×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा १०औं अन्तराष्ट्रिय योग दिवस मनाइयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपालमा १०औं अन्तराष्ट्रिय योग दिवस मनाइयो

७ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं। नेपालमा १०औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। भारत सरकारले अघि सारेको र १७५ सदस्य राष्ट्रले समर्थन गरेको प्रस्तावको आधारमा सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा तोकेको थियो । 

अन्तर्राष्ट्रिय योग दिवसको १०औं संस्करण मनाउन काठमाडौँस्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासले काठमाडौं, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगन्ज, हेटौंडा, गौर र पोखरियास्थित नेपालका १० वटा शहर र नगरपालिकामा शृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

यस वर्ष ‘स्वयम् र समाजका लागि योग’ भन्ने विषय (थिम) अनुरूप भारतीय राजदूतावासले मुख्य कार्यक्रम अगावै मिति २०८१ जेठ २५ गते काठमाडौंमा पशुपतिनाथ मन्दिरमा योग प्रदर्शन र अर्को माइती नेपालका चेलीहरूको लागि व्याख्यासहितको प्रदर्शन गरी दुईवटा कार्यक्रमको आयोजना गरेको थियो ।

मानव चेतना र प्रकृतिबीच योगको भूमिका एक सेतुको रुपमा रहेको भन्ने कुरालाई जोड दिँदै काठमाडौँस्थित भारतीय राजदूतावासले मिति २०८१ असार ५ गते पोखराको फेवा तालको किनारामा ४५० भन्दा बढी सहभागीहरूका लागि योग तथा ध्यान अभ्यासको आयोजना गरेको थियो । सोही दिन योग र आयुर्वेदले स्वास्थ्यमा पुऱ्याउने फाइदाहरू उपर केन्द्रित हुँदै आयुर्वेद अभ्यासकर्तासँग मिलेर पोखरा विश्वविद्यालयका विद्यार्थीहरूका लागि दूतावासले योग प्रदर्शन तथा निःशुल्क स्वास्थ्य परामर्शको पनि आयोजना गरेको थियो। कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति तथा वरिष्ठ प्राध्यापकहरूको समेत सहभागिता रहेको थियो ।

त्यस्तै, नेपालस्थित भारतीय राजदूतावासले मिति २०८१ असार ६ गते पोखराका तीन प्रख्यात स्थलमा योग प्रदर्शनको आयोजना गरेको थियो । ती स्थानहरू क्रमशः सराङकोट भ्यु पोइन्ट जहाँबाट अन्नपूर्ण हिम शृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ, पुम्दीकोटस्थित शिव मन्दिर जहाँ आध्यात्मिक वातावरण र भव्य दृश्य एकैसाथ महसुस र देख्न पाइन्छ र रमणीय अन्तु डाँडामा अवस्थित शान्ति स्तुप रहेका थिए । 

योगका शारीरिक, मानसिक र आध्यात्मिक फाइदाबारे प्रकाश पार्दै अनुभवी योग प्रशिक्षकले सहभागीहरूलाई विभिन्न आसन, प्राणायाम र ध्यान विधिबारे जानकारी दिएका थिए ।

त्यसैगरी, भारतीय राजदूतावासले लुम्बिनी विकास कोष, लुम्बिनीमा मिति २०८१ असार ६ गते ९०० भन्दा बढी सहभागीहरूका लागि एक बृहत् योग प्रदर्शनको पनि आयोजना गर्यो । कार्यक्रममा लुम्बिनीका माननीय मुख्यमन्त्री जोख बहादुर महरा लगायत अन्य प्रदेशीय नेताहरूको उपस्थिति रहेको थियो । 

लुम्बिनीका मुख्यमन्त्रीले भगवान बुद्धको जन्मस्थलमा महत्वपूर्ण योग कार्यक्रम आयोजना गरेकोमा र भारतनेपाल सांस्कृतिक सम्बन्धलाई बलियो बनाएकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिए । 

राजदूत नवीन श्रीवास्तवले योगको विश्वव्यापी अपिल र स्वस्थ, चिन्तनशील र दिगो जीवनशैली कायम गर्नमा यसको महत्वमाथि जोड दिए ।

पोखरा महानगरपालिकासँग सहकार्य गर्दै मिति २०८१ असार ७ गते पोखरा रङ्गशालामा आयोजना गरेको एकदमै ठूलो योग प्रदर्शन कार्यक्रम भारतीय राजदूतावासले सन् २०२४ मा नेपालमा मनाएको अन्तर्राष्ट्रिय योग दिवस उत्सवको केन्द्रबिन्दुमा रहेको थियो । 

कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र त्यस क्षेत्रका ५००० भन्दा बढी योगमा अभिरुचि राख्नेहरूले सहभागिता जनाएका थिए । 

गण्डकी प्रदेशका मुख्यमन्त्रीले यस वर्षको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योग दिवस पोखरामा आयोजना गरेकोमा भारतीय राजदूतावासलाई धन्यवाद व्यक्त गरे । उनले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई नेपाल सरकारले समर्थन गरेको बताए । उनले योग भारत र नेपालबीचको प्रगाढ र दिगो सांस्कृतिक सम्बन्धको एउटा महत्वपूर्ण तत्व भएको कुरामा जोड दिए । 

राजदूत नवीन श्रीवास्तवले योगले नेपाल र भारतबीच बलियो सांस्कृतिक सेतुको रुपमा काम गर्ने र नेपालका महत्वपूर्ण पर्यटकीय स्थलहरूमा योग कार्यक्रमको आयोजना गर्नाले ती ठाउँमा योग पर्यटन प्रवर्द्धन गर्न सकिने बताए । पोखरा महानगरपालिकाका मेयरले पोखरालाई नेपालकै पर्यटकीय राजधानीका रुपमा स्थापित गर्नका लागि पोखरामा यस्ता ठूला कार्यक्रम आयोजना गरी पहल लिन सहयोग गरेकोमा दूतावासलाई धन्यवाद व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय योग दिवस मनाउन हरेक वर्ष दूतावाससँग सहकार्य गर्न पोखरा तत्पर रहेको बताए ।

त्यसैगरी, भारतको महावाणिज्य दूतावासले पनि जनकपुर, चितवन, वीरगन्ज, हेटौंडा, गौर र पोखरियामा अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रमको आयोजना गरेको छ । 

अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करणलाई समापन गर्न भारतीय राजदूतावासले मध्यनेपाल नगरपालिकासँगको सहकार्यमा मिति २०८१ असार ८ गते सुन्दर लमजुङ जिल्लामा योग प्रदर्शन कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

योग र समग्र स्वास्थ्य अभ्यासमा साझा रुचिको आधारमा भारतीय राजदूतावास नेपालसँग जनताजनतासांस्कृतिक आदान प्रदानलाई प्रोत्साहित गर्न प्रतिबद्ध छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी