पहिले आलु प्याजमा भ्याट लगाएर बदनाम भई निर्णय फिर्ता गरेको सरकार पुनः यस किसिमको काम गर्दै आलोचनाको शिकार भएको छ । मानव जातीलाई बाँच्नका लागि आवश्यक पर्ने पानी, हावा, आगो जस्ता वस्तुमा कर लगाउने व्यवस्थाले अर्थमन्त्रालयका नेतृत्वमाथि नै प्रश्न उठेको एक विज्ञले बताए । संसारभर मानवतालाई जीवित राख्ने आधारभूत वस्तुमा कर नलाग्ने गरेकोमा नेपालमा भने सरकारले बेलाबखत यस्ता गलत निर्णय गर्दै आएको छ ।

दाउरा जस्ता ग्रामीण उर्जाको आधारभूत आवश्यकता भनी मूल्य अभिवृद्धि ऐन २०५२ ले पहिचान गरेको वस्तुलाई अहिलेको गठबन्धन सरकारले खुसुक्क भ्याटको दायरामा ल्याउनु निन्दनीय रहेको विज्ञहरू बताउँछन् । यो प्रावधान आर्थिक विधेयक २०८१ बाट तत्काल हट्नु पर्नेमा विज्ञहरूले जोड दिएका छन् ।  यता नवीकरणीय ऊर्जाका प्रवर्द्धक कुबेरमणि नेपालले ब्रिकेटमा पनि भ्याट लगाउनु निन्दनीय भएको बताएका छन् । उनले भर्खरै उदाउँदै गरेको नेपाली कच्चा पदार्थ प्रयोग गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गरी उत्पादन गरिएका ब्रिकेट तथा बायोमास पेलेटमा  लगायतमा भ्याट लगाउनु सरकारको कुदृष्टि भएको बताए । यसले आयातित कोइला, जिवास्मा इन्धन लगायतका इन्धनलाई प्रतिस्थापन गर्ने वस्तुमा पनि कर लगाउनु निन्दनीय भएको उनको भनाइ छ ।

उनले भने, ‘खेर गएको वन पैदावारका झाडी, काठका धुलो प्रयोग गरेर बन्ने चिजलाई कर लगाएर सरकारले उदाउँदै गरेका उद्योगलाई प्रोत्साहन गर्नुका साटो निरुत्साहित गरेको प्रष्टै देखिन्छ ।’ यसबारे प्रतिनिधि सभा बैठकमा समेत सांसदहरूले प्रश्न उठाएका छन् । यसरी सरकारले जनपक्ष काम गर्नबाट बञ्चित हुँदा आम नागरिकले सास्ती बेहोर्नुपर्ने उनीहरूको चिन्ता छ । उनीहरूले सरकारको यस किसिमको निर्णय र व्यवस्था तत्काल फिर्ता लिनुपर्नेमा जोड दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी