काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएका ४ जना सौर्यकै व्यवस्थापक रहेको खुलेको छ । बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा परेका पाँच जना सौर्य एयरलाइन्सकै व्यवस्थापक रहेको खुलेको हो ।
दुर्घटनामा ज्यान गुमाएका सागर कुमार आचार्य सौर्य एयरलाइन्सका सुरक्षा प्रमुख हुन् । त्यस्तै, अश्विन कुमार निरौला कन्टिन्युङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन म्यानेजर हुन् भने यज्ञप्रसाद पौडेल जहाज मर्मत प्रमुख हुन् । त्यस्तै, दुर्घटनामा परेका दिलिप बर्मा सौर्य एयरलाइन्सकै क्वालिटी एस्विरेन्स प्रमुख हुन् ।
सौर्यको विमान दुर्घटनामा परेका अपरेसन डाइरेक्टर क्याप्टेन मनिष शाक्यलाई भने जीवितै उद्धार गरिएको छ । हाल उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा ज्यान गुमाएका सबैजना सौर्य एयरलाइन्सका कर्मचारी, इन्जिनियर र प्राविधक रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज थप मर्मतका लागि पोखरा लगिँदै थियो ।